राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभा विघटन, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन हुने

काठमाडौं, पुस ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटन र २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नुभएको छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यो निर्णय गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिको पूर्ण विवरण यस प्रकार छ

आज मिति २०७७ साल पुस ५ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनतासमक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वेशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नुभएको छ ।

नेकपा स्थायी कमिटीको निर्णय : ओलीलाई अनुशासनको कारबाही, केन्द्रीय कमिटीबाट अनुमोदन गरिने

सत्तारुढ नेकपाले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई अनुशासनको कारबाही गरेको छ । नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

ओलीले प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेपछि नेकपाले अनुशासनको कारबाही गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिनिध सभा विघटन गरिसकेकी छिन् ।

यस्तै स्थायी कमिटीको रिक्त एक पदमा कृष्णबहादुर महरालाई मनोनीत गर्ने प्रस्ताव पनि केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।

सभामुख अग्निप्रसाद सापकोटाद्वारा विज्ञसँग परामर्श

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आइतबार साँझ केही संवैधानिक तथा कानुन विज्ञहरुसँग परामर्श गर्नुभएको छ । सिंहदरबारमा करिब डेढ घण्टा लामो छलफल गर्नुभएको सभामुखले संवैधानिक विषयमा परामर्श गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुखले केही विज्ञहरुलाई सिंहदरबरमा बोलाएर छलफल तथा परामर्श गर्नुभए पनि बैठक आन्तरिक भएकाले थप विषय प्रष्ट पार्न नसकिने बताउनुभयो । सरकारले चालेको पछिल्लो कदम र समाधानको उपायबारेमा सभामुख सापकोटाले कानुनका विज्ञहरुसँग छलफल गर्नुभएको हो ।

प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक : कांग्रेस बोलायो सर्वदलीय बैठक

प्रतिनिधिसभा विघटन गरी मध्यावधि घोषणा भएपछिको अवस्थाका विषयमा छलफल गर्न कांग्रेसले सोमबार सर्वदलीय बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले सोमबार अपराह्न ४ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रतिनिधिसभा विघटन भएपछिको अवस्थाका विषयमा आइतबार साँझ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित कांग्रेस र जसपाका शीर्ष नेताहरूले अनौपचारिक छलफल गरेका छन् ।

बैठकले प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र जनताको पछिल्लो जनादेशको उल्लंघन भएको ठहर गरेको छ । छलफलमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाण, सांसद डा. मीनेन्द्र रिजाल र नेता रमेश लेखक थिए ।

छलफलका लागि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पनि कांग्रेस संसदीय दलको कार्यालयमा पुगेका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता देव गुरुङ पनि छलफलमा सहभागी थिए ।

यस्तै, जसपाका तर्फबाट राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराई , नेता राजेन्द्र महताे र जितेन्द्र सोनल सहभागी थिए । छलफलले सरकारको असंवैधानिक कदमका विरुद्ध सबै दलहरूबीच सहकार्य गर्दै अघि बढ्ने निष्कर्ष निकालेको कांग्रेसका प्रमुख सचेतक खाणले जानकारी दिए । यसबारे थप छलफल गर्न कांग्रेसकै समन्वयमा सोमबार अपराह्न ४ बजे कांग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बस्ने भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter