विपदमा परेकाहरूको तत्काल उद्धार र राहतको काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, असार २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो तथा प्राकृतिक विपदमा परेका नागरिकहरूको तत्काल उद्धार, राहत तथा व्यवस्थापनको काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको चौथो बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले सो निर्देश गर्नुभएको हो । पछिल्लो केही दिनयता परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा बाढीपहिरोले स्थानीय नागरिकहरू समस्यामा परेकोभन्दै प्रधानमन्त्री ओलीले राहत सामग्रीमा कुनै कमजोरी नगर्न निर्देश गर्नुभएको परिषदका सदस्यसचिव तथा गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो ।

जोखिममा परेका नागरिकको जिउधनको सुरक्षार्थ प्रभावकारी काम गर्न परिषदका सदस्यहरूलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको पोखरेलले जानकारी दिनुभयो । “उद्धारका सामग्रीहरू सदरमुकाम या जिल्लामा थुप्रिने काम नहोस्, जहाँ समस्या छ त्यहीँ स्थानीय ठाउँमा सामग्री तत्काल पुगोस्” प्रधानमन्त्री ओलीले बैठकमा भन्नुभयो, “उद्धार तथा पुनर्स्थापनाको काममा कुनै किसिमको कमजोरी नहोस्, परिणाम देखिनेगरी काम होस् ।” उद्धार तथा पुनर्स्थापनाका लागि सरकारको तर्फबाट आर्थिकरुपले कुनै कमजोरी हुन नदिइने पनि प्रधानमन्त्रीले बैठकमा प्रतिबद्धता जनाउनुभएको सदस्यसचिव पोखरेलले बताउनुभयो ।

सो अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडालाई आर्थिक समस्या पर्न नदिन प्रधानमन्त्रीले निर्देशन दिनुभयो । त्यस्तै, म्याग्दीमा बाढीले पुल बगाउँदा स्थानीयलाई आवतजावतमा समस्या परेको भन्दै अबको १५ दिनभित्र वैकल्पिक बेलीब्रिज निर्माण गर्न पनि प्रधानमन्त्रीले निर्देश गर्नुभएको छ । बैठकमा प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विपद जोखिम न्यूनिकरणका लागि तत्कालीन तथा दीर्घकालिन योजना बनाएर अगाडि बढ्न सरकारलाई सुझाव दिनुभयो । सदस्यसचिव पोखरेलले दिनुभएको जानकारीअनुसार सभापति देउवाले पीडामा रहेका नागरिकको उद्धार तथा पुनर्स्थापनामा कुनै कसर बाँकी नराख्न सरकारलाई सुझाव दिनुभयो ।

पछिल्लो दुई दिनयताको वर्षाका कारण पाल्पा, पर्वत, म्याग्दी, सिन्धुपाल्चोक, कास्की, रुकुम, जाजरकोट, बझाङ लगायतका जिल्ला बढी प्रभावित भएका छन् । अविरल वर्षाका कारण अहिलेसम्म करिब २३ जनाले ज्यान गुमाइसकेका छन् । करिब ५४ जना अझै बेपत्ता छन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको परिषदमा सरकारका मन्त्री, सेना प्रमुख, मन्त्रालयका सचिव लगायत सदस्य रहनुभएको छ । यसअघि वैशाख १ गते परिषदको तेस्रो बैठक बसेको थियो । महिनामा कम्तीमा दुई बैठक बस्नुपर्ने ऐनमा व्यवस्था रहेको सदस्यसचिव पोखरेलले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter