जुनारले पँहेलपुर बगैचा, किसान दङ्ग

बाबुराम देवकोटा / सिन्धुली, पुस १५ गते । गोलान्जोर गाँउपालिका– ४ तीनकन्या निवासी किसान सुरेन्द्र ठकुरीले १६ रोपनी जमिनमा गर्नुभएको जुनार खेतीको बगैंचा यतिखेर पँहेलपुर बनेको छ । बोटमा लटरम्म फलेको जुनारको दाना देखेर उहाँ दङग हुनुहुन्छ । बगैचामा अहिले ३५० बोट जुनार र ३५० बोट सुन्तला छन् ।

उहाँले भन्नुभयो, ‘हरेक बर्ष मङसिरको दोस्रो हप्तादेखि माघको अन्तिमसम्म जुनार सुन्तलाले बगैंचा नै पँहेलपुर बनेको छ । पँहेलपुर बगैचाले जो कोहीलाई पनि लोभ्याउने गर्दछ ।’ गत बर्ष सिजनमा जुनार सुन्तला बिक्री गरी १२ लाख ४८ हजार रुपियाँ सबै खर्च कटाएर आम्दानी लिएको उहाँले बताउनुभयो ।

गत बैशाख महिनामा परेको असिनाले झारेर बाँकी रहेको जुनारको चिचिला मनै लोभ्याउने गरी सप्रिएर फलेको ठकुरीको भनाई छ । अर्का किसान जितबहादुर ठकुरीले पनि २०३८ सालदेखि जुनार खेती गर्दै आउनुभएको छ । उहाँको नौ रोपनी जमिनको जुनारको बगैचामा अहिले २५० बोट जुनार छन् । उहाँले थप्नुभयो, ‘गत बैंशाखमा असिना पानीले हिर्काउदा सबै जुनारका चिचिला झारेकोजस्तो लागेको थियो । सोचेजस्तो रहेनछ, बोटमा बसेका चिचिला अहिले लटरम्म फलेर बगैंचा पँहेलपुर बनेको छ ।’

परिवारको जीवीकाको मुख्य आधार नै अहिले जुनारखेती भएको उहाँले बताउनुभयो । जुनारको राजधानी भनेर चिनिने सिन्धुलीको महाभारत उत्तरतर्फका बगैंचा यतिखेर पहेंलपुर छन् । लटरम्म फलेका जुनारका दानाले गाउँको बगैंचा र बीपी राजमार्ग आसपासका बजार नै पहेंलपुर छ । जुनार विक्रीबाट हुने आम्दानीको कल्पना गरेर किसान गद्गद् छन् । जुनारको फेदैसम्म कच्चि सडक पुगेकाले ओसार्न पनि सहज छ ।

यस क्षेत्रमा जुनार विक्रीबाट बर्सेनी किसानले दुईदेखि २० लाखसम्म आम्दानी लिने गरेको स्थानीयको भनाई छ । जिल्लामै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलन्जोर गाउँपालिका–४ को माझकुभिण्डे र आलेगाउँ पहेंलपुर बनेको छ । जुनार विक्री गर्ने यो मध्ये समय भएको कृषकहरुको भनाई छ । अब बगैंचामा आधाजसो जुनार बाँकी छन् । यो वर्ष कोभिड र किराको हल्लाले धेरैजसो जुनार बोटमै भए पनि जुनार विक्री हुनेमा किसान ढुक्क छन् ।

चिनियाँ व्यापारीसहितको टोलीले सिन्धुलीको जुनार निर्यातका लागि गाउँमै पुगेर सम्भाव्यता अध्ययन गरेकाले समेत किसानलाई थप उर्जा मिलेको छ । बाहिरी मुलुकबाट समेत व्यापारीहरु आएकाले बोटमा कुहिएर जाने अवस्था पक्कै नआउनेमा किसान ढुक्क रहेका सोही ठाँउका अर्का किसान लोकबहादुर आलेले बताउनुभयो । उहाँकोअनुसार जुनारको बजार काठमाडौं तथा प्रमुख अन्य शहरहरु हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनका प्रमुख देवराज अधिकारीकाअनुसार जिल्लामा यो बर्ष एक हजार ३४५ हेक्टर जमिनमा जुनार खेती गरिएको छ । जिल्लामा गत बर्ष जुनार खेतीबाट आठ हजार ८८१ मेट्रिकटन जुनार उत्पादन भएको थियो । स्थानीय तहका ७९ वटा वडामध्ये आठ वटा वडामा व्यवसायिक रुपमा जुनार खेती हुदैआएको छ । रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, बाशेश्वर, मझुवा र दुम्जालगायतका ठाँउ जुनार खेतिका लागि पकेटक्षेत्र मानिन्छ ।

सिन्धुलीमा गत बर्ष उत्पादन भएको जुनारबाट किसानहरुले झण्डै ७० करोड रुपियाँ भित्र्याएको जुनार केन्द्रीय सहकारी सङघले जनाएको छ । बोट बिरुवाको काँटछाटदेखि लिएर फल टिप्ने र यातायातको साधनसम्म ढुवानी गर्दा सयौंको सङख्यामा स्थानीय व्यक्तिले रोजगारी पाउने गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter