सर्वदलीय बैठक सम्पन्‍न : संसद्‍को गतिरोध र एमसीसीबारे छलफल

काठमाडौँ, पुस ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा भएको सर्वदलीय बैठक सम्पन्न भएको छ । संघीय संसद्‍को गतिरोध र अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीको विषयमा छलफल गर्दै बैठक सम्पन्न भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सर्वदलीय बैठकमा लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्‍मा गर्दै आएको अवरोध र एमसीसी सम्झौताको विषयमा छलफल भएको हो । बैठकमा फेरि छलफल गरेर निष्कर्षमा पुग्ने सहमति भएको उहाँको भनाइ छ ।

‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गर्नुभयो’, प्रवक्ता कार्कीले भन्नुभयो, ‘अवरुद्ध संसद् र एमसीसीको विषयमा व्यापक छलफल भयो । फेरि थप छलफल गरेर निष्कर्षमा पुग्ने सहमति भएको छ ।’

संसद् अवरुद्ध हुँदा संसद्को काम र जनताको अपेक्षा प्रभावित भएको विषयमा गम्भीर छलफल भएको उहाँको भनाइ छ । असहमति प्रकट गर्ने थलो संसद् भए पनि सशक्त प्रतिपक्षी दलले त्यसलाई बन्धक बनाउनु नहुनेमा नेताहरुले जोड दिनुभएको छ । संसद् अवरुद्ध हुँदा समग्र संसदीय व्यवस्था कमजोर हुने भन्दै बैठकले यसको निकास खोज्न प्रतिपक्षी दल एमालेलाई अनुरोध गरेको छ ।

‘संसद्को गतिरोधले महत्वपूर्ण विधेयक अल्झिएका छन् । सशक्त प्रतिपक्ष हुनुको अर्थ संसद् चल्न नदिनु होइन’, प्रवक्ता कार्कीले बैठकपछि पत्रकारसँग भन्नुभयो, ‘असहमति प्रकट गर्ने थलो संसद् हो । तर, सिंगो संसद्लाई बन्धक बनाउँदा संसदीय व्यवस्था कमजोर हुन्छ । उपयुक्त निकास खोज्न सरकार तयार छ । यसको निकास खोज्न प्रतिपक्षलाई अनुरोध गर्दछौँ ।’

बैठकमा एमसीसी सम्झौतालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो । नेताहरुले एमसीसीको पक्ष र विपक्षमा धारणा राख्नु भएको छ । सम्झौतामाथि थप छलफल हुने उहाँले प्रष्ट पार्नुभयो । ‘एमसीसीलाई कसरी अगाडि लिएर जाने भन्ने बारेमा सबैले आआफ्नो धारणा राख्नुभएको छ’, प्रवक्ता कार्कीले भन्नुभयो, ‘केही साथीहरुले एमसीसीमाथि आशंका राख्नुभएको छ । यो विषयमा फेरि निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ ।’

प्रमुख प्रतिपक्षी दल एमाले उपस्थित हुनुपर्ने बैठकमा उपस्थित हुन नसकेको उहाँले बताउनुभयो । ‘एमाले उपस्थित हुनुपर्ने थियो तर उहाँहरु उपस्थित हुन सक्नुभएन’, प्रवक्ता कार्कीले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री देउवा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, सत्तारुढ गठबन्धनका शीर्ष नेताको सहभागिता थियो ।

बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जनमोर्चाका नेताले एमसीसीलाई अगाडि बढाउनु नहुने बताउनुभएको छ । बैठकमा सहभागी नेता प्रेम सुवालका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संशोधन नभएसम्म एमसीसी स्वीकार गर्न नसकिने धारणा राख्नुभएको छ । माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठले संशोधन नहुँदै अगाडि बढे त्यसलाई समर्थन गर्न नसकिने उल्लेख गर्नुभयो ।

समाजवादी पार्टीका महासचिव डा. बेदुराम भुसालले संशोधनबिना अगाडि बढाउनु नहुने धारणा अगाडि सार्दा डा. बाबुराम भट्टराई, प्रकाशशरण महत र रामचन्द्र पौडेलले अब प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभएको छ । आफ्नै पालामा हस्ताक्षर भएको भन्दै डा. भट्टराईले एमसीसीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको नेता सुवालको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter