सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा
काठमाडौँ, जेठ २९ गते । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि रु. सात अर्ब २० करोड सहयोग गर्ने घोषणा गरेको छ ।
बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
बैंकबाट प्राप्त हुने उक्त रकमबाट गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदद–जर्भोस व्यक्त गर्नुभएको छ ।
“मानव पूँजी विकास तथा सबल पुनःनिर्माणलाई प्राथमिकतामा राख्नु कोभिड–१९ को महामारीका बेला अपरिहार्य भएको छ”, यहाँस्थित बैंकको देशीय कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रासस