चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक काेराेनाकाे कारण घटे

टेकराज पोखरेल / नवलपुर, साउन १० गते । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । निकुञ्जमा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा घुम्न आउने पर्यटकको सङ्ख्यामा आधाले कमी आएको छ ।

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा ९० हजार २२६ ले कमी आएको छ । निकुञ्जमा गत आवमा ९२ हजार २०९ पर्यटक मात्रै घुम्नका लागि आएका अधिकारीले बताउनुभयो ।

त्यस्तै अघिल्लो आव २०७६/७७ मा एक लाख ८२ हजार ४३५ व्यक्तिले निकुञ्ज भ्रमण गरेका अधिकारीको भनाइ छ । गत आर्थिक वर्षमा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८९ हजार ६६७ आन्तरिक पर्यटक रहेको अधिकारीले जानकारी दिनुभयो । अघिल्लो आवको तुलनामा गत आवमा निकुञ्ज घुम्न आउने बाह्य पर्यटकको सङ्ख्या ज्यादै नै न्यून भएको अधिकारीले बताउनुभयो ।

गत आवमा एक हजार ३६४ व्यक्ति सार्क मुलुकका पर्यटक र एक हजार २४४ विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेको अधिकारीले जानकारी दिनुभयो । गत आवमा कोरोना सङ्क्रमण त्रासका कारण लामो समयसम्म अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा सार्क र विदेशी मुलुकबाट आउने पर्यटक नेपाल आउन नसक्दा निकुञ्जमा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको अधिकारीले बताउनुभयो ।

“निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा लगभग बराबर जस्तै छ”, अधिकारीले भन्नुभयो, “तर, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बाह्य पर्यटकको सङ्ख्या नगन्य मात्रामा आएको देखिन्छ ।” निकुञ्जमा अघिल्लो आव २०७६/७७ मा ८९ हजार ४४१ आन्तरिक पर्यटक आउँदा सार्क मुलुकबाट १४ हजार २३९ तथा विदेशी मुलुकबाट ७८ हजार ७५५ पर्यटक आएका अधिकारीले जानकारी दिनुभयो ।

अघिल्लो आवमा निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकमध्ये ३७ हजार ६५३ महिला तथा ५१ हजार ७८८ पुरुष थिए । त्यस्तै सार्क मुलुकबाट छ हजार ६७ महिला र आठ हजार १७२ पुरुष तथा विदेशी मुलुकबाट ३३ हजार ६९४ महिला र ४५ हजार ६१ पुरुषले निकुञ्जको भ्रमण गरेको अधिकारीले बताउनुभयो ।

गत आव २०७७/७८ मा भने निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकमध्ये ३७ हजार ९६८ महिला तथा ५१ हजार ६३३ पुरुष छन् । त्यस्तै सार्कबाट ५४९ महिला र ८१५ पुरुष तथा विदेशी मलुकबाट ५६२ महिला र ६८२ पुरुषले निकुञ्जको भ्रमण गरेका अधिकारीले जानकारी दिनुभयो ।

निकुञ्जको राजस्वमा कमी

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकसँगै यहाँ सङ्कलन हुने राजस्वमा समेत एक चौथाइ भन्दा बढीले कमी आएको छ । निकुञ्जले सङ्कलन गर्दै आएको राजस्वमा अघिल्लो आवको भन्दा गत आवमा कूल रु १५ करोड ४८ लाख ९३ हजार ५१५ ले कमी आएको जनाइएको छ । निकुञ्जमा गत आव २०७७/७८ मा जम्मा रु चार करोड ४३ लाख ६२ हजार १६६ मात्रै राजस्व सङ्कलन भएको छ भने अघिल्लो आव २०७६/७७ मा रु १९ करोड ९२ लाख ५५ हजार ६८१ राजस्व सङ्कलन भएको थियो ।

यहाँ घुम्न आउने पर्यटकबाट सङ्कलन हुने राजस्व घट्दा निकुञ्जले सङ्कलन गर्ने राजस्वमा कमी आएको सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अधिकारीले बताउनुभयो । उहाँका अनुसार अघिल्लो आव भन्दा गत आवमा निकुञ्ज घुम्न आउने पर्यटकबाट रु १६ करोड ४८ लाख ४७ हजार २३६ कम राजस्व सङ्कलन भएको छ ।

अघिल्लो आव २०७६/७७ मा पर्यटक शुल्कबाट रु १८ करोड ७३ लाख ८५ हजार ६४ राजस्व सङ्कलन भएकामा गत आव २०७७/७८ मा रु दुई करोड ५५ लाख ३७ हजार ८२८ मात्रै राजस्व सङ्कलन भएको अधिकारीले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter