महँगा सौर्यबत्ती टिकेनन्, १७ सय बिजुली बत्ती जडान गरिदै

विष्णु पाण्डेय / काठमाडौं, मङ्सिर १७ गते । काठमाडौं उपत्यकाका सडकमा जडान भएका अधिकांश सौर्यबत्ती बिग्रिएका छन् । कतिपय बत्ती फ्यूज त कतिपय ब्याट्री बिग्रिएका कारण पनि बल्न सकेका छैनन् । १८ औँ सार्क शिखर सम्मेलनका लागि भन्दै नेपाल विद्युत प्राधिकरण र काठमाडौँ महानगरले महानगरका मुख्य सडकमा सोलार बत्ती जडान गरेको थियो । तर, बत्तीको उचित मर्मत हुन नसक्दा बत्तीहरु काम नगर्ने अवस्थामा पुगेका हुन् ।

काठमाडौँ महानगर अन्तर्गतको सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाका अनुसार सडक बत्तीको समस्या सल्टाउन अब विद्युतीय बत्ती मात्र बाल्ने योजना छ । सोलार बत्ती हटाउने योजना छ । मुख्य सडकमा एक हजार ७०० थान सडकबत्ती जडान गर्ने योजना रहेको थापाको भनाइ छ । दसैँ अगाडि नै काम सुरु गर्ने योजना रहे पनि काम सुरु हुन नसकेको बताउनुभएको छ । ‘अघिल्लो आर्थिक वर्षमै विद्युत प्रधिकरण र महानगरबीच समन्वय भएर काम गर्ने सम्झौता भयो । लागत महानगरले व्यहोर्ने गरेर काम अगाडि बढेको हो’, उहाँले भन्नुभयो, ‘दसैँ अगाडि नै काम सुरु गर्ने तयारी नै थियो तर केही समस्याले रोकिएको छ । तर, काम चाँडै सुरु हुन्छ ।’

पहिले नेपालमा विद्युतको अभाव भएका कारण विकल्पमा सोलार बत्ती जडान गरिएको थियो । तर अहिले विद्युतको समस्या नभएका कारण सोलार बत्तीलाई विस्थापित गरेर विद्युतीय बत्ती राख्ने तयारी भएको हो । ‘पहिले विकल्पमा सोलार बत्ती प्रयोग गरियो तर ती सोलार मर्मतका लागि आवश्यक सामग्री बाहिरी देशबाट ल्याउनुपर्ने हुँदा महँगो भयो’, उहाँले भन्नुभयो, ‘पैसा विदेशिने पनि देखियो । यसको अवधि पनि छोटो भएका कारण चार–पाँच वर्षमै करोडौं खर्च गर्नुपर्ने भयो ।’

सोलारका प्यानल पनि धुलोका कारण काम गर्न सक्ने अवस्थामा छैनन् । प्राधिकरणसँग पनि विद्युत प्रशस्त भएका कारण अब सबै विद्युतीय बत्ती जडान गर्ने योजना रहेको थापाले सुनाउनुभयो । एयरपोर्ट, कलङ्की, बाैद्ध, त्रिपुरेश्वर, बूढानीलकण्ठ, पुतलीसडक, बालुवाटार लगायतका ठाउँ गरेर काठमाडौंका ६० किलोमिटर सडकमा विद्युतीय बत्ती जडानको काम हुनेछ ।

महानगरले साढे एक अर्ब बक्यौता बुझाउन बाँकी

काठमाडौं महानगरले सडक बत्ती वापतको साढे एक अर्बभन्दा बढी रकम नेपाल विद्युत प्राधिकरणलाई बुझाउन बाँकी छ । प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार महानगरभित्रका रत्नपार्क वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र, कुलेश्वर वितरण केन्द्र र महाराजगञ्ज वितरण केन्द्रबाट गरी अहिलेसम्म एक अर्ब ७३ करोड ९२ हजार ८४९ रुपौयाँ बक्यौता बुझाउन बाँकी छ ।

शाखा सडकमा महानगरकै बत्ती

काठमाडौं महानगरभित्रका शाखा सडकमा महानगरले आफ्नै लगानीमा सडक बत्ती राख्ने भएको छ । महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाका अनुसार महानगरका ३२ वटै वडासँग समन्वय गरेर सडक बत्तीको जडान गर्ने कार्य जारी राखिएको बताउनुभयो । सडक बत्तीका लागि प्रत्येक वडाका लागि वार्षिक रुपमा रकम नै निकासा गर्ने गरिएको उहाँले सुनाउनुभयो ।

शाखा सडकका बत्तीमा बार्षिक छ करोड खर्च

महानगरभित्रका शाखा सडकमा जडान भएका बत्तीमा वार्षिक छ करोड रकम खर्च हुने गरेको छ । महानगरभित्रका ३२ वडामा जडान भएका बत्तीका लागि महानगरले वडासँग समन्वय गरेर वार्षिक ६ करोड रुपैयाँ बत्तीका लागि छुट्याउने गरेको सार्वजनिक निर्माण विभाग प्रमुख थापाको भनाइ छ ।

सरकारले भने मात्र सम्पत्ती कर तिर्छौः प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले पनि सम्पत्ति कर नबुझाएको महानगरले जनाएको छ । तर, प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले प्राधिकरण राज्यको सम्पत्ति भएकाले महानगरमै रहे पनि कर तिर्नु नपर्ने बताउनुभयो । ‘प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको कार्यालय हो, राज्यले कर तिर्नुपर्छ भन्यो भने मात्र तिर्छौँ,’उहाँले भन्नुभयो ।

मौजुदा कानुनमै बेखबर महानगर

महानगरपालिकाले प्राधिकरणले सम्पत्ती कर बुझाउन बाँकी रहेको जनाएको छ । तर, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था भएअनुसार दफा (५५) को उपदफा (५) बमोजिम नेपाल सरकारको स्वामित्वमा रहेको सरकारी संस्थानले सम्पत्ति कर बुझाउनु नपर्ने उल्लेख छ । तर, महानगरले भने प्राधिकरणले सम्पत्ति कर नबुझाएको आरोप लगाउँदै आएको छ ।

अदातलमा मुद्दा परेकाले काम रोकियो

अदालतमा मुद्दा परेकाले महानगरका सडकमा सडक बत्ती जडानको काम अहिले रोकिएको छ । प्राधिकरणका एक अधिकारी सागर ज्ञवालीका अनुसार टेन्डरको विषयलाई लिएर मुद्दा परेपछि काम रोकिएको हो । प्राधिकरणले टेन्डर आह्वान गरिसकको थियो । तर ठेकदारले मुद्दा दर्ता गराएकाले कार्य रोकिएको बताउनुभयो । ‘अहिले नै काम सुरु गर्ने भनेर नयाँ आर्थिक वर्ष सुरु भएसँगै टेन्डर आह्वान गरिएको थियो । तर, अदालतमा मुद्दा पर्यो । अहिले काम रोकिएको छ । फैसला आउनासाथ काम सुचारु हुन्छ,’ उहाँले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter