कृषि ऋणमा दुई प्रतिशत ब्याज छुट !

भरतपुर, असार २२ गते । भरतपुर महानगरपालिकाले २५ लाख रुपियाँसम्मको कृषि ऋणमा २ प्रतिशत ब्याज सहयोग गर्ने भएको छ । ‘भरतपुर कृषकमैत्री ऋण’ कार्यक्रम लागू गर्दै महानगरले कोभिड–१९ बाट प्रभावित किसानको उत्थानका लागि यो कार्यक्रम लागू गरेको हो । महानगर कृषि महाशाखाका प्रशासकीय अधिकृत विनोद लामिछानेले किसानका लागि लक्षित गरी महानगरले ‘भरतपुर कृषकमैत्री ऋण’ कार्यक्रम लागू गरेको जानकारी दिनुभयो ।

आगामी वर्षको महानगरको नीति तथा कार्यक्रम र बजेटमा समावेश भएको कार्यक्रम हो, ‘भरतपुर कृषकमैत्री ऋण कार्यक्रम’, उहाँले भन्नुभयो, “किसानलाई लक्षित गरेर ल्याइएको यो कार्यक्रमले निम्न वर्गका कृषकको उत्थानमा सहयोग पुग्ने विश्वास लिइएको छ । ”

यो कार्यक्रम नयाँ आर्थिक वर्ष साउनबाट लागू हुनेछ । भरतपुर महानगरभित्रका किसानले आफूले लिएका कुनै पनि बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋणमा महानगरले २ प्रतिशत ब्याज बराबरको रकम उपलब्ध गराउने छ ।

“महानगरको योजना प्रत्यक्ष बैङ्क तथा वित्तीय संस्थालाई नै सहयोग गर्ने हो । यो २५ लाख रुपियाँभन्दा कम ऋण लिने किसानका हकमा मात्रै लागू हुनेछ,” अधिकृत लामिछानेले भन्नुभयो ।

महानगरले लागू गरेको यो कार्यक्रमले २५ लाख रुपियाँ ऋण लिने किसानले ५० हजार रुपियाँ महानगरका तर्फबाट सहयोग पाउनेछ । महानगर प्रमुख रेणु दाहाल कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने महानगरको योजनाअनुसार यो कार्यक्रम आएको बताउनुहुन्छ । “युवा पुस्तालाई कृषि पेसामा टिकाइराख्न पनि विभिन्न आकर्षक कार्यक्रम जरुरी भयो,” उहाँले भन्नुभायो ।

यसरी किसानले लिने ब्याज छुट रकमका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस भने आवश्यक पर्ने महानगरले मापदण्ड बनाएको छ । विशेष त किसानले यो रकम कृषि यान्त्रिकीकरणमा खर्च गर्ने विश्वास महानगरको छ ।

कृषि उत्पादनका दृष्टिले देशकै अग्रणी जिल्ला चितवनको मुख्य कृषि उत्पादन क्षेत्र भरतपुर महानगरपालिकाले ओगटेको छ । दुई लाख ६५ हजार जनसङ्ख्या रहेको भरतपुरमा ४५ प्रतिशत जनसङ्ख्या कृषि क्षेत्रमा आबद्ध छन् । महानगरमा १४ हजार हेक्टर जग्गामा खेती गरिएको तथ्याङ्क महानगरसँग छ ।

कृषिका क्षेत्रमा कतिले ऋण लिएका छन् भन्ने यकिन तथ्याङ्क महानगरले निकाल्न सकेको छैन ।

बाँझो जग्गा भाडामा लिने

कोही कसैले खेती नगरी बाँझो राखेका जग्गा महानगर आफैँले भाडामा लिएर खेती गर्न चाहने किसानलाई दिने भएको छ । कृषियोग्य जमिन बाँझो नराख्ने नीतिअनुरूप महानगरले यो कार्य सुरु गर्न लागेको हो ।

अब महानगरले बाँझो जग्गा भाडामा लिन्छ र खेती गर्न चाहने किसानलाई भाडामा लगाउँछ, महानगरका प्रशासकीय अधिकृत विनोद लामिछानेले बताउनुभयो ।

बाँझो जमिनमा खेती गर्न चाहने किसानले अब महानगरबाटै भाडामा लिएर खेती गर्न पाउनेछ, उहाँले भन्नुभयो । यसरी बाँझो जग्गा भाडामा दिँदा जग्गाधनीले समेत केही भाडा पाउने नीति महानगरले अवलम्बन गर्न लागेको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter