चीन नीतिमा अडिग, पाण्डे समानुपातिमा सिफारिस, थापा सहमहामन्त्री

नारद गौतम / ललितपुर, कात्तिक २८ गते । बीपी कोइरालाको समयदेखि लिँदै आएको चीनसँगको नीतिमा कांग्रेस अडिग रहेको जनाएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सो कुरा स्पष्ट गरेको हो । नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि कुनै पनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लङ्घनको विपक्षमा कांग्रेस सधैं अडिग छ र अडिग रहने बैठकले स्पष्ट गरेको छ ।

बैठकले चीन सरकारको आधिकारिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेखप्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लेखमा कांग्रेसलाई भारत परस्त पार्टीको रूपमा चित्रित गर्नुको साथै हुम्लामा नेपाली भूमिमाथि चीनले अतिक्रमणको भनी अफवाह फैलाएको आरोपसमेत लगाएको छ ।

यस्तै, नेपाल स्थित चिनिया दुतावासले नेपाली कांग्रेस पार्टीलाई लेखेको पत्रमा जीवनबहादुर शाहीले सार्वजनिक गर्नु भएको प्रतिवेदनलाई आधारविहिन र झुठो भन्दै गैर जिम्मेदार र अमैंत्रीपूर्ण पनि भनिएको छ । यसप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यसलाई आधारहीन आरोप भन्दै लामो समयदेखि नेपाली कांग्रेस तथा चिनियाँ सरकार र जनताबीच रहेको मैत्रीपूर्ण सम्बन्धको महत्ता र गरिमा विपरीत भएको जनाएको छ । कर्णाली प्रदेश विपक्षी दलका नेता जीवनबहादुर शाहीसहितको टोलीले विस्तृत स्थलगत भ्रमण गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग पनि गरिएको छ ।

राहतको सुनिश्चित गर्न माग

लामो विवादपछि बसेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकार जनताको पीरमर्काप्रति संवेदनशील हुनुको सट्टा सत्ताको छिनाझपटीमै व्यस्त रहेको ठहर गरेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय ललितपुरमा शुक्रबार बसेको बैठकपछि सार्वजनिक गरिएको पार्टीको निर्णयमा भनिएको छ, ‘‘महामारीको रोकथाम र नियन्त्रणलगायत सबै काममा सरकार असफल भएको छ, जनताले सरकार भएको अनुभूति गर्न सकेका छैनन् र जनताबाट प्राप्त मतको घोर अपमान र अवमूल्यन भएको छ ।’’

बैठकपछि पार्टीको निर्णयबारे जानकारी दिँदै महामन्त्री पूर्णबहादुर खड्काले बैठकले देशमा व्याप्त महामारी, भ्रष्टाचार, मूल्यवृद्धि, कालाबजारी, कृत्रिम अभाव, बेरोजगारी, किसानका समस्यालगायत देशमा व्याप्त बेथिति रहेको ठहर गरेको छ भन्नुभयो ।

पाण्डे समानुपातिकमा सिफारिस

बैठकले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचित सदस्य सूर्यबहादुर के.सी. को निधन भई रिक्त भएको स्थानमा मोहनप्रसाद पाण्डेलाई प्रतिनिधि सभा सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको छ । सामानुपातिकको बन्दसूचीको क्र.सं. १२ मा खस आर्य समूहतर्फको सूचिी नाम रहनुभएका पाण्डेलाई प्रतिनिधि सभा सदस्य पदमा मनोनयन गर्ने र निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।

मङ्सिरभित्रै क्रियाशिल सदस्यता

पार्टीको १४ औं महाधिवेशनको अन्य कार्यतालिकामा कुनै फेरबदल नगरी बैठकले क्रियाशील सदस्यता वितरणलाई प्राथमिकतामा राखेको छ । पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनको अन्य कार्यतालिका यथावत् रहेको बताउनुभयो । जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नवीकरणको सूची तयार गरी अनिवार्यरूपमा मङ्सिर मसान्तसम्म केन्द्रमा पठाइसक्न जिल्ला नेतृत्वलाई निर्देशन दिएको छ ।

थापा सहमहामन्त्री नियुक्त

बैठकले साउन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्नुभएको नेता नेता सुनिलबहादुर थापालाई पार्टीको सहमहामन्त्री पदमा मनोनीत गर्ने निर्णय गरेको छ । थापासहितका १६ जना केन्द्रीय सदस्यसहित ३१ जना काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।

काँग्रेस बैठकले अन्य छजना नेतालाई केन्द्रीय सदस्य र तीनजनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्यमा रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, वावुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टि.एन. योगी हुनुहुन्छ । यस्तै, आमन्त्रित केन्द्रीय सदस्यमा दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर सिंह हुनुहुन्छ ।

बैठकले सरकारसँग तत्काल विद्यमान भ्रष्टाचार र कोभिड–१९ सङ्क्रमणको रोकथाम, समुचित उपचार र राहतको सुनिश्चित गर्न माग गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘महामारी, मृल्यवृद्धि, अभाव र बेरोजगारीका कारण आम जनताको जीवन थप कष्टकर हुँदैछ, पछिल्लो समयमा आत्महत्याको घटनामा भएको वृद्धिले आम नागरिकमा चरम निराशा छाएको पुष्टि हुन्छ, किसानहरुले खेतीको समयमा मलखाद नपाएर आफ्नो उत्पादनको रकम प्राप्त गर्न आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।’’

बैठकले नेपालीहरुको महान् चाड तिहार, नेपाल संवत् ११४१ र छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना प्रकट गर्ने निर्णय गरेको छ ।

शुक्रबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव प्रस्तुत गर्नुभएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुनप्रसाद जोशी, कमला पन्त, धनराज गुरुङ, गगनकुमार थापा, देवेन्द्रराज कँडेल र कर्णबहादुर बुढाले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter