निजी क्षेत्रलाई मन्त्री पुनको आग्रह– ढुक्क भएर जलविद्युतमा लगानी गर्नुस्, सरकार बिजुली किन्न तयार छ


काठमाडौँ, भदौ १ गते । ऊर्जा, जलस्राेत त तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले जलविद्युत् क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई अपिल गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको ३५औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पुनले निजी क्षेत्रको लगानी सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

निजी क्षेत्रबाट उत्पादित बिजुली सरकारले खरिद गर्ने र बजारको व्यवस्था मिलाउने पुनको भनाइ थियो । सरकारले विद्युत् उत्पादन गर्न अनुमति प्रदान गर्ने, तर खरिद सम्झौता (पिपिए) नहुने भन्ने हुनै नसक्ने पुनको प्रस्टाेक्ति छ । ‘लगानी गर्नुस्, भनेर लाइसेन्स दिएपछि पिपिए नगर्ने भन्ने हुँदैन । तपाईंहरू लगानी गर्नुस् । म विश्वास दिलाउन चाहन्छु सरकारले पिपिए गर्छ,’ पुनले भने, ‘निजी क्षेत्रले उत्पादन गरेको विद्युत् खरिद गरेर बजारको व्यवस्था गर्छौं । यो सरकारको प्रतिबद्धता हो ।’

उनले उत्पादित बिजुली देशभित्रै घरेलु बजारमा खपत नभए क्षेत्रीय बजारको व्यवस्था गर्नेसमेत बताए । स्वतन्त्र ऊर्जा प्रवर्द्धकहरूको संस्था (इपान) ले जलविद्युतमा निजी क्षेत्रको ७ खर्ब लगानी रहेको बताउँदै आएको चर्चा गर्दै मन्त्री पुनले लगानी डुब्न नदिने प्रतिबद्धता जनाए ।

हालसम्म विद्युत् प्राधिकरणले सात हजार मेगावाटको विद्युत् खरिद सम्झौता गरेको र २१ हजार मेगावाटको सर्भे लाइसेन्स जारी भएको जानकारी उनले दिए । यस्तै, थप सात हजार विद्युत् उत्पादनका लागि लाइसेन्स माग भएको पुनले जानकारी दिए । उनले व्यवसायीहरूलाई पनि जोखिम मोल्न तयार हुन र आत्मानुशासित बन्न सुझाब दिए । लकडाउनका समयमा समेत चिनियाँ, भारतीय, जापानी र कोरियन कम्पनीले जलाशययुक्त र नदी प्रवाहमा आधारित ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा दर्शाएको उनले बताए ।

भरपर्दो वितरण, चुहावट नियन्त्रण, स्वदेशमै उत्पादित बिजुली किन्न सक्ने अवस्थामा प्राधिकरणलाई पुऱ्याउने योजनासहित मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ । ‘यसलाई सकारात्मक चुनौतीका रूपमा लिएर अझै राम्रो बनाउने र लक्ष्य हासिल गर्ने हाम्रो प्रतिबद्धता रहनेछ,’ पुनले भने । अझै मुलुकका १० प्रतिशत जनता अँध्यारोमा रहेकाले उनीहरूलाई दुई वर्षभित्र विद्युत् पहुँचमा पुऱ्याउन सरकारले काम गरिरहेको उनको दाबी छ ।

यस्तै सेवा पुगेका स्थानमा विद्युतसेवा भरपर्दो, सुलभ र प्रभावकारी बनाउने दायित्व प्राधिकरणको भएको उनले बताए । ‘आगामी दुई वर्षमा सम्पूर्ण नेपालीको घरमा उज्यालो पुऱ्याउने संकल्प र प्रतिबद्धता पूरा गर्न तयार छौँ,’ पुनले भने, ‘त्यसका प्राधिकरणले फ्रन्टलाइनमा रहेर काम गर्छ ।’
विगतभन्दा राम्रो प्रयत्न भएको र अझ राम्रो गर्न आन्तरिक व्यवस्थापन, प्रशासनिक चुस्तता र खरिदका व्यवस्थापन चुस्त बनाउन प्राधिकरणले आफैँसँग प्रतिस्धर्पा गरिरहेको उनको भनाइ छ ।

वार्षिकोत्सवका अवसरमा कर्मचारी कल्याणकारी कोषमा ७ करोड र कार्यकारी निर्देशकदेखि स्थायी, अस्थायी, करार र ज्यालादारीसमेत गरी प्रत्येक कर्मचारीलाई सात हजार रुपैयाँ प्रोत्साहनस्वरूप दिने प्राधिकरण सञ्चालक समितिले निर्णय गरेको जानकारी पनि मन्त्री पुनले दिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter