बन्दाबन्दीबीच नमूना जनगणना सकियो, खासै अवरोध भएन

शान्ति लामा / काठमाडौँ, असार २१ गते । आगामी १२ औँ राष्ट्रिय जनगणनाको तयारीका लागि गरिएको नमूना (पाइलट) जनगणनामा १० हजार घरपरिवारको विवरण सङ्कलन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । नमूना जनगणनाको गणना क्षेत्र नक्साङ्कनका अनुसार ११ हजार ६१० घरपरिवारको सर्वेक्षण गर्ने लक्ष्य राखिएको थियो ।

कोरोना कहर र लकडाउनबीच तीन महिना ढिलो गरी भएको भएको नमूना जनगणनामा ५० प्रतिशत जति सर्वेक्षण गर्न सकिने अनुमान गरिएकोमा तोकिएका ११ हजार ६१० मध्ये दश हजार घर परिवारमा सफल सर्वेक्षण गरिएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयाे ।

जनगणना कार्यतालिका तथा सामग्री सुधार गर्न गरिएको पाइलट जनगणनाको गणनाकार्य गएको सोमबार सकिएको विभागका निर्देशक लामिछानेले बताउनुभयो । ‘मेरो गणना, मेरो सहभागिता’ मूल नारासहित हुने बाह्रौँ राष्ट्रिय जनगणना २०७८ को परीक्षण सर्वेक्षणको रुपमा पाइलट जनगणना गरिएको हो ।

महामारी नियन्त्रणका लागि गरिएको लकडाउन सरकारले खुकुलो गर्ने बित्तिकै असार १ गतेदेखि पाइलट जनगणना सुरु गरिएको थियो । ‘लकडाउन नभएको भए चैत ९ गतेदेखि नै सुरु हुनुपर्ने थियो । त्यसअघि नै गणक तथा सुपरीवेक्षक नियुक्त गरी तालिमसमेत दिइसकिएको हुनाले अहिले तुरुन्तै गणना सुरु गरी सहजै सम्पन्न गरेका छौँ ।’ निर्देशक लामिछानेले भन्नुभयो ।

अवस्था सामान्य नभइसकेको भए पनि एकाध घरबाहेक सबैमा सहजै गणना कार्य भएको उहाँले बताउनुभयो । एकाध घरहरूमा किन आएको ? भनी प्रश्न गरिएको भए पनि सबै ठाउँमा गणना प्रश्नावली अनुसार विवरण सङ्कलनमा कुनै समस्या नआएको उहाँको भनाइ छ । गणकहरूलाई सामाजिक दूरीका नियम पालना गराई मास्क, स्यानिटाइजर लगायत स्वास्थ्य सुरक्षा सामग्रीसहित गणना क्षेत्रमा पठाइएको थियो ।

लकडाउनका बेला सहरी क्षेत्रमा भाडामा बसेका मानिसहरू आआफ्ना घर गएका कारण भाडामा बस्नेको विवरण भने सङ्कलन गर्न असमर्थ भएको उहाँले बताउनुभयो ।

नमूना जनगणनामार्फत गणना सामग्री, गणना क्षेत्र नक्साको शुद्धता, प्रश्नावली र निर्देशिका, जनशक्तिको पर्याप्तता, प्रविधि, जनगणना उपकरण र जनगणना प्रक्रियाको समीक्षा गरिनेछ ।

निर्देशक लामिछानेका अनुसार केही दिनमा नै पाइलट जनगणनाको नतिजा प्रतिवेदन तयार गरिनेछ । त्यस प्रतिवेदनको आधारमा सर्वेक्षणको टेबुलेसन योजना, विषयगत प्रतिवेदनको ढाँचाको तयारी, सरदर एक गणकले दैनिक गर्ने गणनाको अनुमान लगायत जनगणनाको मुख्य कार्यतालिकामा गर्नुपर्ने हेरफेरका विषयमा विचार गरिनेछ ।

नमूना जनगणनाका लागि १५ जना सुपरीवेक्षक, ६० जना गणक र ४७ जना प्रशासनिक कर्मचारी गरी जम्मा १२२ जना जनशक्ति संलग्न रहेको निर्देशक लामिछानेले बताउनुभयो । सुपरीवेक्षक र गणकहरू करारमा नियुक्त गरिएका हुन् ।

सबै प्रदेश, हिमाल, पहाड, तराईको जनसङ्ख्याको समानुपातिक प्रतिनिधित्व हुने गरी नमुना जनगणना सञ्चालन गरिएको छ । प्रत्येक प्रदेशका दुई जिल्लाका दरले १४ जिल्लाका ५५ वडामा नमूना जनगणना सञ्चालन भएको निर्देशक लामिछानेले बताउनुभयो ।

प्रदेश १ को पाँचथर र मोरङ, प्रदेश २ को धनुषा र पर्सा, प्रदेश ३ को मकवानपुर र काठमाडौँ, गण्डकी प्रदेशको बाग्लुङ र कास्की, प्रदेश ५ को रुपन्देही र प्युठान, कर्णाली प्रदेशको सुर्खेत र जुम्ला, सुदूरपश्चिम प्रदेशको कैलाली र दार्चुला जिल्ला नमूना जनगणनाका लागि छनौट गरिएको थियो । गणना गरिएकाे वडाहरू भने केही सुगम र केही दुर्गम गरी छनौट गरिएको निर्देशक लामिछानेले जानकारी दिनुभयो ।

ट्याबको प्रयोग

आगामी राष्ट्रिय जनगणनामा कागज–कलम र ट्याबलेट गरी मिश्रित खालको गणना विधि प्रयोग गर्ने केन्द्रीय तथ्याङ्क विभागको योजना छ । त्यसको परीक्षणस्वरुप नमूना जनगणनामा पनि केही क्षेत्रमा ट्याबलेटमार्फत विवरण सङ्कलन गरिएको छ ।

निर्देशक लामिछानेका अनुसार ६० जना गणकमध्ये १५ जनाले ट्याबलेटको प्रयोग गरेका थिए । महानगर र उपमहानगरहरूका छानिएका वडाहरूमा ट्याबलेटमार्फत सर्वेक्षण गरिएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter