सरकार जनताको जीवनरक्षामा केन्द्रित छ – प्रधानमन्त्री ओली

काठमाडौं, असोज २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख काम अहिले कोभिडविरुद्ध लडेर नेपाली जनताको जीवनरक्षा गर्नु रहेको बताउनुभएको छ । गैर आवासीय नेपाली सङ्घको विश्व ज्ञान सम्मेलनलाई शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । कोरोना महामारीका बेला जनतालाई कुनै चिजको अभाव र समस्या नहोस् भन्नेमा सरकार पूर्णतः ध्यान दिइरहेको उहाँले प्रष्ट पार्नुभयो ।

लोकतन्त्रलाई जनताको जीवनसँग सम्बन्धित बनाएर लोकतन्त्र राजनीतिक मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, मानवअधिकार, वातावरणीय पक्ष, सुन्दर नेपाल बनाउने सम्ममा ध्यान दिइएको प्रधानमन्त्री ओलीले बताउनुभयो । सामाजिक न्याय र समानता, सुरक्षाको प्रत्याभूति र सम्मानपूर्ण ढङ्गले बाँच्ने अधिकारसहितको लोकतन्त्रको बाटो सरकारले समातेको उहाँले प्रष्ट पार्नुभयो ।

समाजलाई अब सुशासनयुक्त, विकासतर्फ उन्मुख बनाउने दिशामा सरकार लक्षित रहेको बताउनुहुँदै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुने विश्वास दिलाउनुभयो । “सुखी नेपाल निर्माण गर्ने परिकल्पना मात्र होइन, यो हाम्रो साझा लक्ष्य हो सफल पारेरै छाड्छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

कोरोनाका कारण अर्थतन्त्रमा गम्भीर धक्का लागे पनि आशाका किरण देखिनखालको प्रगति भइरहेको बताउनुभयो । “कोभिड १९ ले धक्का दिए पनि दीर्घकालसम्म धक्का दिनसक्दैन, हामी नियन्त्रण गर्छौं” उहाँले भन्नुभयो । हाम्रा पुर्खाहरुले आयुर्वेदको अाविस्कार गर्नुभयो, कोभिड १९ का बेला विभिन्न घरेलु चिकित्सा पद्धतिले सहयोग पुगेको छ प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीसँग घरेलु औषधि प्रशस्त छ, तर प्रयोग गर्न अझै जानेका छैनौं ।”

हाम्रो घरका भन्सामा अस्पताल छ, औषधीय गुण भएका सामग्री छन् प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो ज्ञानको गौरवपूर्ण परम्पराले हामीलाई सहयोग पुगेको छ ।” औषधिजन्य भान्सामा पाक्ने मसलाले हाम्रो रोग प्रतिरोधी क्षमता बढाइरहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले कोभिड १९ बाट कोही नेपाली हतोत्साही हुन आवश्यक नरहेको बताउनुभयो ।

विकासका निम्ति प्रविधि, ज्ञानको प्रयोग गर्न आवश्यक रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले ज्ञान, सीप र प्रविधिको विकास अब नेपाल आफैले गर्ने र आवश्यक प्रविधि भित्र्याएर सक्षम हुने बताउनुभयो । आफ्नै देश समृद्ध र सक्षम बनाउन चाहने एनआरएनको साझा सोंचको प्रसंशा गर्नुहुँदै प्रधानमन्त्री ओलीले सबैको सोंच, सहयोग, सीप र ज्ञानले नै नेपाल समृद्ध हुने बताउनुभयो ।

नेपाल अर्थतन्त्रमा अझै सक्षम भइनसकेकाले बाहिरी लगानी भित्र्याउन आवश्यक रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले त्यसकालागि गैर आवासीय नेपाली संघले भूमिका खेल्नसक्ने धारणा राख्नुभयो । सम्मेलनले नयाँ उत्साह ल्याउन सकोस् भन्दै उहाँले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभयो । कोभिड १९ समस्या आउनुअघि नेपालले तिव्र आर्थिक बृद्धि हासिल गरिरहेको भए पनि कोरोना महामारीले समस्या पारेको बताउनुभयो ।

आर्थिक, सामाजिक, समानता, जागरणको क्षेत्रमा आश्चर्यजनक उपलब्धि प्राप्त भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले जनताको न्यायोचित सहभागिताले न्यायोचित उपलब्धि हात लागेको चर्चा गर्नुभयो । कुनै पनि विचारलाई निेषेध नगरी प्रतिस्पर्धाका आधारमा अगाडि बढेको उहाँले बताउनुभयो ।

नेपालको भूभाग समेटेर नयाँ नक्सा प्रकाशन गर्नु ऐतिहासिक उपलब्धि भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रियताको मुद्दामा सिङ्गो नेपाल एक ठाउँमा रहेको प्रष्ट पार्नुभयो । एनआरएनसँग आफ्नो नजिकको सम्बन्ध रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले नेपालको सम्पन्नतामा सहयोग गर्न संघलाई आग्रह गर्नुभयो ।

गैर आवासीय नेपाली संघले उठाएको माग सरकारले पूरा गर्ने क्रममा रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले नागरिकता प्रदान गर्ने विषय पनि अघि बढिसकेको जानकारी गराउनुभयो । शुभकामना मन्तव्यमा प्रधानमन्त्री ओलीले सबैको सुस्वास्थ्य र प्रगतिको कामना गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter