जल पर्यटनको सम्भावना प्रचुर

वसन्त पराजुली / भरतपुर, जेठ १९ गते । वन र वन्यजन्तुमा आधारित पर्यटनको मात्रै विकास भएको चितवनमा ‘जल पर्यटन’ विकासको सम्भावना राम्रो देखिएको छ । नारायणी नदी र त्यस वरपरको क्षेत्रलाई समेटेर ‘टुर प्याकेज’ बनाउन सकिएमा चितवनले जल पर्यटनमा फड्को मार्ने विज्ञहरूले औँल्याएका छन् ।

“यति सुन्दर नारायणी अहिले त्यसै बगेर खेर गइरहेको छ । यसलाई सदुपयोग गर्न सकिने हो भने मात्रै पनि जल पर्यटनको विकास गर्न सकिन्छ,” पर्यटनविज्ञ विश्व सुवेदीले भन्नुभयो । देवघाटबाट त्रिवेणी ३५ किलोमिटरको जलयात्राको दूरी हो । यो पूरा गर्दैगर्दा बीचमा भेटिने वन, वन्यजन्तु र जलचर यसका आकर्षण हुन् ।

“देवघाट र त्रिवेणीलाई जलमार्गबाटै जोडेर धार्मिक पर्यटन तथा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित चढेको गाडी दुर्घटनास्थल दासढुङ्गा र भण्डारीको शव भेटिएको स्थान गाँजीपुरलाई जलमार्गले जोड्ने गरी ऐतिहासक पर्यटनको विकास गर्न नारायणी नदीमा जल पर्यटनको विकास हुन जरुरी छ,” उहाँले भन्नुभयो ।

बागमती प्रदेश सभाका सदस्य विजय सुवेदीको नारायणी नदीमा जल यातायातको विकास गर्नसके चितवनमा जल पर्यटनको विकास हुने धारणा छ । सुवेदीले भन्नुभयो, “दासढुङ्गादेखि त्रिवेणीसम्म नारायणी नदीको बीचमा भेटिने थुम्काको पूर्वाधार विकास गर्नसक्ने हो भने जल पर्यटन थप प्रभावकारी हुनेछ । ”

नारायणीमा जल यातायातका लागि नारायणगढमा हाल केही मोटरबोट सञ्चालनमा छन् र भरतपुरको शिवघाटमा क्रुज सञ्चालनको तयारी भइरहेको छ । यतिले मात्रै जल पर्यटनको विकासका लागि पर्याप्त नहुने सुवेदीको तर्क छ । कमसेकम पर्यटकलाई आकर्षण गर्नेगरी नदी तटीय क्षेत्रको विकासका लागि योजना बन्नुपर्छ । नारायणी नदी तटीय क्षेत्रमा चितवन र नवलपरासीतर्फ पर्ने वन क्षेत्र र त्यसमा रहेका वन्यजन्तु तथा चराचुरुङ्गी र सरिसृपलाई पनि जल पर्यटनको प्रवद्र्धनमा लगाउन सकिन्छ ।

नेपाल होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके नारायणीमा जल यातायातसहितको पर्यटन विकास गर्दैगर्दा नारायणी आसपासका क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको विकासलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुहुन्छ ।

“नारायणी नदीको आसपास रहेका गणेश धाम, मौलाकालिका मन्दिर र सीजी टेम्पललाई समेटेर प्याकेज गराउन जरुरी छ । यसका लागि निजी क्षेत्रको सहभागिता जरुरी देखिन्छ,” उहाँले भन्नुभयो । चितवनमा जलयात्रामा आधारित पर्यटनको विकास गर्ने हो भने चितवन आउने पर्यटकको सङ्ख्या र उनीहरूको बसाइसमेत बढाउन सकिने भनाइ विज्ञ सुवेदीको छ ।

सामान्य अवस्थामा अहिले चितवन घुम्न आउने पर्यटकको औसत बसाइ दुई/तीन दिन हो तर नयाँ गन्तव्यको विकास गर्न सकिने हो भने यो लम्ब्याउन सकिने देखिन्छ । यस्तै चितवन घुम्न आउने नेपाली पर्यटकले अहिले औसत आठ हजार रुपियाँ र विदेशीले १५ हजार रुपियाँसम्म खर्च गरिरहेका छन् । जल पर्यटनको विकास गर्न सकिएमा पर्यटकको बसाइ लम्बिनेसँगै उनीहरूले गर्ने खर्चसमेत वृृद्धि हुने व्यवसायीहरूको भनाइ छ ।

अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा दासढुङ्गा–मेघौली जल पर्यटन कार्यक्रम समेटिएको छ । प्रदेश सभाका सदस्य सुवेदी यही बजेटबाटै नदी किनार वरपरका क्षेत्रलाई समेट्ने गरी निजी क्षेत्रसमेतको सहभागितामा जल पर्यटनसम्बन्धी योजना बनाउन सजिलो हुने बताउनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter