अवरोध छिचोल्दै प्रसारण लाइन

भैरहवा, भदौ १३ गते । बुटवलबाट भैरहवा–लुम्बिनी कोरिडोरमा ल्याउन लागिएको विद्युत् प्रसारण लाइन चार महिनामा पूरा हुने भएको छ । बुटवल–गोरुसिङ्गे–लुम्बिनी १३२ केभी प्रसारण लाइन विस्तार आयोजनाले बीचमा कुनै अवरोध नभए चार महिनाभित्रै प्रसारण लाइन बन्ने जनाएको छ ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक कोरिडोर लगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन विस्तार थालिएको थियो । चार वर्षअघि प्रसारण लाइनको विस्तार थालिए पनि स्थानीयवासीको अवरोधका कारण ढिलाइ भएको हो । हालसम्म आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताउनुभयो ।

योगीकुटीबाट सबस्टेसन रहेको मैनहियासम्म विद्युत् पु¥याउन ५६ वटा विद्युत् पोल गाड्नुपर्छ । अहिलेसम्म ३४ वटा पोलका लागि फाउन्डेसन बनेको छ । अब बाँकी २२ वटाको फाउन्डेसन पनि छिट्टै बन्ने पाण्डेको भनाइ छ । सबस्टेसनको बाँकी काम र ट्रान्समिसनको काम बाँकी रहेको उहाँले बताउनुभयो । “टावरबाहेक अरू सबै सामान आइसकेको छ, ३४ वटा फाउन्डेसन तयार भएका छन्, बाँकी २२ वटा फाउन्डेसन पनि छिटै बन्दै छन्,” उहाँले भन्नुभयो ।

एक अर्ब २० करोड लागतको यो आयोजना तीन वर्षभित्र सक्ने लक्ष्य भए पनि चार वर्षसम्म पूरा हुन सकेको छैन । विद्युत् विस्तारका लागि जग्गा प्राप्ति र रुट विवादले काम हुन सकेको थिएन तर अहिले सबै विवाद टुङ्गिएको छ र बन्दाबन्दीका बीचमा पनि काम निरन्तर अगाडि बढिरहेको छ, आयोजना प्रमुख पाण्डेले भन्नुभयो ।

औद्योगिक र पर्यटकीय क्षेत्रमै १३२ केभी विद्युत् लाइन नहुँदा उद्योगीले समस्या भोगेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद लामिछानेले बताउनुभयो । प्रसारण लाइन बनेपछि समस्या समाधान हुनेमा आशावादी रहेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७२÷७३ मा बुटवलको योगीकुटीबाट तिलोत्तमा हुँदै मैनहियासम्म लैजाने गरी आयोजना सुरु भएको थियो । जसमा सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडकको किनारमा मोनोपोल (सिङ्गल पोल) राख्ने तयारी थियो ।

तिलोत्तमावासीले सडक छेउबाट विद्युत् लैजाँदा मानवीय जोखिम हुने भन्दै मोनोपोल विस्तार गर्न दिएनन् । जसका कारण प्रसारण लाइन विस्तारको काम दुई वर्षसम्म रोकियो । सडकको सट्टा तिनाउ नदीको किनारबाट रुट तय गरेर गत वर्षदेखि विद्युत् विस्तार थालिए पनि स्थानीयवासीले फेरि अवरोध गरे । त्यो अवरोध पनि अब सहमतिमा टुङ्गिएकाले आयोजना पूरा हुने अवस्थामा आइपुगेको आयोजना प्रमुख पाण्डेले बताउनुभयो ।

यस रुटमा सामुदायिक संस्था र सामुदायिक वनले समेत पोल गाड्ने जग्गा नदिँदा आयोजनाले केही महिना समस्या झेलेको थियो । व्यक्तिगत जग्गा मात्र होइन, सरकारी जग्गामा समेत सामुदायिक वनका नाममा विस्तारमा अवरोध गरिँदा आयोजना पछाडि धकेलियो, उहाँले भन्नुभयो । लुम्बिनी कोरिडोरका उद्योगलाई प्राधिकरणले माग गरेअनुसार विद्युत् दिन सकिरहेको छैन । विद्युत् लोडकै कारण भैरहवा र लुम्बिनी क्षेत्रमा आपूर्ति नियमित हुन सकिरहेको छैन ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter