लोकतन्त्रको रक्षा गर्न पछिल्लो कदम चालेको हुँ : प्रधानमन्त्री ओली

लक्की चौधरी / काठमाडौं, पुस १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि र राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेपछि लोकतन्त्रको रक्षा गर्न आफूले बाध्य भएर पछिल्लो कदम चालेको प्रष्ट पार्नुभएको छ ।

संसद पुनः पना गर्न संविधानले मिल्दैन, त्यो सपना नदेख्न अध्यक्ष ओलीले आग्रह गर्नुभयो । “अब नयाँ सरकार बन्ने पनि विकल्प छैन, संसद पुनःस्थापना पनि विकल्प छैन” उहाँले भन्नुभयो । नयाँ निर्वाचन भएमात्र त्यो सम्भव हुने बताउनुभयो । संविधानको धारा ७६ अनुसार आफूले प्रतिनिधिसभा विघटन गरेको बताउनुहुँदै उहाँले आफ्नो कदम असंवैधानिक नभएको प्रष्ट पार्नुभयो ।

नेकपा उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेश स्तरीय बुधबार आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री ओली सो कुरा बताउनुभयो । लोकतान्त्रिक गणतन्त्र विचार टुङ्गो लगाएर आफूहरु अघि बढेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले मुलुकको लोकतन्त्रलाई खतरामा पर्न नदिइने प्रतिबद्धता जनाउनुभयो । सामाजिक न्यायसहितको लोकतन्त्र, सुशासन र आर्थिक विकासकै बाटोमा लोकतन्त्र जानुपर्छ उहाँले भन्नुभयो ।

सुदूरपश्चिमले विकासको पथ समातिसकेको बताउनुहुँदै अध्यक्ष ओलीले त्यहाँको विकासकै लागि आफ्नो नेतृत्वको सरकारमा चारजना मन्त्री बनाएको प्रष्ट पार्नुभयो । “विकासको, अग्रगमनको डुङ्गा अघि बढ्यो, अब प्रचण्ड–माधव समूह पछाडि छुट्यो” उहाँले भन्नुभयो, “केही समय डुङ्गा समातेर मलाई अल्झाउनुभयो, अल्झाउन खोज्नुभयो तर अब हामी अगाडि बढ्यौं ।”

“म विमारी पर्नासाथ अब मरिहाल्छ भने म मरिनँ, अहिले वैशाखसम्म मात्र आयु हो भनिरहेका छन्, यो भविष्यबाणी पनि मिल्दैन, हेर्नुहोला ।” एकातिर चुनाव हुँदै हुँदैन भन्नुहुन्छ, अर्कोतिर वैशाखपछि ओलीको पत्तासाफ हुन्छ भन्नुहुन्छ, कुरा कहाँ मिल्यो ? अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो ।

उद्योगमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्टले राजनीतिक वैचारिक विचलन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा देखिएको बताउनुभयो । पार्टी एकताको नाममा सिङ्गो नेकपा (माओवादी केन्द्रं) लाई एकताको नाममा तत्कालीन नेकपा (एमाले) सँग मिलाएर अहिले वैचारिक विचलनकै कारण अलग हुनुभएको नेता भट्टले टिप्पणी गर्नुभयो ।

“अध्यक्ष प्रचण्ड क्रमभङ्गताको नाममा मुलुकमा महाविपत्ति ल्याउने गरेका छन्, अहिले फेरि त्यही गरिरहनुभएको छ” नेता भट्टले भन्नुभयो, “पार्टी एकता भएर कार्यकारी अध्यक्षको जिम्मेवारीमा आउँदा पनि अध्यक्ष प्रचण्डले जनयुद्धका घाइते र पीडितको पक्षमा कहिल्यै बोल्नुभएन, केवल आफ्नो कुर्सी र सम्मानको मात्र ख्याल गर्नुभयो ।” अध्यक्ष प्रचण्ड देशको नेता नभएर स्वार्थको नेता भएको उहाँले टिप्पणी गर्नुभयो । प्रचण्ड–माधव पक्ष पद र स्वार्थका लागि मात्र केन्द्रित भएकाले त्यो पक्षमा गएर देश र जनताको भलाइ नहुने उहाँले बताउनुभयो ।

प्रचण्ड–माधव समूहलाई जनादेशमा जाने आँट नरहेको टिप्पणी गर्नुहुँदै नेता भट्टले जनादेशबेगर पद पाउने अध्यक्ष प्रचण्डलाई बानी परेको बताउनुभयो । दुई ठाउँबाट हारेका नेता माधवकुमार नेपाललाई त्यतिबेला प्रधानमन्त्री बनाएर प्रचण्डले जनमतको अपमान गरिसकेकोले अहिले जनमतको सम्मान गर्ने कुरा गर्नु हास्यास्पद भएको बताउनुभयो । “अझै केही विग्रेको छैन, आत्मआलोचित भएर आउनुस् र नयाँ जनादेशमा जाउँ, तपाईहरुलाई स्वागत गर्न हामी तयार छौं” नेता भट्टले भन्नुभयो ।

नेकपा सुदूरपश्चिम अध्यक्ष कर्णबहादुर थापाले सुदूरपश्चिमका नौ जिल्लाको अधिकांश जिल्लामा अहिले ओली पक्षको बहुमत रहेको बताउनुभयो । आफूहरु मुलुकको एकता, राष्ट्रियता, सामाजिक न्याय र विधिको पक्षमा उभिएको नेता थापाले बताउनुभयो ।

बबरमहलस्थित कार्की बैङ्क्वीटमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यहरु निरुदेवी पाल, गौरीशंकर चौधरी, राजेन्द्रसिंह ठगुन्ना, कृष्णप्रसाद जैशी, प्रेम आले, अफिलाल ओखेडालगायतले धारणा राख्नुभएको थियो । दिउँसो १२ बजेका लागि बोलाइएको भेलामा अध्यक्ष ओली तीन घण्टा ढिलोगरी ३ बजे भेलामा पुग्नुभएको थियो । सो अवसरमा अनरास्ववियू छैठौंका उपाध्यक्ष रामप्रसाद जैसीलाई अध्यक्ष ओलीले पार्टी प्रवेश गराउनुभयो । जैशी कञ्चनपुर बेलौरीका स्थायी बासिन्दा हुनुहुन्छ

निर्वाचन तोकिएकै मितिमा हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घोषणा गरेको निर्वाचन समयमा हुने प्रष्ट पार्नुभएको छ । सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेपछि दलका नेताहरुले त्यसमाथि अनेक टिप्पणी हुन थालेपछि प्रधानमन्त्री ओलीले सो कुराको प्रष्ट पार्नुभएको हो ।

अवको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुन्छ भन्नुहुँदै उहाँले भन्नुभयो, “अबको निर्वाचनमा बत्ति निभाउन पाइइने छैन, मतपत्र च्यात्न पाइने छैन, बक्सा सात्न पाइँदैन, आउनुस निर्वाचनमा भाग लिन, नडराउनुहोस् ।” बबुल रोपेर सन्तुला खोज्ने प्रबृत्ति त्याग्न उहाँले प्रचण्डप–माधवक्षलाई आग्रह गर्नुभयो । प्रचण्ड–माधव समूहले मलाई नेकपाको सदस्यता दिएको हो र पार्टीबाट निष्काशन गर्ने ? अध्यक्ष ओलीले भन्नुभयो, “ उहाँहरु अहिले जति फुरफुर्र गरेपनि उहाँहरुको समाप्ती अगामी निर्वाचनबाट हुन्छ ।” प्रतिस्पर्धा गर्न डराउनेहरुले ‘ओली तानाशाह हो’ भन्न सुहाउँदैन प्रधानमन्त्री ओलीले भन्नुभयो, “

के निर्वाचन गर्नु लोकतन्त्र विरोधी कदम हो ? गणतन्त्रको विपक्षमा हो ? सामाजिक न्यायको विरुद्धमा हो ?” अब दौड प्रतियोगिता गरेर कोही प्रधानमन्त्री बन्दैन भन्नुहुँदै प्रधानमन्त्री बन्ने भए निर्वाचनमा आउन प्रचण्ड–माधव पक्षलाई आग्रह गर्नुभयो । अब चुनाव हारेका मान्छे ‘पोलजम्प’ गरेर प्रधानमन्त्री बन्न नपाइने टिप्पणी गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “झुठा आरोपपत्रको पुलिन्दा पेश गरेर अब जनता झुक्याउन सकिदैन, सबैलाई सबै कुरा थाहा छ ।”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter