बन्चरेडाँडामा फागुन अन्तिम सातादेखि फोहर विसर्जन गर्न सकिने

शर्मिला पाठक / काठमाडौँ, फागुन १ गते । यही फागुन अन्तिम सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ । शहरी विकास मन्त्रालयल र शहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार गरेको स्थलगत अनुगमनका क्रममा निर्माण कम्पनीले यही फागुन अन्तिम सातासम्ममा निर्माणाधीनस्थलमा फोहर विसर्जन गर्न सकिने जानकारी दिएको हो ।

पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले कामको प्रकृति हेरी फागुन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको फोहर दीर्घकालीनरूपमा व्यवस्थापन गर्न सकिने बताएको छ । अनुमगनका क्रममा शहरी विकासमन्त्री प्रभु साहले पहिलो चरणको काम तेस्रो सातासम्ममा सक्न र अन्तिम साताबाट फोहर विसर्जन गर्न सक्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ ।

सरकारले आवश्यक सबै पूर्वाधार र बजेट व्यवस्थापन गरेकाले अब पनि बहानाबाजी गर्ने छुट कसैलाई नभएको बताउँदै मन्त्री साहले काममा ढिलाइ भए सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई कारवाही गर्ने चेतावनीसमेत दिनुभएको छ ।

दीर्घकालीन योजनासहित सरकारले स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणको काम गरिरहेको भन्दै सोही मन्त्रालयका राज्यमन्त्री रामवीर मानन्धरले निर्माण सम्पनपछि उपत्यकावासीलाई कम्तीमा ५० वर्षका लागि ढुक्क हुने भन्दै छिट्टै निर्माणको काम सम्पन्न गर्न आग्रह गर्नुभयो ।

मन्त्री मानन्धरले उपत्यकाको जीवनसँग जोडिएको ल्याण्डफिल्ड साइट निर्माणमा कुनै अवरोध नरहेको बताउँदै स्थानीय जनताको जनगुनासो पनि सम्बोधन गरिने प्रतिबद्वता जनाउनुभयो । अहिलेसम्ममा पहिलो चरणको काम ९० प्रतिशत सकिएको छ भने बाँकी कामका लागि पनि कानूनी प्रक्रिया पूरा गरी काम अघि बढाउनका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दबाडीले जानकारी दिनुभयो ।

केही समय कोरोना भाइरसका कारण काम हुन नसकेको र निर्माण कम्पनीको आलटालका कारण काम नभए पनि अहिले काम तीव्रगतिमा भइरहेको प्रवक्ता दबाडीको भनाइ छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्दछ । काठमाडौँ महानगरपलिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णयअनुरुप उक्त जिम्मेवारी पाएको हो । उक्त स्थानमा करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माणको हुने छ ।

बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । निर्माणका लागि भ्याटबाहेक रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ मा सम्झौता भएको थियो । निर्णयअनुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विसर्जनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिएअनुरुप उक्त काम अहिले सम्पन्न भइसकेको छ । शहरी विकास तथा भवन निर्माण विभागले भने दीर्घकालीनरूपमा फोहर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहरलाई स्रोतबाट नै पहिचान गर्नुपर्ने जनाएको छ ।

तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । अव्यवस्थितरूपमा लामो समयदेखि एकै स्थानमा फोहर विसर्जन गर्दा समस्या आएपछि स्थानीयवासीले व्यवस्थितरूपमा फोहर व्यवस्थापनस्थलको खोजी गर्न आग्रह गर्दै विरोध गर्दै आएका छन् ।

उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । जसमा सबैभन्दा बढी कामपाबाट करिब ६०० मेट्रिक टन फोहर निस्कने गरेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी २०० गाडी फोहर लगिने गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter