काठमाडौँ उपत्यकामा चुनौतीपूर्ण बन्दै फोहरपानी व्यवस्थापन

सञ्चिता घिमिरे / काठमाडौँ, फागुन १९ गते । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आएपछि फोहरपानी व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण हुने देखिएको छ । उपत्यकामा अहिले पनि फोहरपानी व्यवस्थापनमा समस्या आउने गरेकामा मेलम्चीको पानी आएपछि समस्या अझै बढ्ने देखिएको छ । बर्सेनि वर्षाको समयमा आकाशे पानी र धारामा आउने पानी गरी ठूलो परिमाणमा पानी हुँदा व्यवस्थापन गर्न नसकिँदा काठमाडौँ उपत्यकाका सडक जलमग्न हुने गरेको छ ।

ढलको निर्माण फरकफरक निकायबाट भएकाले पनि पर्याप्त समन्वय हुन नसकेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । विभिन्न निकायले ढल निर्माण गरेर पनि समस्या आउँदा लिमिटेडले नै त्यसको समाधान गर्ने गरेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “फरक निकायले ढल निर्माण गरेकाले पनि व्यवस्थापन गर्न गाह्रो छ ।”

मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ । वर्षामा पानीको परिमाण दोब्बर हुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । त्यस्तै लिमिटेडले आन्तरिक स्रोतबाट नौदेखि ११ करोड लिटरसम्म पानी वितरण गर्दै आएको छ । सबै गरी पानीको परिमाण बढ्दा फोहरपानीको परिमाण बढ्नु स्वभाविक भएको गुठी संस्थाका प्राविधि सल्लाहकार प्रकाश अमात्यले बताउनुभयो ।

मेलम्चीको पानी वितरणका लागि पाइपको निर्माण गरिएपनि त्यो पानीबाट निस्कने फोहरपानी व्यवस्थापन गर्न ढल नबनेको उहाँले बताउनुभयो । फोहरपानी खोलामा पुग्नु पहिले सडकमा पानी भरिएर जलमग्न हुनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेबाट नै ढल व्यवस्थापनको तयारी नगर्ने हो भने भविष्यमा ठूलो समस्या आउनसक्छ ।” फोहरपानी व्यवस्थापनमा प्राविधिक हिसाबले जम्मा खपत हुने पानीमध्ये ८० प्रतिशत पानी ढलमा फर्किएर जान्छ भन्ने मान्यता छ । त्यस हिसाबले पनि ढलमा चाप बढन्े देखिएको छ । उपत्यकाका ढल भरिने विभिन्न स्थानबाट चुहावट हुँदा फोहरपानी निस्कने र खोलामा पानीको परिमाण बढ्ने देखिएको छ ।

सरकारले विभिन्न स्थानमा फोहरपानी प्रशोधन केन्द्रको निर्माण गरे पनि पानी त्यहाँसम्म पुग्ने ढलको व्यवस्थापनमा ध्यान नदिएको पाइएको अमात्यले बताउनुभयो । गुहेश्वरीमा केन्द्र निर्माण सम्पन्न भइसकेको छ भने बालकुमारी, सल्लाघारी र सुन्दरीघाटमा निर्माणाधीन छन् । गुहेश्वरीमा केन्द्र निर्माण सम्पन्न भए पनि फोहरपानी त्यहाँसम्म पुग्न ढल पर्याप्त नभएको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “हतारमा काम गर्दा त्यसको परिणाम के हुन्छ भन्ने सोचेर नगरेको पाइन्छ ।”

ढल निर्माण एउटै निकायबाट नभएको र निर्माण गर्ने निकायबीच समन्वय नभएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । अहिलेसम्म कुन ठाउँमा कुन आकारको ढल आवश्यक छ भन्ने विचार नगरी ढल निर्माण भएको पाइन्छ । खानेपानी मन्त्रालय, लिमिटेड, शहरी विकास मन्त्रालय, स्थानीय तहलगायतले ढल निर्माण गरेको पाइन्छ ।

ढलमा फोहरपानीको परिमाण बढेपछि ढल सफा नभए मङ्गलबाट पानी निस्कने सम्भावना रहने शाक्यले बताउनुभयो । सबै निकायले आआफूले निर्माण गरेको ढल आफैँले सफा गरेमा समस्या नआउने उहाँको भनाइ छ । अरु निकायले पनि आफूले बनाएको ढल कहाँ कहाँ छ भनेर नक्सा र कुन आकारको ढल छ भनी विवरण राख्नुपर्ने उहाँको भनाइ छ । तीनले ढल आफैँ पनि सफा गर्नुपर्ने र लिमिटेडलाई पनि विवरण उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो । फोहरपानीको समस्या आएपछि मात्रै लिमिटेडलाई खोज्ने प्रवृत्ति रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ती निकायले निर्माण गरेपछि हामीलाई ड्रइङ उपलब्ध गराएमात्रै हामीलाई काम गर्न सजिलो हुनेछ ।”

मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आएपछि फोहरपानीको परिमाण बढ्न सक्ने भएकाले आवश्यक तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । लिमिटेडले ढलको समस्या आउन सक्ने सम्भावित ठाउँको पहिचान गरेर समाधानको काम अघि बढाइरहेको छ ।

दीर्घकालीन समाधानका लागि भने ढल निर्माण र व्यवस्थापनको ‘गुरुयोजना’ नै आबश्यक रहेको छ । हिउँद र वर्षा जुनसुकै समयमा ढल नियमित हुने गरी चालु अवस्थामा राख्नुपर्ने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । फरक फरक निकायले राखेकाले कतै ढल आवश्यकताभन्दा सानो त कतै ठूलो आकारको छ ।

काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन तयारी अघि बढिरहेको छ । मेलम्ची खानेपानी विकास समितिले गत साताबाट सुरुङको पुनःपरीक्षण शुरु गरेको हो । गत असारमा सुरुङको परीक्षणका क्रममा दुर्घटना भएपछि त्रुटि सच्याएर पुनः परीक्षण गरिएको हो । परीक्षण सफल हुनासाथ उपत्यकामा नियमित पानी वितरण हुनेछ । पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने बताइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter