सामुदायिक पर्यटनको उदाहरण ‘खोपारा–खयर भारानी’

कमल खत्री / बेनी, चैत १७ गते । एकै ठाउँमा गुजमुज्ज मिलेको पाउद्वार गाउँ । गाउँको शिरमा छ जङ्गल र पहाड । जहाँ अन्नपूर्ण गाउँपालिका–५ वडामा पर्ने पाउद्वार गाउँका बाक्लै गोठ थिए । तल्लो भागमा गाईगोठ, खोपारा (खोप्रा) डाँडासम्म भँैसीगोठ र त्यहाँदेखि माथि भेडाबाख्राका गोठ बस्थे ।

अहिले भने समय फेरिएको छ । केही दशक अघिसम्म गोठ बस्ने पाखा र डाँडामा यतिबेला पर्यटक बस्न थालेका छन् । चौफेरै हिमाल देख्न सकिने खोपारा पछिल्लो समय उत्कृष्ट र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भइसकेको छ ।

पउद्वारदेखि खोपारा हुँदै साउथ अन्नपूर्ण हिमालको फेदीमा रहेको खयर भारानी तालसम्मको क्षेत्रलाई समेटेर समुदायकै अगुवाइमा उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको हो । अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाका हिमालहरु, गुराँसे जङ्गल, हिमालको काखमा रहेको खयर तालको अवलोकनका लागि पाउद्वार–खोपारा– खयर भारानी रुट तयार गरिएको हो ।

बेलायती सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट राजु पुनको अगुवाइमा देश विदेशमा रहेका स्थानीयवासी र सहयोगदातामार्फत रु एक करोड ६० लाख रकम सङ्कलन गरी यो क्षेत्रमा भारानी थान, पदमार्ग, चौतारा, आवास, शौचालयलगायत पर्यटन पूर्वाधार निर्माण गरिएको हो ।
“यो सबै हाम्रा बाजे, पुर्खाहरुको गोठ आउने थलो हो, सानो छँदा हामी पनि गाई, भैँसी र भेडा लिएर यहाँ आउँथ्यौँ’ अहिले माथिल्लो भेगमा भेडा र चौँरीगोठ छन्, ती पनि अब पर्यटकका आकर्षण भएका छन्”, यस क्षेत्रको पर्यटन अभियन्ता पुनले खोपारा डाँडाको वर्णन गर्नुहुन्छ । अहिले भने उहाँले भनेजस्तै खोपारा र खयर क्षेत्र किसान गोठालो जाने लेकमा सीमित छैन । यहाँको परिचय नै फेरिएको छ । अग्लो डाँडाबाट आँखै अगाडि हिमाल देख्न सकिने जैविक विविधतायुक्त यो क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यमा परिणत भएको छ ।

“विसं २०२१ मा म पनि भैँसीगोठमा बसेको हुँ, त्यतिबेला ८०–९० वटा गोठ हुन्थे, अग्लो डाँडामा गोठमा बस्दा निकै रमाइलो लाग्थ्यो, दुःख पनि हुन्थ्यो, पछि लामो समय प्रवासमा बसेँ, यहाँको हरेक डाँडाकाँडामा गोठाला मात्रै होइन, पर्यटक पनि उकाल्न सकिन्छ भन्ने लाग्यो र पर्यटन पूर्वाधार बनाउन कस्सिएका हौँ”, पुनले भन्नुभयो ।

‘पहाडकी रानी’ जस्तै सुन्दर ठाउँ खोपारा–खयरभारानी क्षेत्रको पर्यटन विकासको लक्ष्य लिएर २०६९ सालदेखि पुनले पूर्वाधार निर्माणको अगुवाई गर्नुभएको थियो । यो एक दशकमा समुदायकै सक्रियतामा नमुना पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने गरी पूर्वाधार निर्माणले सार्थकता पाएको छ ।

पहिलो वर्षको असार सम्ममा रु ३२ लाख सहयोग जुटेपछि खयरभारानी थान तथा क्षेत्र संरक्षण कोष स्थापना गरी सहयोग सङ्कलन र पूर्वाधार निर्माण कार्यसँगसँगै अघि बढेको कोषका संयोजकसमेत रहनुभएका अभियन्ता पुनले बताउनुभयो । कोषमा स्वदेश तथा विदेशमा रहेका पाउद्वारवासी, छिमेकी गाउँका प्रवासीले उल्लेख्य रुपमा सहयोग गरेका छन् ।

दश वर्षको अवधिमा पाउद्वारादेखि खोपारा हुँदै खयर पुग्ने जङ्गल, भिर र अप्ठ्यारो ठाउँमा ढुङ्गाको सिँढी बनाएर पदमार्ग बनाइएको कोषका अध्यक्ष भीमबहादुर तिलिजा पुनले बताउनुभयो ।

“पहिले सामान्य ओहोरदोहोर गर्ने डोरो थियो, पानी पर्दा चिप्लिएर लड्ने समस्या थियो, अहिले हिँड्नका लागि कुनै अप्ठ्यारो ठाउँ छैन, पदमार्गको ठाउँठाउँमा विश्राम लिने चौतारा बनाएका छौँ”, उहाँले भन्नुभयो । पाउद्वारका स्थानीयवासीले दिवङ्गत आफन्तको स्मृति र परिवारको हर्षबढाइँ र सफल कार्यको उपलक्ष्यमा ‘सम्झना र कामना’को धार्मिक भावले पदमार्ग बनाउने अभियानमा सहकार्य गरेका छन् ।

पदमार्गअन्तर्गत पर्यटकलाई खान र बस्नका लागि खोपारामा लज र होटेल सञ्चालनमा छन् । खोपाराबाट अर्को दिनको बास बस्न खयरखोलामा होटेल सुविधा नभएकाले कोषमार्फत नै पाहुना बस्ने अस्थायी प्लास्टिक घर, शौचालय, आश्रयस्थल र खयर ताल परिसरमा आश्रयस्थल बनाएको पुनले बताउनुभयो । खयर तालमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वासले जनैपूर्णिमाको अवसरमा विशेष पूजा हुँदै आएको छ । अन्य समयमा समेत यहाँ आन्तरिक पर्यटकहरु जान थालेका छन् ।

“आश्रयस्थल नहुँदा भेडीगोठमा बास बस्नुपथ्र्यो, ठूलो सङ्ख्यामा मानिस आउँदा त गोठको क्षमताले नभ्याउने भएकाले बाहिर नै उभिएर बस्नुपथ्र्यो, अहिले त्यो समस्या हटेको छ”, कोषका अध्यक्ष पुनले भन्नुभयो । पदमार्गअन्तर्गत खोपारा र खयरखोलामा खानेपानीको समेत बन्दोबस्त मिलाइएको छ ।

स्थानीयवासीले थालेको पर्यटन पूर्वाधार निर्माण अभियानअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र गाउँपालिकाले समेत सघाएका छन् । गाउँपालिकाले दुई चरणमा गरी विनियोजन गरेको रु १३ लाख बजेटबाट पदमार्ग निर्माण गरिएको कोषका अध्यक्ष पुनले बताउनुभयो । यस वर्ष पर्यटन बोर्डबाट रु २० लाख बजेट विनियोजन भएकाले उक्त बजेटलाई खोपारामा पर्यटक आवासगृह बनाउने कार्यमा परिचालन गरिने तयारी गरिएको कोषले जनाएको छ ।

खयरथानको ऐतिहासिक पुनर्निर्माण

साउथ अन्नपूर्ण हिमालको फेदीमा अवस्थित खयर भारानी तालमा स्थानीयवासीले पहिलेदेखि नै पूजाआजा गर्दै आएका थिए । समुद्री सतहदेखि चार हजार ६३० मिटर उचाइमा वरिपरि हिम पहाडले घेरिएको खयर भारानी ताल परिसरमा २०४८ साथमा भेडीगोठालाहरुले ढुङ्गाको ढोका भएको थान निर्माण गरेका थिए ।

भेडागोठालाहरुले नै पुजारी भएर जनैपूर्णिमामा तीर्थयात्रीको भाकल पूजासमेत गराउँदै आइएको थियो । विसं २०६९ असार ७ गते जग राखेको थान निर्माण कार्य सकेर सोही वर्षको जनैपूर्णिमादेखि नै थानमा पूजा गर्न शुरु गरिएको थियो । ताल परिसरको यस थानमा हरेक वर्षको जनैपूर्णिमा पर्वको अवसरमा आफ्नो मनोकांक्षा पूरा गराउनको लागि भाकल गर्नेहरुको भीड नै लाग्ने गर्छ ।

‘पहाडकी रानीः खोपारा–खयर–भारानी’

‘राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहनुभएका सामाजिक अभियन्ता महावीर पुनको परिकल्पनाअनुसार सञ्चालन भएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको खोपारा–खयरभारानी क्षेत्र प्राकृतिक सौन्दर्यता र धार्मिक महत्वका हिसाबले सम्भावनायुक्त क्षेत्र हो । म्याग्दी सदरमुकाम बेनीदेखि छोटो दूरीमा पर्ने, जैविक विविधतायुक्त र वरिपरिका हिमालको फन्को एकै ठाउँबाट मार्न सकिने भएपछि पछिल्लो समय खोपारामा आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्न थालेको छ । तीन हजार ६६० मिटरको उचाइमा रहेको खोपारा लेकबाट अन्नपूर्ण, धौलागिरि, माछापुच्छ«्रे, मनास्लु हिम शृङ्खलाका दर्जनौँ हिमाललाई नजीकबाट नियाँल्न सकिन्छ । खोपारादेखि खयरसम्मको हरियाली पाखा, रङ्गीचङ्गी फुल, चरन क्षेत्रमा रहेका भेडा र चौरीले पर्यटकहरुलार्य लोभ्याउने गरेको छ ।

अझ छिन–छिनमा बादलको घुम्टोबाट खुल्दै गरेका हिमालको मनमोहक दृश्य र एकान्त ठाउँमा चराचुरुङ्गी, जङ्गली जनावरलगायतको रमणीय दृश्यको अवलोकन गर्दा पर्यटकहरु दिन गएको पत्तो नै पाउँदैनन् । पाउद्वारबाट पदयात्रा गर्ने पर्यटकहरुले खोपारामा बास बस्ने गर्छन् ।

त्यहाँबाट खयरखोलामा अर्को दिनको बास बस्न सकिन्छ । त्यहाँबाट खयर भारानी हुँदै दूधकुण्डसम्म पुगेर पुनः सोही ठाउँमा आएर बास बस्न सकिन्छ । अर्को दिन काली भारानी र गोर्से भारानी ताल पुगेर फर्कने गरी पाउद्वारदेखि खयर क्षेत्रसम्मलाई समेटेर पाँच दिनको पदयात्रा गर्न सकिने गरी यस पदमार्गको नक्साङ्कनको तयारी गरिएको अभियन्ता पुनले जानकारी दिनुभयो ।

गर्नैपर्ने थाती रहेका योजना

समुदायको अग्रसरतामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने उद्देश्यले पर्यटन पूर्वाधार निर्माण गरिएको खोपारा खयर भारानी क्षेत्रको प्राकृतिक र धार्मिक महत्व र महिमालाई प्रचारप्रसारमा जोड दिइएको छ । उच्च हिमाली क्षेत्र भएकाले पर्यटकको आपत्कालीन उद्धारका लागि खयरखोला र खोपारामा हेलिप्याड बनाउने योजना बनाइएको छ ।

खयरखोलामा आवासका लागि बनाइएको अस्थायी टहरालाई जस्तापाताले छाउन सकेमा पर्यटकहरुलाई बढी लाभदायी हुने देखिन्छ । पदमार्ग निर्माण कार्य जारी नै रहेकाले विभिन्न निकायमार्फत व्यवस्थित पदमार्ग बनाउने योजनालाई थप निरन्तरता दिनुपर्ने आवश्यकता रहेको छ । अहिले खोपारासम्म जुनसुकै समयमा पनि पर्यटकहरु पुग्ने गरे पनि त्यहाँदेखि खयरसम्मको यात्रा साहसिक मानिने भएकाले यस क्षेत्रमा समेत पर्यटकहरुलाई उकाल्नका लागि प्रचारप्रसार, भरपर्दो आवासको पूर्वाधारसहित योजनाबद्ध तवरले अघि बढ्न जरुरी छ ।

पर्यटन सहकारीमार्फत होटेल

पाउद्वार–खयर भारानी क्षेत्रमा भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरी खोपाराडाँडामा पर्यटन सहकारीमार्फत होटेल सञ्चालन गरिएको छ । ‘राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको अवधारणाअनुसार नेपालमै पहिलोपटक पाउद्वार पर्यटन सहकारी संस्थामार्फत खोपारामा सहकारीबाट होटेल सञ्चालनमा ल्याइएको हो ।

यसअघि खोपारामा पाउद्वार मावि र हिमाञ्चल माविले निजी स्रोतका शिक्षकको तलब खर्च जुटाउन सञ्चालन गर्दै आएको सामुदायिक होटेललाई सहकारी मातहत ल्याइएको हो । अहिलेसम्म होटेलमा बनेका संरचनाको मूल्याङ्कन गरेर सहकारीले रकम पाउद्वार माविको कोषमा जम्मा गरिदिने र होटेललाई सहकारी मातहत सञ्चालन गर्न थालिएको सहकारीका सल्लाहकार भीमबहादुर तिलिजा पुनले बताउनुभयो ।

खोपारामा ४० जना क्षमताको २० कोठे होटेल सञ्चालनमा छ । क्याम्पिङसहित दैनिक ५० देखि ६० जनासम्मलाई राख्नसक्ने क्षमतामा सहकारीले होटेल सञ्चालन गरेको छ । गाउँका सबै स्थानीयवासीलाई समान रुपमा पर्यटनको लाभ पु¥याउने उद्देश्यले सहकारीमार्फत होटेल सञ्चालन गरिएको सहकारीका अध्यक्ष राजेश तिलिजाले जानकारी दिनुभयो । सहकारीमा हाल पाउद्वारका १२६ जनाले रु ८६ लाख २५ हजारको शेयर लगानी गरेका छन् । स्थानीयवासीले रु २५ हजारदेखि दुई लाखसम्म सहकारीमा शेयर लगानी गरेका छन् । गाउँका सबै घरधुरीलाई सहकारीमा समेट्न र लगानीको अवसर दिन छुटेका स्थानीयवासीलाई समेत लगानी गर्न आह्वान गरिएको सहकारीले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter