प्रभावकारी भएन धानको समर्थन मूल्य: किसान सस्तोमै बेच्न बाध्य

सुरेशकुमार यादव / काठमाडौँ, मङ्सिर २४ गते । बारा गढीमाई नगरपालिका–४ का किसान जोगानन्दप्रसाद कलवारले प्रतिक्विन्टल दुई हजार ५०० रुपियाँका दरले १८ क्विन्टल धान बेच्नुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारको बाटो पर्खेर बसेँ तर नआएपछि हामीले बाध्य भएर सस्तोमा धान बेच्यौँ । प्रतिक्विन्टल दुई हजार ९०० रुपियाँ मूल्य तोकिएको धान दुई हजार ५०० मा बेच्यौँ । ”

गहुँ छर्ने बेला भएको र त्यसका लागि बीउ र मल खरिद गर्न पैसाको खाँचो परेकाले सस्तोमै धान बेच्न बाध्य भएको कलवारको गुनासो छ । यो पीडा कृषक कलवारको मात्र होइन, अधिकांश कृषकको हो ।

धान कटाई असोज कात्तिकदेखि नै सुरु भएको हो । धेरै ठाउँमा धान काटाई सकेर गहुँ छर्ने तयारी भइरहेको छ । सरकारले धानको समर्थन मूल्य तोकेको छ तर किसानले त्यो मूल्यमा बिक्री गर्न नसकेको राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष नवराज बस्नेतले बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तोकेको यस वर्षको समर्थन मूल्यको आधारमा किसानले धान खरिद बिक्री गर्न सकिरहेका छैनन् । सरकारले पनि यसपालि धान खरिदमा तादरुकता देखाइरहेको छैन ।

गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्षका लागि मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार ७५२ रुपियाँ र मध्यम धानको दुई हजार ९०२ रुपियाँ ताकेको छ । सोहीअनुसार धान खरिद बिक्री गर्न सरकारले आग्रह गरेको छ ।

किसानले उत्पादन गरेको धान तोकिएको मूल्यमा बिक्री वितरण नभए सरकारले खरिद गरिदिने नीति लिएको छ तर किसानको खेतसम्म सरकार अझै पुगेको छैन ।

सहकारीले देखाएनन् चासो

कृषि मन्त्रालयले यस पटक तोकिएको मूल्यमा धान खरिद गराउने व्यवस्थापनको जिम्मेवारी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई दिएको छ । परियोजनाले भर्खर जिल्लाजिल्लामा धान खरिद गर्न सूचना आह्वान गरेको छ ।

परियोजनाका हिक्मत श्रेष्ठले सरकारले तोकिदिएको मूल्यमा धान खरिदमा आकर्षण नदेखिएको बताउनुभयो । परियोजनाले पटकपटक सूचना प्रकाशित गरे पनि धान खरिदकर्ता सहकारीले चासो नदेखाएको बताउनुभयो । “सरकारले गत वर्ष धान खरिद गरेबापत सहकारीलाई सहुलियत दिने भनेको थियो तर सो सहुलियत नपाएपछि यस पटक सहकारीले धान खरिद गर्न चासो देखाएका छैनन्,” श्रेष्ठले स्पष्ट पार्नुभयो ।

नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका प्रमुख खेमबहादुर पाठकले यसपालि आफूले धान खरिद नगरेको जानकारी गराउनुभयो । “गत वर्ष खरिद गरेको धान अझै बिक्री भएको छैन । यसले सहकारीलाई घाटा लाग्यो, सरकारले गोदाम बनाइदिने, सहुलियत दिने, बिक्री नभएको धान खरिद गरिदिने भनेको थियो तर पछि कुनै चासो देखाएन । त्यसैले यस पटक हामी धान खरिद प्रक्रियामा सहभागी भएनौँ,” पाठकले भन्नुभयो ।

गत वर्ष कृषि मन्त्रालयले निर्देशिका जारी गरी कार्यविधि बनाएर नै धान खरिद गर्न लगाएको थियो । आफूहरू सकेजति खरिद गरेको तर निर्देशिका तथा कार्यविधिअनुसार मन्त्रालयले सहुलियत नदिएका कारण यसपालि आफूहरू धान खरिदमा नलागेको उहाँले बताउनुभयो । कुनै सहकारीले खरिद गर्दै होला त्यो छुट्टै कुरा हो तर यसपटक संस्थागत त्यसमा नलागेको बताउनुभयो ।

तोकिएको मूल्यमा खरिद गर्दा घाटा

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटक ३० हजार २०० मेट्रिक टन धान खरिद गर्ने लक्ष्य लिएको छ । कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले भन्नुभयो, “हामीले धान खरिद गर्न पत्र पठाइसकेका छौँ । एक दुई ठाउँमा धान खरिद गर्ने प्रक्रिया सुरु भइसकेका छन्, हामीले तोकेको मापदण्डअनुसार धान खरिद गर्छौं । ”

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि मङ्सिर १५ गते मात्र जिल्ला कार्यालयलाई पत्र पठाएर धान खरिद गर्न निर्देशन दिएको छ ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार आफूहरू घाटामा धान खरिद गरिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “कम्पनीले तीन वर्षदेखि धान खरिद गरिरहेको छ । हालसम्म खरिद मूल्यमा ३१ करोड रुपियाँको फरक आएको छ । त्यो रकम हामीले सरकारसँग माग गरिरहेका छौँ तर अझै दिएको छैन । ” सरकारले तोकेको मूल्य र स्थानीय मूल्यमा प्रतिक्विन्टल ५०० देखि ७०० रुपियाँको फरक हुने गरेको र कम्पनीले सरकारले तोकेको मूल्यमै खरिद गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रवक्ता सुवेदीले भन्नुभयो, “सरकारले खरिद मूल्यमा फरक परेको रकम दिने भनेको छ । त्यसका आधारमा कम्पनीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग रकम माग गर्दै पत्र पठाइसकेको छ तर अझै रकम आएएको छैन । ”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter