किसानलाई विकल्प छैन

कोकिला ढकाल / इलाम, पुस २ गते । पहाडी जिल्ला इलामका अधिकांश किसान पशुपालनमा निर्भर छन् । परम्परागत पशुपालन हुँदै अहिले आधुनिक र व्यवस्थित पशुपालनतर्फ अग्रसर भएका जिल्लाका किसानलाई अहिलेको मुख्य समस्या आफूले उत्पादन गरेको दूधको उचित मूल्य नपाउनु नै हो ।

बर्सेनि बढ्दो महँगीको असर पशुपालनमा प्रत्यक्ष पर्ने गरेको छ तर गाईका लागि चाहिने पोसिलो दाना, मकैको च्याख्ला, घाँस र परालको मूल्य बर्सेनि बढिरहे पनि त्यसअनुसार दूधको मूल्य नहुँदा पशुपालन व्यवसायबाट आशा हराएको किसान बताउँछन् ।

अहिले दुग्ध विकास संस्थान दुग्ध वितरण आयोजना विराटनगरले इलामका किसानलाई दूधको गुणस्तर हेरेर मूल्य दिने गरेको छ । संस्थानले गुणस्तरका आधारमा प्रतिलिटर ४० देखि ४४ रुपियाँ दिने गरेको छ तर किसानलाई एक लिटर दूध उत्पादन गर्न कम्तीमा ५० देखि ५५ रुपियाँ लागत लाग्ने गरेको सूर्योदय नगरपालिका–१२ मा रहेको सौगात एनिमल (गाई फार्म)का सञ्चालक अशोक राईले बताउनुभयो । “गाईलाई खुवाउने दानाको मूल्य गत वर्षभन्दा दोब्बर भएको छ । ५५ रुपियाँ प्रतिकिलो दाना खरिद गर्नुपर्ने बाध्यता छ । गत वर्ष परालको मूल्य प्रतिमुठा नौ रुपियाँ थियो यो वर्ष १५–१६ रुपियाँ पुगेको छ । दूधको मूल्य वर्षमा प्रतिलिटर दुई रुपियाँ पनि वृद्धि हुँदैन । गाईपालक किसान त्यसैपनि घाटा सहन बाध्य छन्,” राईले भन्नुभयो ।

आठवटा गाईबाट दैनिक ४० लिटर दूध बिक्री गर्दै आउनुभएका राईले गाईको पौष्टिक आहार, दानामा सहुलियत र मूल्य वृद्धि भइदिए किसानलाई ठूलो राहत मिल्ने बताउनुभयो । २०७० सालमा सन्दकपुर गाउँपालिकामा सुरु गरिएको भट्टराई कृषि पशुपालन तथा डेरी उद्योग दुईअघि बन्द भयो । पहिलो चरणको कोभिड–१९ सुरु भएसँगै भएको बन्दाबन्दीका कारण यहाँको उत्पादन बाहिर पठाउन नसक्दा डेरी उद्योग नै बन्द गर्नुपरेको उद्योग सञ्चालक लीला भट्टराईले बताउनुभयो । किसानको समेत दूध लिएर डेरी उद्योग चलाउने भट्टराई अहिले आफ्नै गाईको दैनिक १२ लिटर दूध संस्थानलाई बिक्री गर्दै आउनुभएको छ । भट्टराईले भन्नुभयो, “बजारमा पाइने मिनरल वाटरको मूल्य त प्रतिलिटर ३० रुपियाँ पर्न थालिसक्यो ।

किसानले घाँसका भारी बोकेर उत्पादन गरेको दूधको मूल्य उचित दिनुपर्छ भनेर सरकार कहिले सचेत नभएको देख्दा दुःख लाग्छ । ” इलाम जिल्लामा बसोबास गर्ने ६० प्रतिशत जनसङ्ख्या पशुपालनमै निर्भर रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय इलामले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार आव २०७७/७८ मा इलाम जिल्लामा एक लाख २५ हजार १९३ मेट्रिक टन दूध उत्पादन भएको थियो । दैनिक रूपमा भने तीन लाख ४२ हजार लिटर दूध उत्पादन हुने गरेको कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले बताउनुभयो ।

कार्कीका अनुसार जिल्लामा उत्पादित दूध दुग्ध विकास संस्थान विराटनगर, जिल्लामै सञ्चालित साना डेरी उद्योग र चीज उद्योगमा खपत हुने गरेको छ भने केही दूध खानका लागि प्रयोग हुने गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter