सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध जोरायले बास्मती धान रोप्न सुरु

विमलबहादुर / विष्ट डोटी, असार ७ गते । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध जोरायले बास्मती धान रोप्न शुरु गरिएको छ । यहाँका नौ जिल्लामध्ये जोरायल गाउँपालिकामा उत्पादन हुने उक्त धान देशव्यापी रुपमा प्रसिद्ध मानिदै आएको छ । विभिन्न परिकार बनाउन सकिने यस धानको चामल पकाउँदा, खाँदा बासना आउने हुँदा यहाँ निकै लोकप्रिय मानिन्छ ।

सुदूरपश्चिमसहित नेपालभरिका बजारमा निकै लोकप्रिय बन्दै गएको जोरायले बास्मती चामल यो वर्षको असार ५ गतेदेखि रोप्न आरम्भ भएको स्थानीयवासी बताउँछन् । जोरायले बास्मती धान रोप्न यहाँका किसानलाई अहिले भ्याइनभ्याइ भएको छ ।

ठीक्कै खालको गर्मी मौसम तथा समथल ठाउँमा मात्रै उत्पादन हुने यो धान यहाँको जोरायल गाउँपालिकास्थित रावतकट्टे, चनकट्टे, हाट, सिलङ्गीबाग, थापली, स्याला, पिपलकण्डेलगायतका ठाउँमा लगाउने गरिएको स्थानीयवासी चित्रराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशमा प्रसिद्ध जोरायले बास्मती धान लोप हुने अवस्थामा थियो, अहिले विभिन्न सङ्घसंस्था तथा स्थानीय सरकारको पहलमा संरक्षण गरिएको छ ।”

यहाँ उत्पादन हुने बास्मती चामल छिमेकी मुलुक भारतका विभिन्न शहरमा पनि बिक्रीका लागि पठाउने गरिएको छ । यसको मूल्य प्रतिकेजी रु. १२० पर्ने गरेको व्यापारीहरु बताउँछन् । जोरायले बास्मती धान सुदूरपश्चिमकै उत्कृष्ट र मसिनो तथा खाँदा बास्नादार चामल हुने भएकाले सुदूरपश्चिम प्रदेशभरिमा यस धानको निकै माग हुने गरेको अर्का स्थानीयवासी विजयप्रकाश मल्लले जानकारी दिनुभयो ।

जोरायले बास्मती धान संरक्षणका लागि गाउँपालिकाले पनि विभिन्न कार्यक्रमहरु अघि सारेको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिममा उत्कृष्ट मानिएको जोरायले बास्मती संरक्षणका लागि हामीले पालिकाको बजेट विभिन्न कार्यक्रम अघि सारेका छौँ, अब जिल्लाका अन्य क्षेत्रमा पनि उत्पादनका लागि पहल गर्ने छौँ ।”

मनसुन शुरु भएसँगै यहाँका सिँचाइ सुविधा पुगेका ठाउँमा उक्त धान रोपाइँ शुरु भएको हो । खोला किनारमा रहेका फाँटरुमा जोरायले बास्मती धान रोपाइँ गर्न थालिएको जोरायल गाउँपालिका–४ का किसान टेकबहादुर मडैले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष समयमै वर्षात् भएको छ, अहिले हामी बास्मती धान रोप्न थालेका छौँ, रोपी सकेपछि पनि यो धानलाई पानी बढी चाहिने भएकाले यो वर्षको मौसम राम्रो भएको हुँदा धान उत्पादन बढ्ने अनुमान छ ।”

यहाँका कम्तिमा पनि ८०० हेक्टर जमीनमा जोरायले बास्मती धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र सिलगढी डोटीले जनाएको छ । प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले यो वर्ष मनसुन चाँडै भित्रिएकाले जोरायले बासमती धान रोपाइँ पनि छिटो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सिँचाइ सुविधासँगै यो वर्ष समयमै वर्षात् भएको छ, किसानलाई बास्मती धान रोप्न चटारो भएको छ ।”

अघिल्ला वर्षमा जोरायले बासमती धान उत्पादन केही घटेकामा चालु आर्थिक वर्षमा धान उत्पादन बढेको थियो । मौसमले साथ दिए यो वर्ष पनि धान उत्पादन बढ्ने प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका कृषि प्राविधिकको अनुमान रहेको छ । जोरायले बास्मतीसँगै यहाँका किसानले मार्सी, थापाचिनी, गुर्रा, ठेसे, हंसराज र पाल्पाली धान लगाउँदै आएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter