नेकपा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवस देशभर मनाइए; मार्क्सवादको जग बसाउने नेता

काठमाडौँ, साउन ७ गते । माक्र्सवादी दृष्टिकोणबाट नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक विश्लेषण गर्दै गणतन्त्रको आधार तयार गर्ने नेपाल कम्युनिष्ट पार्टीको संस्थापम महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवस देशभर मनाइएको छ ।

संयुक्त जनआन्दोलनका प्रणेता पुष्पलालको जन्मस्थल रामेछापडाँडाको भँगेरीमा समेत पुष्पलालको स्मरण गरिएको छ । त्यस्तै, कीर्तिपुरको चम्पादेवीमा रहेको शालिकमा माल्यार्पणसहित नेपालको राजनीतिक एवं सामाजिक परिवर्तनमा पुष्पलालले पुर्याउनुभएको योगदानको स्मरण गरिएको छ ।

यसैबीच, काठमाडौँ महानगरपालिका–१८ विजेश्वरीमा निर्माण गरिएको पुष्पलाल स्मृति पार्कको बुधबार उद्घाटन गरिएको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्नुभएको सो पार्कमा रहेको पुष्पलालको शालिकमा माल्यार्पण गरिएको थियो ।

पूर्वप्रधानमन्त्री नेपालले पार्टी भित्रको वाद–विवादबाट आत्तिहाल्नु पर्ने कुनै कारण नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “बाहिर फैलिएको हल्लाको आधारमा होइन, हामी मिहिन ढंगले वाद–विवाद, संवाद गरिरहेका र्छौँ ।”

उहाँले ‘वादेवादे जायते तत्ववोध’ भनेजस्तै वाद, विवाद, संवाद हुने वित्तिकै आत्तिहाल्नु नपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विधिबाट सबै टुंगो लगाउनुपर्छ । हामी त्यहि प्रयासमा छौँ ।”

उहाँले भन्नुभयो, “नेताहरुको बिचमा विश्वास र समझदारीको समन्वय र विधिको आधारमा टेकेर चल्ने अवस्था भयो भने जस्तोसुकै चुनौतिको सामना गर्न सकिन्छ । एकताबद्ध भएर अघि बढ्न सकिन्छ ।”

उहाँले पुष्पलालको योगदानलाई चीरस्थाई बनाई राख्न पनि हामीले पार्टी एकतालाई बलियो बनाउने कुरालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पार्टी एकताबद्ध भएको सन्देश दिएर आम कार्यकर्ता र नेपाली जनताको मन जित्न नेतालाई सुझाव दिनुभयो ।

यस्तै, प्रदेश सभा सदस्य वसन्त मानन्धरले पुष्पलाले भन्नुभएजस्तै ‘नेता होइन, नीति प्रधान’ हुनुपर्नेमा जोड दिनुभयो ।

यसैबीच, पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले सामन्तवाद तथा निरंकुशताका विरुद्धको संयुक्त जनआन्दोलनका प्रणेता पुष्पलालको ४२ औँ स्मृति दिवसका सन्दर्भमा श्रद्धाञ्जली व्यक्त गर्दै उहाँकै पदचिन्हहरुमा दृढतापूर्वक हिँड्न सकेकै कारण नेपालमा ऐतिहासिक परिवर्तनहरु गर्न सफलता मिलेको स्पष्ट पार्नुभयो ।

उहाँले पुष्पलालका आदर्शहरुलाई दृढतापूर्वक पछ्याइरहने प्रतिबद्धता व्यक्त गर्दै सबै खालका भड्कावहरुबाट कम्युनिस्ट आन्दोलनलाई जोगाउँदै पुष्पलालले स्थापित गरेका मानकहरु आन्दोलनमा सधैँ मार्गदर्शनका रुपमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कम्युनिस्ट पार्टीहरुले विभिन्न कालखण्डमा जनताको बीचमा रहेर काम गर्न सकेकै कारण आज यति विशाल पार्टी निर्माण गर्न सकेका छौँ ।”

पूर्वी नेपालको रामेछाप जिल्लाको भँगेरीमा १९८१ साल असार १५ गते जन्मनुभएका पुष्पलालको भारत प्रवासमा नै २०३५ साल साउन ७ गते निधन भएको थियो । सरकारले भँगेरीमा पुष्पलालको पूर्णकदको शालिकसहित विशाल पार्कको निर्माण गर्दैछ ।

मार्क्सवादको जग बसाउने नेता

काठमाडौँ, साउन ७ गते । मार्क्सवादी दृष्टिकोणबाट नेपाली समाजको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक विश्लेषण गरी गणतन्त्रको जग राख्ने दूरदर्शी नेताको रूपमा पुष्पलाल श्रेष्ठलाई लिइन्छ । पुष्पलालले अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुवाद र नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र लेखेर नेपाली राजनीतिको मिहिन ढङ्गले विश्लेषण गर्दै श्रमजीवी वर्ग, समुदाय, पिछडिएका जाति र जनताको मुक्तिको जग राख्नुभएको थियो ।

२००७ सालमा नेपाली काँग्रेसले सञ्चालन गरेको सशस्त्र सङ्घर्षपछि राजा, राणा र काँग्रेस बीचको सहमतिलाई ‘दिल्ली सम्झौता धोका हो’ भन्दै राणाशाहीविरुद्ध अन्त्यहीन सङ्घर्षको पक्षमा बिगुल फुक्ने पुष्पलालले आफ्नो सम्पूर्ण जीवन कम्युनिस्ट आन्दोलनको विकास, नेपाली समाजको मिहिन ढङ्गले अध्ययन र विश्लेषणमा खर्चनुभयो । वि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रद्वारा

निरङ्कुश पञ्चायती व्यवस्था लादिएपछि गुमेको जनअधिकार प्राप्तिका लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नै निरङ्कुशतालाई परास्त गर्न सकिन्छ भन्ने संयुक्त जनआन्दोलनको अवधारणा सार्नुहुने दूरद्रष्टा पनि हुनुहुन्छ, पुष्पलाल । यसको मार्गदर्शनबाट नै मुलुकले ठूलाठूला राजनीतिक परिवर्तन हासिल गरेको छ । पूर्वी पहाडी जिल्ला रामेछापको भँगेरीमा १९८१ साल असार १५ मा जन्मनुभएका पुष्पलालको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो ।

पुष्पलालसँग निकटको सम्बन्ध राख्नुहुने वामपन्थी विश्लेषक लोककृष्ण भट्टराईका अनुसार पुष्पलालले ‘दिल्ली सम्झौता धोका हो’ भन्दै राजनीतिक चेतना दिएर राजनीतिक, सामाजिक र आर्थिक महत्त्वको विश्लेषण गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter