अदालतले संसद विघटनबारे जस्तोसुकै निर्णय गरे पनि कांग्रेसलाई मान्य हुन्छः देउवा

भक्तपुर, पुस १३ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका बारेमा अदालतले गरेको जस्तोसुकै निर्णय पनि कांग्रेसलाई मान्य हुने बताउनुभएको छ । कांग्रेस भक्तपुर क्षेत्र नं २ ले मध्यपुरथिमि शङ्खधर चोकमा आज आयोजना गरेको विरोधसभामा उहाँले स्वतन्त्र निकाय अदालतले जस्तोसुकै निर्णय गरे पनि कांग्रेसलाई मान्य हुने स्पष्ट गर्नुभयो ।

“सरकारको कदम गलत छ, सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा छ, अदालत स्वतन्त्र निकाय भएकाले त्यहाँबाट पक्षविपक्षमा जस्तो निर्णय आए पनि कांग्रेसलाई मान्य हुनेछ”, पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, “अदालतलाई यस्तो निर्णय गर भनेर तर्साउने र धम्क्याउने काम कांग्रेसले गर्दैन, कांग्रेस अदालतको निर्णय मान्ने पार्टी हो, त्यसैले उसले जस्तो निर्णय गरे पनि मान्छ ।”

अप्ठ्यारो पर्दा अन्तिममा जाने ठाउँ भनेकै न्यायालय भएकाले उसको निर्णय पर्खेर बसेको उहाँको भनाइ थियो । कांग्रेस पञ्चायती व्यवस्थामा पनि अदालतको निर्णय मान्ने पार्टी भएको जनाउँदै उहाँले निर्वाचन भएमा कसैसँग मिलेर नगई कांग्रेसले एक्लै चुनाव लड्ने बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “चुनावमा अरूसँग मिलेर गएको फल पाइसक्यौँ, अबको चुनावमा कसैसँग मिल्दैनाँै, कांग्रेस एक्लै चुनावमा जान्छ, एक्लै जाँदा हाम्रो शक्तिको कति छ भन्ने आकलन पनि हुन्छ, जनतालाई आफ्नो धारणा राख्न सजिलो हुन्छ ।”

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, कांग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति जीवन खत्री र २ का सभापति नारायण खायमली, मध्यपुरथिमि नगर सभापति सुरेन्द्र श्रेष्ठलगायतले सरकारको कदमविरुद्ध प्रदर्शन जारी राखिने बताउनुभयो । सभाअघि थिमिको राधेरोडबाट विरोध प्रदर्शन शुरु भएको थियो ।

अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नेमा विश्वस्त छौँ: वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताउनुभएको छ । काँग्रेस तनहुँ क्षेत्र नम्बर २ ले आज भीमादमा आयोजना गरेको विरोधसभालाई सम्बोधनका क्रममा वरिष्ठ नेता पौडेलले सरकारले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको र अदालतले त्यसलाई सच्याउने विश्वास व्यक्त गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, “सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ ।” मुलुकलाई सङ्कटबाट बचाउन पनि प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्ने उहाँको जिकिर थियो ।

नेपाल कम्युनिष्ट पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् भएको पौडेलको भनाइ थियो । “संविधानमा संसद् विघटनको व्यवस्था नै छैन, व्यवस्थामा नै नभएको कुरा सरकारले गरेको छ”, उहाँले भन्नुभयो, “संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको छ ।”
सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेसमा केही कमजोरी रहे पनि दवावपूर्ण आन्दोलन गर्न सके मात्र लोकतन्त्र बच्ने बताउनुभयो । प्रतिनिधिसभा विघटनको विरोध गर्दै काँग्रेस तनहुँले आज दुई निर्वाचन क्षेत्रमा विरोधसभा गरेको थियो । तनहुँ – १ को दमौली र २ को भीमादमा भएको सभालाई वरिष्ठ नेता पौडेलले सम्बोधन गर्नुभएको थियो ।

केपी ओली श्री ३ महाराज बन्ने बाटोमा : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले असंवैधानिक तवरबाट विघटित प्रतिनिधिसभा तत्काल सुचारु गर्ने आदेश दिने विश्वास व्यक्त गरेका छन्। जनसांस्कृतिक महासंघ नेपालले काठामाडौंमा आयोजना गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अदालतबाट आफूहरुको पक्षमा आदेश दिने विश्वास व्यक्त गरेका हुन्।

‘मलाई विश्वास छ, अदालतले संसद सुचारु गर्न आदेश दिनेछ,’ उनले भने,‘यति सामान्य कुरा अदालतले बुझ्दैन भने अदालतको सम्मानप्रति अपमान हुन्छ।’

उनले संसद विघटन नभएको बरु केपी ओली नेतृत्वको सरकार विघटित भएको दाबी गरे। संविधानले यति सजिलै संसद विघटन गर्ने परिकल्पना नगरेको उनको भनाई छ। ‘सदन मरेको छैन, सदन जीवित छ,’ उनले भने, विघटित भएको ओली सरकार हो।’

प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावनामाथि निर्मम र क्रुर ढङ्गले प्रहार गरेको प्रचण्डको दाबी छ। ‘नेपाली जनताको बलिदानी र सङ्घर्षबाट प्राप्त भएको सार्वभौम अधिकारमाथि प्रहार भएको छ,’ उनले भने,‘पौने तीन करोड जनताको भावनामाथि निर्मम ढङ्गले प्रहार भएको छ।’

केपी ओलीश्री ३ महाराज बन्ने जंगे बाटोमा हिँडे
प्रचण्डले प्रधानमन्त्री ओली सामन्ती शासकहरुको जंगे बाटोमा हिँडेको समेत आरोप लगाए। ‘केपी ओली सामन्ती शासकहरुको श्री ३ महाराजधिराज बन्ने जंगे बाटोमा हिँडे।’ उनले भने,‘हाम्रो विजय भइसक्यो।’

केपी ओलीले कलङ्कको टीका लगाए
असंवैधानिक कमद चालेर प्रधानमन्त्री ओलीले कलङ्कको टीका लगाएको प्रचण्डको आरोप छ। ‘ओली पराजित हुनुभयो। हाम्रो विजयको अभियान सुरु भयो,’ उनले भने,‘ओलीले कलङ्को टीका लगाए। हामीहरु संविधान, जनता र लोकतन्त्रको पक्षमा छौं।’

साथै उनले आफूहरु सडकमा पुगेको नभई जनताको साथमा गएको पनि दाबी गरे। ‘हामी सडकमा पुगेका होइनौं। मलाई के लाग्छ भने हामी जनताको साथमा पुगेका हौं।’

केपी ओलीले हारे, हामीले बाजी जितिसक्यौं

असंवैधानिक कदम चालेपछि प्रधानमन्त्री ओलीले बाजी हारेको प्रचण्डको जिकिर छ। ‘केपी ओलीले बाजी हारे, हामीले बाजी जित्यौं,’ उनले भने, ‘ओलीले हामीलाई जनताको पक्षमा लड्ने योद्धा बनाइदिनुभो। ओलीजी धन्यवाद तपाईंले हामीलाई जनतामा जाने मुद्दा दिनुभयो।’आफूहरु अब संविधान, जनता र लोकतन्त्रको पक्षमा लड्ने उनको दाबी छ।

अर्को प्रसंगमा उनले पूर्वमाओवादीबाट ओलीतर्फ गएकाहरु फेरि आउने दाबी गरे। ‘उहाँहरु विगतमा पनि जाने गर्नुहुन्थ्यो, फेरि पनि जानुभयो। यसमा आश्चर्य मान्नुपर्ने केही छैन,’ उनले भने,‘मलाई के विश्वास छ भने उहाँहरु आगामी वैशाखमा हामी भएकै ठाँउमा आउनुहुनेछ।’

सम्बोधनका क्रममा उनले गत वर्षको स्थायी कमिटी बैठकमा आफ्नो कुर्सी पछाडि सारेको विषयको चर्चा गरेका थिए।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter