क्यालिब्रेशन फ्लाइटका लागि अझै डेढ महिना लाग्ने

लक्ष्मण पौडेल / भैरहवा, पुस ४ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी माघको दोस्रो सातासम्ममा बल्ल क्यालिब्रेशन फ्लाइट हुने भएको छ । विदेशबाट आउनुपर्ने प्राविधिक समयमै नआउँदा यसमा केही बिलम्व भएको र अहिले प्राविधिक आएर आन्तरिक उपकरणहरुको चेकजाँच गर्ने काम गरिरहेकाले अवको डेढ महिनाभित्रमा क्यालिब्रेशन फ्लाइट हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता देवचन्द लाल कर्णका अनुसार क्यालिब्रेशन फ्लाइटका लागि विमानस्थलमा विद्युतको समस्या समाधान भैसकेको, प्राविधिकहरुलाई तालिम दिने काम भैरहेको र मेसिनहरुको परीक्षण चलिरहेकाले डेढ महिनाभित्र यी काम सम्पन्न गरी क्यालिब्रेशन फ्लाईट हुनेछ ।

जनवरीको अन्तिम वा फेब्रुअरीको पहिलो सातामा क्यालिब्रेशन फ्लाईट हुने र त्यसका तीन महिनामा व्यवसायिक उडान सुरु गर्ने गरी तयारी भैरहेको प्रवक्ताले कर्णले बताउनुभयो । “व्यावसायिक उडानपछि नियमित उडानका लागि आवश्यक प्रक्रियागत काम तीन महिनामा सकिन्छ, आगामी अप्रिलदेखि व्यवसायिक उडान सुरु गर्ने गरी तयारी भैरहेको छ”–उहाँले भन्नुभयो ।

अहिले क्यालिब्रेशन फ्लाईटका लागि एरो थाईका प्राविधिकहरु नेपाल आइसकेका छन् । तर जहाज भने आएको छैन । “बीचमा कुनै बाधा भएन भने अप्रिलदेखि व्यवसायिक उडान सुरु हुन्छ”–प्राधिकरणका प्रवक्ता कर्णले भन्नुभयो ।

क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना आईसीपी २ का प्रमुख प्रवीण न्यौपानेले बताउनुभयो । जडान भएका उपकरणहरुले काम गरेको या नगरेको, विमानका पाइलटले टावरसँग सम्पर्क गर्दा निर्देशनहरु राम्ररी सुनिएको वा नसुनिएको लगायतका कुरा क्यालिब्रेशन फ्लाइटबाट थाहा हुन्छ ।

एरो थाई कम्पनीले विमानस्थलमा सञ्चारदेखि लाइटका उपकरण जडानको जिम्मा पाएको थियो । तर थाई सरकारले कोरोनाको कारण देखाउँदै आफ्नो देशका प्राविधिकहरुलाई बाहिर जान अनुमति नदिएकोले एक वर्ष ढिलाई भएको प्रवक्ता कर्णको भनाइ छ । “थाई प्राविधिकहरु समयमा नआउँदा क्यालिब्रेशन फ्लाईट केही ढिला भएको हो, तर अहिले थाई प्राविधिक आएका छन्, तर जहाज आएको छैन, अव कहाँबाट अन्य प्राविधिकहरु ल्याउने त्यो काम थाई एरोको हो”–उहाँले भन्नुभयो ।

क्यालिब्रेशन फ्लाइटका लागि युरोप र अमेरिकाका प्राविधिक पनि ल्याउनुपर्ने बताइएको छ । प्रथम चरणको निर्माण सकिएको विमानस्थलमा क्यालिब्रेशन फ्लाईटका लागि थाई, अमेरिकन र युरोपका प्राविधिक एकसाथ हुनुपर्छ । तीन मुलुकका प्राविधिक एकसाथ नजुट्दा ढिलाइ हुन पुगेको हो ।

दुईचरणमा निर्माण भएको विमानस्थल आइसिपी १ र आइसिपी २ अन्तर्गत काम भएको छ । आईसिपी १ अन्तर्गत धावनमार्ग, ट्याक्सी–वे, टर्मिनल बिल्डिङलगायतका संरचना निर्माण भएका छन् भने आईसिपी २ अन्तर्गत हवाईजहाज पाईलट र विमानस्थलबीचको समन्वयको लागि प्राविधिक काम भएको छ । विमानस्थलमा तीनहजार मिटर लामो धावनमार्ग, जहाज पार्किङ गर्ने एप्रोन, सब वे, ट्याक्सी–वेलगायतका संरचना निर्माण भएका छन् । मुख्य टर्मिनल भवन, टर्मिनल टावर, ट्याक्सी पार्किङलगायतका संरचनाको काम पनि सकिएको छ । कार्गो भवन पनि करिब सक्पन्न हुने अवस्थामा पुगेको छ । यसको लागत ९० करोड ३६ लाख ३४ हजार ६०० रुपियाँ छ ।

विमानस्थलको सुरुको लागत छ अर्ब २२ करोड रहे पनि काम सकिँदासम्म लागत बढेर आठ अर्व ८२ करोड पुगेको छ । विमानस्थल विस्तारका लागि करिब २२ सय घरधुरीलाई २३ अर्ब मुआब्जा वितरण गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter