नेपालमै पहिलो ‘रेडपाण्डा प्रजनन केन्द्र’ निर्माण अन्तिम चरणमा

प्रेम अधिकारी / पशुपतिनगर, चैत ११ गते । इलामको सन्दकपुर गाउँपालिकाको टप्पुमा नेपालमै पहिलो पटक विश्वमै दुर्लभ रेडपाण्डाको ‘प्रजनन केन्द्र’ स्थापना गरिएको छ । बिश्वमै लोप हुने अवस्थामा पुगेको रेडपाण्डा (हाब्रे)को संख्या वृद्धि गर्नका लागि सन्दकपुर गाउँपालिकाको समुन्द्र सहतबाट दुई हजार चार सय मिटर अग्लो क्षेत्र टप्पुको ४४ रोपनी जमिनामा रेडपाण्डा प्रजनन केन्द्र स्थापना गरिएको हो ।

स्थानीय माघ सामुदायिक वन, टप्पु सामुदायिक वन र पाटेनागी सामुदायिक वनको संगम स्थलमा प्रजनन केन्द्र निर्माण भएको छ । प्रजनन केन्द्र पुग्न इलाम सदरमुकाम हुँदै सन्दकपुर गाउँपालिकाको केन्द्र देउराली पुगेर ६ किलोमिटर उकालो शान्त ठाउँ टप्पुमा पुग्नुपर्दछ ।

सन्दकपुरको उच्च क्षेत्र माईपोखरी , सुलुबुङ र माईमझुवाको टप्पुमा रेडपाण्डाको बासस्थान , चरिचरन सहित प्रजनन केन्द्र स्थापना गरिएको छ । संघीय सरकारको एक करोड रुपिया लागतमा पक्की घेराबारसहित तारजाली लगाएर पाँच सय ५० मिटर क्षेत्रफललाई प्रजनन केन्द्र बनाइएको छ ।

सामुदायिक वन क्षेत्रको अन्य जमिनमा रेडपाण्डाको आहार मालिङगो, बाण्डे, भालुचिन्डे लगायतका वृक्षरोपण गरिएको छ । रेडपाण्डालाई लक्षित गरी ठाउँठाउँमा पोखरी निर्माण गरिएको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिनुभयो ।

माईस्थान निर्माण सेवाले ७३ लाख ६५ हजार पाँच सय १६ रुपियाँमा ठेक्का सम्झौता गरी काम गरिरहेको छ । जसमा गाउँपालिकाको २० लाख रुपियाँ लागत साझेदारी छ । प्रजनन केन्द्रमा भौतिक संरचना निर्माणको काम भैरहेको छ । रेडपाण्डाका लागि प्राकृतिक बास स्थानसहितका भौतिक संरचना निर्माण गर्ने काम भइरहेको प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो । प्रशासकीय अधिकृत राईले भन्नुभयो ‘देशकै नमुना रेडपाण्डा जोन निर्माण गर्ने लक्ष्य हो, हामी रेडपाण्डा अध्ययन केन्द्र बनाउनेछौं ।’

उक्त क्षेत्रमा पर्यटकीय पोखरीसहित , पर्यटक र अध्ययनकर्ताका लागि पदमार्ग निर्माणको काम समेत भैरहेको छ । रेडपाण्डालाई मानवीय आवतजावतले असर नगरोस् भनेर पदमार्ग समेत वातावरणमैत्री तरिकाले निर्माण गरिने जनाइएको छ ।

उक्त क्षेत्रमा शौचालय, बगैंचा , पार्क निर्माणसंगै विद्युतीकरणको काम समेत भैरहेको छ । रेडपाण्डा प्रजनन केन्द्र स्थापना भैसके पछि पर्यटकले रेडपाण्डा हेर्न महिनौसम्म जंगलमा बस्नु नपर्ने बताईएको छ । स्थानीय युवराज पौडेलले बिदेशी पर्यटक रेडपाण्डा हेर्न महिनौ जंगलमा बस्ने गरेको बताउदै त्यस्ता पर्यटकले अब प्रजनन केन्द्रमै रेडपाण्डा हेर्न पाउने बताउनुभयो ।

चालु आर्थिक वर्षमै प्रजनन केन्द्र निर्माणको काम सकेर उक्त प्रजनन केन्द्रमा दुई जोडी रेडपाण्डा प्रजननका लागि छोडिनेछ । १४ वर्ष आयु रहेको रेडपाण्डाले वर्षमा एक पटक प्रजजन गर्ने गरेको छ । १८ महिनाको भएपछि एक पटकमा रेड पाण्डाले दुई वटा बच्चा प्रजनन गर्ने गरेको छ । जुन, जुलाई र अगष्ट महिना रेडपाण्डाको प्रजनन समय हो ।

सन्दकपुर गाउँपालिकाको टप्पु, छिन्छापु, गोरुवाले , कालपोखरी , दोबाटे हागेथाम चोयाटार लगायतका स्थानमा लजालु प्रजातिको जन्तु रेडपाण्डा पाइन्छ । यी क्षेत्रमा गाउँपालिका र रेडपाण्डा नेटवर्क नेपाले टयापीक क्यामेरा जडान गरेर रेडपाण्डाको कलरीङ गरेको थियो ।

गणनाका क्रमममा इलाममा २ सय देखि २५० को हाराहारीमा रेडपाण्डा रहेको देखाएको छ । नेपालमै रेडपाण्डा पाउने पहिलो स्थानमा इलाम छ । गाउँपालिकाले रेडपाण्डा संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले बताउनुभयो ।

‘रेडपाण्डा संरक्षणका लागि बन जंगल लगाउने र भएकोलाई जोगाउने काम भैरहेको छ ‘गाउँपालिका अध्यक्ष राईले भन्नुभयो ।’गाउँपालिकाले टप्पु, छिन्छापु, गोरुवाले , कालपोखरी , दोबाटे जौबारी, हागेथाम चोयाटार ढापपोखरी पर्यटकीय ट्रेकिङ ट्रेल निर्माण गर्ने भएको छ । पर्यटकलाई लक्षित गरी ती क्षेत्रमा ट्रेकिङ ट्रेल निर्माण गर्न लागिएको प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो ।

भारतको सिंहलीला नेशनल पार्क नजिक रहेका कारण उक्त क्षेत्रबाट यहाँका जंगलमा रेडपाण्डा सहित विभिन्न प्रजातिका जनावर आउजाउ गर्ने गरेका छन । चोरी तस्करी बढ्न थाले पछि स्थानीयको सक्रियतामा रेडपाण्डा संरक्षणका काम हुँदै आएका छन् ।

सामुदायिक विद्यालयमा रेडपाण्डा पढाइ

विश्वमै लोपोन्मुख रहेको रेडपाण्डा (हाब्रे) संरक्षणका लागि सामुदायिक विद्यालयमा पढाइ हुँदै आएको छ । उत्तरी इलामको रेडपाण्डा पाइने क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा रेडपाण्डा संरक्षणसम्बन्धी पढाइ गतवर्षबाट शुरु भएको हो ।

इलामका ६ वटा विद्यालयका कक्षा ६ र ७ मा ऐच्छिक रुपमा वातावरण संरक्षण शिक्षा पढाइ हुँदै आएको छ । रेडपाण्डा नेटवर्क नेपालले इलामसहित पाँचथर र ताप्लेजुङ जिल्लाका उच्च क्षेत्रमा पाठ्यक्रम तयार गरी पठनपाठन गराइरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter