नेपाल एयरलाइन्सले फाप्लु विमानस्थलमा सातामा तीन उडान गर्ने
सन्तोष राउत / सोलुखुम्बु, असार २२ गते । नेपाल एयरलायन्सले उडान तालिका परिर्वतन गर्दै सोलुखुम्बुको फाप्लु विमानस्थलमा साताको तीन उडान गर्ने भएको छ । कोरोनाका कारण सरकारले गरेको निषेधाज्ञामा लामो समयदेखि नियमित उडान बन्द भएको फाप्लुमा उडान तय भएको हो ।
आन्तरिक उडान खुलाउने सरकारको निर्णयसँगै नेपाल एयरलायन्सले सोलुखुम्बुको फाप्लु विमानस्थलमा आइतबार, मङ्गलबार र शुक्रबार उडान गर्ने भएको छ ।
असार १७ गतेबाट नै उडान गर्ने भनिए पनि लगातारको मौसम प्रतिकूलताका कारण एक सातादेखि उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ । उडान हुने भएपछि स्थानीय खुशी भएका छन् । हवाईजहाजको उडान नहुँदा कोरोनालगायत विभिन्न किसिमका बिरामीहरुले लाखौँ रकम तिरेर उपचारमा जानुपर्ने बाध्यता थियो ।
त्यस्तै, जिल्लाको पर्यटकीय क्षेत्र खुम्बुमा रहेको लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा पनि उडान हुन सकेको छैन । मौसमकै कारण एक हप्तादेखि उडान अवरुद्ध बनेको लुक्ला विमानस्थलले जनाएको छ ।