२२० केभी क्षमताको खुर्कोट सबस्टेशन चार्ज शुरु

पर्वत, माघ ९ गते । नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सबस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु भएको छ । सबस्टेशनमा जडान भएका उपकरण र प्रसारण लाइन चार्जका लागि गए राति १० बजेदेखि परीक्षण शुरु गरेको कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाले जनाएको छ ।

आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले भौतिक संरचना निर्माण र आन्तरिक परीक्षण सकेर सवस्टेशन चार्ज शुरु गरेको जानकारी दिनुभयो । सबस्टेशन चार्जको परीक्षण अवधि २४ घण्टाको हुने भएको छ । पर्वतको मोदी–चुवा हुँदै खुर्कोटसम्म १३२ केभी विद्युत् ल्याएर सबस्टेशनको टान्सफर्मर चार्ज शुरु गरिएको हो ।

आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयाँलले खुर्कोटको सवस्टेशनको परीक्षण सफल र ट्रान्सफर्मर चार्ज भएपछि म्याग्दीको दाना सबस्टेशन चार्जको प्रक्रिया अघि बढाइने बताउनुभयो । स्थानीय आयोजनाबाट उत्पादित विद्युत् कम क्षमताको भएकाले पर्वतको मोदी–चुवा–खुर्कोट हुँदै दाना सवस्टेशनमा लाइन जोडेर चार्ज गर्न लागिएको हो ।

दाना सबस्टेशनअन्तर्गत पाँच मेगावाट क्षमताको घलेम्दी खोला र १३.४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना चालु छन् । बयालीस मेगावाट क्षमताको मिस्ट्रिखोला परीक्षण उत्पादनको तयारीमा छ । सबस्टेशनको ट्रान्सफर्मर चार्ज र परीक्षण सफल भएपछि केन्द्रीय ग्रिडमा जोडिने आयोजनाले जनाएको छ ।

सबस्टेशन चार्ज गर्नका लागि आयोजनाका कर्मचारी गए राति १० बजेसम्म खुर्कोटमा बसेर काम गर्नुभएको थियो । खुर्कोटस्थित सबस्टेशन चार्जमा उपस्थित हुनुभएका नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका निर्देशक तारा प्रधानले सबस्टेशन चार्ज प्रसारण लाइनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले खुर्कोट सबस्टेशनको परीक्षण सफल भएकामा खुशी व्यक्त गर्दै त्यहाँबाट दाना सबस्टेशनसम्म १३२ केभी लाइनबाट विद्युत् पठाएर त्यहाँको ट्रान्सफर्मर पनि चार्ज गर्ने तयारी भएको बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा सबस्टेशन तथा दुई ठाउँ जोड्ने ३९.६ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको छ । एक सय १० वटा टावर निर्माण भएको छ । खुर्कोटदेखि पर्वतको कुश्मा नगरपालिका–८ चुवामा निर्माण भएको १३२ केभी क्षमताको सबस्टेशन जोड्ने छ किलोमिटर लामो प्रसारण लाइनको परीक्षण सफल भइसकेको छ ।

म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न एशियाली विकास बैंकको सहयोगमा प्रसारण लाइनका साथै दाना र खुर्कोटमा सबस्टेशन निर्माण भएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताउनुभयो । प्रसारण लाइन र सवस्टेशन बनाउन सन् २०१६ मा रु दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter