जुत्ता बनाउने सीप सिक्दै, आत्मनिर्भर बन्दै गृहिणी

केदार तिमल्सिना / बनेपा, पुस २२ गते । पनौती नगरपालिका–३ कुशादेवीकी सरस्वती सापकोटालाई विगत दश दिनदेखि भ्याइनभ्याइ नै छ । उहाँ बिहानको खाना चाँडै खाएर घरधन्दा सकेर जुत्ता बनाउने तालिममा सहभागी हुनुहुन्छ । सरस्वती जस्तै पनौती नगरपालिका–४ की पुष्पा श्रेष्ठलाई पनि आजभोलि भ्याइनभ्याई नै छ । उहाँ पनि बिहान खाना खाएर घरको सबै काम सकेर जुत्ता बनाउने तालिममा सहभागी हुनुहुन्छ ।

‘खाना खाएर त्यतिकै घरमा बस्नुभन्दा गृहिणी महिलाहरुलाई लक्षित गर्दै सञ्चालन भएको जुत्ता बनाउने तालिममा सहभागी भएर केही सीप सिकौँ भन्ने सोच बोकेर तालिममा सहभागी भएँ’ सरस्वतीले भन्नुभयो । उहाँले घरमा त्यतिकै बस्नुभन्दा सीप सिक्नु राम्रो भएको बताउनुभयो ।

‘पन्ध्र दिने जुत्ता बनाउने आधारभूत तालिम सकिएपछि एक जना साथीसँग मिलेर आफै व्यवसाय सञ्चालन गर्ने सोच बनाएको छु, मेरो सोचमा घरपरिवारको पनि सहयोग छ’ उहाँले थप्नुभयो–‘एउटा मेसिन र आवश्यक सामग्री भएको खण्डमा घरमा नै बसेर काम गर्न सकिन्छ’ । व्यवसाय सञ्चालन गरेर केही रकम आम्दानी गरी आत्मनिर्भर बन्ने सरस्वतीले लक्ष्य लिनुभएको छ ।

‘बिहान, बेलुकाको घरको काम सकेर फुर्सदको समयमा पनि जुत्ता बनाउने काम गर्न सकिने भएकोले तालिम लिएपछि एकलौटी रुपमा व्यवसाय गर्ने सोच बनाएको छ्ु’ तालिममा सहभागी पुष्पा श्रेष्ठले भन्नुभयो ।

उहाँले पहिलादेखि नै महिलाहरुले लगाउने विभिन्न क्लोज सुज बनाउने तालिम लिने आफ्नो इच्छा भएको र उक्त इच्छा अहिले पूरा भएको बताउनुभयो । ‘म महिलाहरुले बोक्ने ह्याण्ड ब्याग र पर्स बनाउने कामसमेत गर्दै आएकी छु, अब जुत्ता बनाउने काम पनि सँगसँगै लैजाने हो’ पुष्पाले थप्नुभयो । उहाँले पनौती तथा आसपासको बजारमा महिलाले लगाउने क्लोज सुज तथा ह्याण्ड ब्यागको राम्रो माग रहेको बताउनुभयाे ।

पनौतीमा रहेको काभ्रे अङ्ग्रेजी बिद्यालयबाट कक्षा १२ को परिक्षा दिएर बस्नु भएकी पनौती नगरपालिका–७ की कृति मानन्धरले दैनिक जीवनमा जुत्ताको प्रयोग हुने भएकोले परिक्षा दिएर बचेको खाली समयको सदुपयोग गर्न र केही सीप सिकौँ भन्ने उद्देश्यले तालिममा सहभागी भएको बताउनुभयो ।

उहाँले तालिममा आएपछि समूहमा कसरी बोल्ने, कस्तो व्यहार गर्नुपर्छ र नयाँ नयाँ साथीसँग सम्बन्ध बिस्तार भएको बताउनुभयो । ‘सीप सिक्नु राम्रो हो, तालिम अघि जुत्ताको बारेमा ज्ञामन नभएको म अहिले जुत्ताको कटिङ गर्ने, जुत्तामा बुट्टा बनाउने, सितारा भर्ने तथा सिलाउन जान्ने भएकी छु’ कृतिले थप्नु्भयो ।

गृहणी महिलाहरुलाई सिपको माध्यमबाट सशक्तिकरण गरी उहाँहरुको आर्थिक अवस्था बलियो बनाउने उद्देश्यले युएन ओमनको आर्थिक सहयोगमा सवा नेपाल नामक गैह्र सरकारी संस्थाले सो तालिम सञ्चालन गरेका पनौती क्लष्टर संयोजक गीता तिमल्सिना (दाहाल) ले जानकारी दिनुभयो । उहाँले पनौतीमा ४४ जना महिलालाई जुत्ता बनाउने तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले सेवा नेपालमार्फत अहिले २२ गृहिणी महिलालाई कटाइसिलाइको डिजाइन काेर्स तालिम, २२ महिलालाई उद्यशीलता तालिम, ३५ महिलालाई ह्याण्ड ब्याग बनाउने र ४४ जनालाई कृषि तालिम तथा अचार बनाउने तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले तालिम लिएर व्यवसाय गर्न चाहने गृहिणी महिला तथा समूहलाई संस्था दर्ता गर्न समेत संस्थाले सहयोग गरेको बताउनुभयो ।

तिमल्सिनाले हालसम्म दुई वटा कृषि फर्म दर्ता, जुत्ता बनाउने एउटा, सेनिटाइजर र झोल साबुन बनाउने एक र एउटा सिलाई उद्योग दर्तामा संस्थाले सहयोग गरेको बताउनुभयो । उहाँले सवा नेपालले काभ्रेमा ६५० जना गृहणी महिलाहरुलाई विभिन्न सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने लक्ष्य अनुरुप तालिम प्रदान गरेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter