मन्त्री गुरुङद्वारा राष्ट्रिय गौरवको आयोजना समयमै सक्न पहल गर्ने प्रतिबद्धता

कैलाश लामा / चरिकोट, दोलखा पुस ४ गते । सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारको प्रवक्ता पार्वत गुरुङले चरिकोटमा निर्माण हुन लागेको अत्याधुनिक रंगशालाको शिलान्यास गर्नुभएको छ।

दोलखाको भीमेश्वर नगरपालिकाले आफ्नै स्रोतबाट निर्माण गर्न लागेको रंगशालाको गृह जिल्ला भ्रमणमा रहनुभएका मन्त्री गुरुङले शनिबार शिलान्यास गर्नुभएको हो।

सदरमुकाम समेत रहेको चरिकोटमा रंगशाला निर्माण हुनु समग्र दोलखाको समृद्धिमा सहयोग पुग्ने उल्लेख गर्दै उहाँले खेलकुदको माध्यमबाट जिल्लामा पर्यटनको विकास गर्न सकिने बताउनुभयो ।

उहाँले माथिल्लो तामाकोसी आयोजना छिटोभन्दा छिटो सम्पन्न गर्न र जिल्लामा रहेका देशकै ठूलो खरिढुङ्गा म्याग्नेसाइट उद्योग समेत सञ्चालनमा ल्याउन पहल गर्ने बताउनुभयो।

११० मिटर लम्बाइ र ६५ मिटर चौडाइको रंगशाला निर्माण भइरहेको उल्लेख गर्दै भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले रंगशाला निर्माणपछि राष्ट्रियस्तरका फुटबल खेलहरू नियमित गराउन सकिने बताउनुभयो ।

नगरपालिकाले गत आर्थिक वर्षको अन्तमा टुँडिखेल विस्तारका लागि ठेक्का आह्वान गरेको थियो । किराँतेश्वर–सिमपानी जेभीले २४ महिनामा पूरा गर्ने गरी २०७७ साउन २५ बाट सम्झौता गरी काम सुरु गरेको छ । अहिले दक्षिणतिरको ११० मिटर लम्बाइको जग खनेर भवन निर्माणको काम सुरु गरेको छ ।

भीमेश्वर नगरपालिकाका योजना तथा पूर्वाधार शाखा प्रमुख इन्जिनियर सुरेश राउतका अनुसार पहिलो चरणमा दक्षिण र पूर्वतिरको २ तले भवनसहितको अत्याधुनिक आरसीसी प्याराफिट निर्माण हुनेछ।

टुँडिखेल विस्तार तथा निर्माणका लागि २० करोड लागत अनुमान गरेकोमा पहिलो चरणमा १२ करोडमा काम सुरु भएको उहाँले बताउनुभयो । पहिलो चरणको काम २०७९ असारमा पूरा हुन्छ । दोस्रो चरणको कामका लागि आर्थिक स्रोत जुटेपछि ठेक्का आह्वान हुने नगरपालिकाले जनाएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter