थप ३७८ मा सङ्क्रमणको पुष्टि, कुल २२ हजार ५९२

काठमाडौँ, साउन २४ गते । कोरोनाभाइरसका ३७८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङकाे क्रममा पछिल्लो चौबीस घण्टामा ४९९ जना कोरोनामुक्त भएर घर फर्केका जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जोगश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा मृत्यु भएका तीन जनामा सङ्क्रमणको पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । हालसम्म १६ हजार ३१३ जना कोरोनामुक्त भएका छन् ।

मध्यम अवस्थामा दश दिनमा सक्रिय सङ्क्रमित ३९ हजार पुग्ने

नेपालमा कोरोनाभाइरसको सङ्क्रमण पूर्वानुमानभन्दा सीमित संख्यामा मात्रै फैलिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणका बीच केही साताअघि अत्यन्तै खराब र मध्यम अवस्थामा सङ्क्रमितको सङ्ख्या पूर्वानुमान गरेको थियो ।

मन्त्रालयले ‘इपी मोडलिङ’(इपीडेमिक प्रेडिक्शन)बाट उक्त अनुमान गरेको हो । सङ्क्रमण युद्ध स्तरमा फैलिए साउन २५ सम्म नेपालमा सक्रिय सङ्क्रमित ९१ हजार पुग्ने अनुमान गरिएको थियो । तर हाल सक्रिय सङक्रमितको सङ्ख्या छ हजार ६३० दर्ता गरिएको छ ।

मध्यम अवस्थामा भदौ २ गतेसम्म सक्रिय सङ्क्रमित ३९ हजार पुग्ने अनुमान गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले दुवै अवस्थाको तुलना गर्दा नेपाल सन्तोषजनक अवस्था रहेको बताउनुभयो । नागरिक सहयोग, प्रतिकार्यात्मक कार्यले सङ्क्रमित हुने अनुमानभन्दा सीमित रहेको उहाँले बताउनुभयो ।

नेपालमा पछिल्लो दश दिनमा करिब तीन हजार पाँच सय सङ्क्रमितको पुष्टि भएको छ । कुल सङ्क्रमित हुनेको सङ्ख्या २२ हजार २१४ पुगेको छ । सक्रिय सङ्क्रमित छ हजार ६३० छन् । सङ्क्रमितको मृत्युदर वृद्धि भएको छ । हाल प्रतिदशलाख सङ्क्रमितका शून्य दशमलव तीन प्रतिशत कायम गरिएको छ ।

सङ्क्रमित खोज्न एक हजार ७५ टोली

नेपालमा कोरोनाभाइरसका सङ्क्रमित खोज्न एक हजार ७५ वटा टोली परिचालन गरिएको छ । उक्त टोलीमा चिकित्सकसहित स्वयंसेवीहरू छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच वटा टोली बनाइएको छ ।

उक्त टोलीले सङ्क्रमितको सम्पर्कमा आएकाको ‘ट्रयास’ गर्दैछन् । यसरी ट्रयास गरिएको आशङ्कितलाई क्वारेन्टिनमा राख्ने र परीक्षणका लागि टोलीले सघाउँदैआएको छ । मन्त्रालयका अनुसार प्रत्येक टोलीमा तीन जना छन् । जसअनुसार कोरोना सङ्क्रमितको सम्पर्कमा आउनेको खोजबिन गर्न नै तीन हजार दुई सयभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

दुई महिनालाई पुग्ने पीपीई

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मी, स्वास्थ्य पूर्वाधार, स्वास्थ्य सामग्री तयारी अवस्थामा रहेको जनाएको छ । मन्त्रालयका अनुसार गम्भीर प्रकृतिका एक हजार पाँच सय बिरामीको उपचारका लागि औषधि र आईसीयू सामग्री मौज्दात रहेको छ । कोभिड –१९ बिरामीका लागि दुई महिनासम्म पुग्ने प्रयोगशाला सामग्री, व्यक्तिगत् सुरक्षा सामग्री मौज्दात छन् । थप सामग्री खरिद प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रकोपको रुप लिने अवस्थाका लागि पूर्वतयारी स्वरुप होम आइसोलेसन/क्वारेन्टिन कार्यान्वयनमा ल्याइसकेको छ । मन्त्रालयले हालसम्म ४१ वटा दस्तावेज तथा निर्देशिका बनाएको छ । निजी अस्पतालका लागि खर्चको मापदण्ड निर्धारण गरेको छ । दैनिक परीक्षण क्षमता सरकारी र निजी गरी २२ हजार पुर्याइएको छ ।

कति भेन्टिलेटर र आईसीयू?

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा अत्यन्तै जटिल अवस्थाका लागि दुई हजार छ सय आईसीयू तथा नौ सय भेन्टिलेटर उपलब्ध छ । सरकारले चार महिनाको लागि हरेक हप्ताको कार्ययोजना तयार गरी कार्यान्वयनमा लगेको छ । असारदेखि असोजसम्मको कार्ययोजना लागू गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

पछिल्लो केही महिनामा कोरोना सङ्क्रमितको उपचारका लागि भनेर मन्त्रालयले २५० आईसीयू र भेन्टिलेटर थपेको छ । २४० वटा आईसीयू र भेन्टिलेटर थप्ने प्रकृया अगाडि बढाइएको छ । हाल ६६ जना कोरोना सङ्क्रमित बिरामी आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो केही दिन यता कोरोना सङ्क्रमणबाट मृत्यु हुने र सङ्क्रमित हुनेको सङ्ख्या वृद्धि भइरहँदा स्वास्थ्य पूर्वाधार नै धराशायी हुने विज्ञहरूले आकलन गरिरहँदा मन्त्रालयले उपलब्ध पूर्वाधारको सूची सार्वजनिक गरेको हो । यद्यपि मन्त्रालयका प्रवक्ता डा. गौतमले नागरिकले जनस्वास्थ्य मापदण्डको पालना उच्च सतर्कताले गर्न नसके आईसीयू र भेन्टिलेटरको सङ्ख्या कम पर्न जाने चेतावनी दिँदै आउनुभएको छ ।

शय्या विस्तार गरिँदै

असार अन्तिम साता ५० देखि ६० जनासम्म सङ्क्रमित फेला पर्दैआएको थियो । एक महिनाको अवधिमा दैनिक सङ्क्रमित हुनेको सङ्ख्या करिब पाँच सय पुग्न लागेको छ । मन्त्रालयले दुई महिना अघि नै सात वटै प्रदेशमा सात सात हजार शय्या तयार गर्न रकम निकासा गरेको थियो । उक्त शय्या अस्पतालबाहेक अतिरिक्त स्थानमा तयार गर्न वितरण गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले दैनिक प्रेस ब्रिफिङ्को क्रममा बताउनुभएको छ । जसका लागि प्रदेश २ र ५ मा सात सात करोड, सुदूरपश्चिम र कर्णालीमा छ छ करोड तथा बाग्मती, प्रदेश १ र गण्डकीका लागि चार चार करोड निकास गरिसकेको छ ।

जोखिमपूर्ण अवस्थाका लागि मन्त्रालयले २५ हब र २० शिक्षण अस्पतालबाट विशेषज्ञ चिकित्सकसहितको टोली परिचालन गर्न सक्ने क्षमता विस्तार गरेको छ । उक्त टोली तयारी अवस्थामा छन् । आवश्यकता बमोजिम परिचालन गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणबाट पछिल्ला दिनहरूमा काठमाडौँ र प्रदेश २ सबैभन्दा बढी प्रभावित छन् । सङ्क्रमणबाट मृत्यु भएको ७० जनामध्ये तीस जना प्रदेश २ का छन् । प्रदेश २ न्युनत्तम स्वास्थ्य पूर्वाधारको मापदण्डलाई समेत पाउन सकेको छैन । पछिल्ला दिनहरूमा दैनिक एकसय भन्दा बढी सङ्क्रमित थपिन गई सक्रिय सङ्क्रमितको सङ्ख्या हाल दुई हजार ८३९ पुगेको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा वाग्मती प्रदेशको काठमाडौँसमेत थपिएको छ । काठमाडौँमा पहिलोपटक पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । बाग्मतीमा ९४३ जना सक्रिय सङ्क्रमित छन् । राजधानी शहरसमेत रहेकोले काठमाडौँ उपत्यकामा स्वास्थ्य पूर्वाधार सन्तोषप्रद अवस्थामा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter