माटो निकालेर फेवातालको आयु लम्ब्याउने जुटे स्थानीय

जमुना वर्षा शर्मा / पोखरा, फागुन २ गते । पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदैछ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ । पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर तालको आयु बढाउनुपर्ने विषय सम्पदा संरक्षणकर्मी, स्थानीय एवं पर्यटन व्यवसायीको चासो र चर्चामा छ ।

तालको सिरान क्षेत्रबाट बगेर आएको ढुङ्गा माटो (ग्रेगान)कारण तालको आयु घट्दै गएको जनाउँदै यसअघि पनि समयसमयमा माटो निकाल्नुपर्छ भन्ने विषयमा कुरा उठ्दै आइरहेको थियो । सम्पदा संरक्षण अधिकारकर्मी रामबहादुर पौडेलले तालको पानी घटाइएकाले थुप्रिएका माटो निकाल्न उपयुक्त समय भएको बताउनुहुन्छ । “फेवाताल पोखराको गहना हो, तालको आयुलाई बढाउन यसरी थुप्रिएको माटोलाई समयमै निकालेर फाल्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले यस विषयसम्बन्धी निकायको ध्यानाकषर्ण गरेर नागरिकस्तरबाट पनि माटो फाल्नका लागि पहल गरिने उहाँले जानकारी दिनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पनि तालको सौन्दर्यअभिवृद्धि लागि अहिले तालमा बगेर आएको माटोलाई फाल्नुपर्ने धारणा राख्नहुन्छ । “अहिले सही समय हो जनस्तरबाट पनि माटो फाल्नुपर्छ भन्ने कुरा आएको छ, हामी पनि त्यस कुरामा साथ दिन तयार छौँ”, उहाँले भन्नुभयो । उहाँले अहिले फेवाताल वरिपरि रहेको फोेहर मैला व्यवस्थापन गर्ने, फेवातालभित्र रहेको मलिलो माटो झिकेर सही सदुपयोग गर्ने र ताललाई फराकिलो बनाएर थप सौन्दर्यकरण गर्न पोखरा महानगरपालिकालाई समन्वयनका लागि आग्रहसमेत गरिएको बताउनुभयो ।

पोखरा महानगपालिका प्रमुख मानबहादुर जिसीले फेवातालको माटो निकाल्ने विषयमा विज्ञको रायसुझाव लिएर मात्र निर्णय गरिने जानकारी दिनुभयो । “अहिले बाँध निर्माणका लागि फेवातालको पानी घटाइएको छ, सिरानबाट आएका ग्रेगानले तालको लगभग नौ मिटर पुरिसकेको अवस्था रहेकाले यसलाई निकै चासोका रुपमा महानगरले लिएको छ”, उहाँले भन्नुभयो ।

उहाँले तालको माटोलाई कसरी निकाल्न सकिन्छ र कहाँ व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे पहिला सरोकारवाला विज्ञसँग परामर्श गरेर अघि बढ्ने बताउनुभयो । “फेवातालले लामो समयदेखि आफ्नो आकार बनाएको छ, माटो फाल्दा ताल सुक्ने पो हो कि ? माटो अध्ययन नगरी डोजर लगाउन भएन, माटो फाल्दा पोखरी सुकेका धेरै उदाहरण छ”, उहाँले थप्नुभयो, “यो बेलामा माटो झिक्न कति बजेट लाग्छ, कहाँ व्यवस्थापन गर्ने, सबै अध्ययन र योजना बनाएर मात्र काम थालनी हुन्छ ।” बाँध बनाउन डेढ दुई महिना लाग्ने भएकाले तत्काल फालिहाल्नु पर्छ भनेर दबाबले मात्र नभई ग्रेगान निकाल्दा जलचर र ताललाई कम असर हुने उपायको खोजीबाट अघि बढ्ने उहाँले जानकारी दिनुभयो । तालको आयु दिनप्रति घटिरहेको अवस्थामा तालको आयु बढाउन सरोकारवालासँग छलफल गरिने उहाँको भनाइ छ ।

ताल संरक्षण तथा प्राधिकरणका प्रमुख अनुप गुरुङले तालको फोहर व्यवस्थापन र तालमा थुप्रिएको माटो निकाल्न अहिले उपयुक्त समय रहेको बताउनुभयो । “अहिले सही समय देखिएको छ, यसबारेमा महानगरले विज्ञको राय सल्लाह लिएर अघि बढ्दा राम्रो हुन्छ । महानगसँग समन्वय गरेर सुकिसकेको माटो निकाल्न मिल्छ”, उहाँले भन्नुभयो । महानगरबाटै यसको अगुवाइ गर्नुपर्ने उहाँको भनाइ छ ।

वन विज्ञान अध्ययन संस्थानका पोखराका प्राध्यापक राजन सुवेदी यतिबेला ताल छेउमा देखिएका फोहर र थुप्रिएको माटो निकाल्न सहज हुने बताउनुहुन्छ । उहाँले पानीको सतह घटाउँदा जलचरलाई एक किसिमको असर परिसकेको र अब माटो निकाल्दा कम क्षति हुने तरिकाबाट निकाल्न सकिने बताउनुभयो । “अहिले नै जलचरलाई असर त परिसकेको छ ,अब वरिपरिको फोहर व्यवस्थापन र माटो निकाल्दा कम क्षति हुने गरेर सफा गर्न सकिन्छ”, जलाधार विज्ञ उहाँले भन्नुभयो । उहाँले थुप्रिएको माटोको गहिराइसम्म नभई केही माथिबाट माटो निकाल्दा धेरै असर नपर्ने बताउनुभयो । “क्ले सोइल भयो भन पानी रहन्छ नत्र बलौटे माटोले पानी सोस्छ, फेवातालको भू–बनोट हेर्दा धेरै पहिले देखिको माटो थिग्रिएको छ अहिले दुई÷चार मिटर मात्रै निकाल्न सके पनि तालको आयु बढाउन सकिन्छ ।” उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले भावनामा बगेरभन्दा पनि तथ्यको विश्लेषण गरेर काम गर्नुपर्ने बताउनुहुन्छ । “सिमसार र तालको एकल अधिकार सङ्घलाई छ, प्रदेशको गहनाका रुपमा रहेको तालको सौन्दर्यअभिवृद्धिका विषयमा धेरै कुरा उठेका छन् । हामीले हाम्रो क्षेत्राधिकारभित्रको सिमाङ्कनका विषयलाई तीव्ररुपमा काम गरेका छौँ यसै वर्ष यो टुङ्गो लाग्छ, अब यसको संरक्षण व्यवस्थापन स्थानीय तहको हो, समन्वय गरेरर ठोस धारणासहित अघि बढ्न सकिन्छ”, उहाँले भन्नुभयो । उहाँले प्राकृतिक सम्पदाको संरक्षण र सौन्दर्यीकरणका लागि विज्ञको राय सुझाव र दीर्घकालीन हितका लागि काम गर्नुपर्ने भएकाले लहडको भरमा नभई विज्ञको सल्लाह लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

विसं २०१८ मा बाँँँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । शुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसङ्घको सहयोगमा पुनःनिमाण गरिएको थियो । त्यसयता लामो समयसम्म बाँध मर्मतसम्भार हुन नसक्दा जीर्ण हुँदै गएको थियो । उक्त बाँधमा अहिले रबर शिल्ड र लञ्चिङ एप्रोन राखेर मर्मत कार्य हुँदैछ । बाँध मर्मतका लागि हाल पानीको सतह एक मिटरको घटाइएको छ, प्राविधिकको सल्लाहअनुसार आवश्यकता हेरेर पानीको सतह घटाउँदै लगिने जनाइएको छ ।

जलाधार क्षेत्रबाट वर्षेनी बगेर आउने गेग्रानले गर्दा फेवाताल पुरिँदै गएको निष्कर्षसहित फेवाताल संरक्षण अभियानअन्तर्गत पोखरा महानगरपालिका वडा नं २३ खहरे खोलामा सिल्टेसन ड्याम निर्माण गरिएको छ । प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरले पाँच ठाउँमा बाँध र पोखरीका २८ करोड ९६ लाख रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भई काम भएको हो । महानगरपालिकाले २०७७ सालमा प्रधानमन्त्रीलाई बुझाएको पछिल्लो प्रतिवेदनमा फेवातालको क्षेत्रफल (५.०८ वर्गकिलोमिटर) १० हजार रोपनी छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter