प्यूठानमा किवीको व्यावसायिक खेती, प्रति केजी पाँच सय रुपियाँमा विक्री
सुजल श्रेष्ठ / प्यूठान, कात्तिक २९ गते । गौमुखी गाउँपालिका–३ रजबाराका नरेन्द्र मल्लले तीन वर्ष अघि लगाएको किवी फल्न थालेको छ । व्यावसायिक रुपमा खेती शुरु गर्नुभएका मल्लले लगाएको किवी फल्न थालेको हो ।
“शुरुमा रोपेका बोटहरुमध्ये केही बोटमा फल लागेको छ,” उहाँले भन्नुभयो, “नयाँ फल भएकाले छरछिमेकीलाई पनि चखाउने गरेको छु ।” करिव एक क्विन्टल किवी फलेको मल्लको भनाइ छ । उत्पादन भएका केही फल प्रति केजी पाँच सय रुपियाँमा विक्री गरेको उहाँले बताउनुभयो ।
गाउँकै खरा माध्यमिक विद्यालयमा शिक्षण पेशामा कार्यरत मल्लले सुमन जडीबुटी तथा कृषि नर्सरी स्थापना गरी किवीको व्यवसायिक खेती गर्नुभएको हो । करिव डेढ सय बिरुवा किवी लगाएको उहाँले बताउनुभयो । “किवीको खेतीसँगै बेर्ना उत्पादन पनि गरेको छु,” उहाँले भन्नुभयो, “बेर्ना तयार हुँदैछन् ।”
मल्ल काठमाडौं कीर्तिपुर पुगेका बेला किवीको बारेमा थाहा पाउनुभएको हो । “बजारमा किवी महँगो फल रहेछ,” उहाँले भन्नुभयो, “त्यसपछि त्यस फलको बारेमा अध्ययन गर्न थाले ।” सामाजिक सञ्जाल युट्युबलगायतबाट हेर्दै सिक्दै खेती शुरु गरेको उहाँको अनुभव छ ।
कीर्तिपुरबाट प्रति बेर्ना तीन सय रुपियाँमा खरिद गरेर गाउँमा खेती शुरु गर्नुभएको हो । उहाँले गाउँमै किवीसँगै अन्य फलफुल तथा जडीबुटी उत्पादन तथा नर्सरी बेर्ना उत्पादनको शुरुवात गरेको जानकारी दिनुभयो । हालसम्म उहाँको झण्डै चार लाख रुपियाँ लगानी भएको छ ।
गाउँमा अहिले अरु किसानले समेत किवी खेती गर्न शुरु गरेका छन् । वडामा गाउँपालिकाले गत वर्ष २५० बेर्ना वितरण गरेको कृषि प्राविधिक हुमलाल न्यौपानेले बताउनुभयो । समुन्द्री सतहदेखि १६ सय मिटर माथिको उचाईमा किवी खेती हुने समेत उहाँको भनाइ छ ।