मेलम्ची मर्मतको काम सुरु भएन, चैतमा पानी झार्न कठिन

छेटु शेर्पा / काठमाडौं, मङ्सिर २१ गते । गत असार १ गते गएको बाढीपहिरोले क्षति पुर्‍याएपछि मेलम्चीको पानी काठमाडौँ ल्याउन थप समस्या भएको छ । मेलम्ची खानेपानी आयोजनाले बाढी र पहिरोले क्षति गरेको क्षेत्रमा अस्थायी मर्मतपछि चैत भित्र पानी ल्याउने लक्ष्य राखेको थियो । मर्मतको काम सुरु नहुँदा लक्ष्य पूरा हुन कठिन हुँदै गएको छ । केही समय पहिले खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको मुहानसम्मै निरीक्षण गरेर अस्थायी रुपमा काम गरेर भए पनि तत्काल उपत्यकामा पानी ल्याउन निर्देशन दिनुभएको थियो ।

मुहान क्षेत्रमा मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीले शुक्रबार गरेको निरीक्षणमा ठूला आकारका ढुङ्गा धेरै र साँघुरो क्षेत्र भएकाले तत्काल मर्मत गरेर चैतसम्ममा पानी ल्याउन सक्ने सम्भावना कम भएको निष्कर्ष निकालेको छ ।

मेलम्ची खानेपानी विकास समितिले मुहानसम्म पुग्ने सडक मर्मत भइसकेकाले पानी ल्याउन सकिने बताएको छ । तर, सरकारले अस्थायी मर्मतका लागि निर्देशन नदिएपछि काम सुरु गर्न नसकिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । पुरानै ठेकेदार अथवा नयाँ ठेकेदार प्रयोग गर्ने भन्नेमा स्पष्ट भइसकेको छैन । मर्मतको काम अस्थायी गर्ने या स्थायी रुपमा अघि बढ्ने भन्ने स्पष्ट नहुँदा काम अघि बढाउन नसकिने उहाँले बताउनुभयो ।

तत्काल अस्थायी काम गरेर चैतभित्र उपत्यकामा पानी ल्याए पनि फेरि असार, साउनमा बाढीपहिरोबाट क्षति पुग्ने सम्भावना उत्तिकै रहेको उहाँले जानकारी दिनुभयो । अस्थायी मर्मतका लागि मात्र ९० करोड रुपियाँ लागत लाग्ने अनुमान समितिले गरेको छ ।

यता एसियाली विकास बैंकको सहयोगमा मेलम्ची मुहान माथिबाट आउने पहिरोको दीर्घकालीन समाधानका लागि अध्ययन सुरु भएको समितिले जनाएको छ । अध्ययन पछिको प्रतिवेदन अनुसार दीर्घकालीन योजना तयारी गरी काम गरेमा मेलम्ची खानेपानी आयोजना प्रभावकारी हुने समेत प्रवक्ता पन्तले बताउनुभयो । तर, मन्त्रीले तत्काल अस्थायी उपायबाट पानी ल्याउन निर्देशन दिइसक्नुभएको छ । सरकारले मर्मतको काम अगाडि बढाउन निर्देशन दिए सोही अनुसार काम अघि बढाउने पक्षमा समिति रहेको जनाएको छ । छ दशक अघिदेखिको उपत्यकावासीको पानी पिउने सपना पूरा हुने सम्भावना अझै पनि कमै देखिएको छ ।

बाढीपहिरोले मेलम्ची खोलामा खनिएको सुरुङ क्षेत्रको ड्याम आसपास क्षति हुँदा एक अर्ब ८८ करोड रुपियाँको नोक्सान भएको समितिको ठहर छ । हालसम्म करिब ३५ अर्ब लगानी भइसकेको यो आयोजनाले २०७७ चैत १५ गते मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीको धारामा परीक्षणस्वरुप वितरण गरेको थियो । २०७७ चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्चीको पानी काठमाडौंमा धाराबाट खसालेर उद्घाटन गर्नुभएको थियो ।

पहिलो चरणमा १७ करोड लिटर पानी दैनिक रुपमा वितरण गर्ने लक्ष्य समितिको छ । मेलम्ची खोलाबाट २७ किलोमिटर लामो सुरुङ खनेर २०७७ फागुन १० गते सुरुङमा पानी बगाएर सफल परीक्षण गरिएको थियो । सरकारले याङ्ग्री र लार्केबाट १७÷१७ करोड लिटर गरी जम्मा ३४ करोड लिटर पानी थप गरी जम्मा ५१ करोड लिटर पानी उपत्यकामा वितरण गर्ने लक्ष्य राखेको छ ।

२०५५ सालदेखि मेलम्ची खानेपानी विकास समिति गठन भइ निरन्तर काम भए पनि काठमाडौं पानी आइपुग्न २२ वर्ष लागेको थियो । समितिले २०७७ फागुन २२ गते सुन्दरीजलमा पानी ल्याएको थियो । २०२९ खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतको पहिचान गर्न अध्ययन सुरु भएको थियो । २०६४ मा नेपाल सरकार र प्रमुख दाता एसियाली विकास बैंकबीच आयोजना पुनःसंरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमतिसहित काम अघि बढेको थियो । मेलम्ची खानेपानी आयोजनाका लागि ३३ प्रतिशत नेपाल सरकार, ४६ प्रतिशत एसियाली विकास बैंक र बाँकी अन्य दातृनिकायबाट प्राप्त रकम खर्च गरेको समितिले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter