धर्म गन्धर्व अर्थात् सारङ्गीको धुन

विष्णु पाण्डेय / काठमाडौं, पुस १७ गते । नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्दै समाजमा सारङ्गीको उपयोगिताको बारेमा जानकारी गराउन प्रयासरत नाम हो, धर्म गन्धर्व । सारङ्गीले कहिले दुःखीका गीत बोल्छ, कहिले राष्ट्र प्रेमको गीत बोल्छ । सारङ्गी बजाएर गन्धर्व जातिले समाजमा चेतना जगाउन एक ठाउँको खबर अर्को ठाउँमा पुर्याउदै बेदनाका गीत गाउँछन् । एक छाक खान नपुगेर ज्यानको बाजी लगाएर विदेश पुग्नेका पीडा, भर्खर एक भएका जोडी छुट्टिएर एउटा परदेश र अर्को घर बस्नुपर्ने बाध्यात्मक अवस्थालाई सारङ्गीको धुनले भावुक बनाउँछ ।

वि.स २०३३ सालमा तनहुँमा जन्मिनुभएका गन्धर्वले अहिलेसम्म ३० हजार बढी गीतमा सारङ्गी बजाई सक्नुभएको छ । तीन भाइमध्येका कान्छा छोरा गन्धर्वलाई सानैमा बुवासँगै अरुको घरमा सारङ्गी बजाएर हिँड्न लाज हुन्थ्याे । बुवाले अरूको घरमा सारङ्गी बजाएर गुजारा चलाउन गाह्रो हुने भन्दै आफूहरूलाई पढ्नुपर्छ भनेको उहाँ सम्झनुहुन्छ । ‘बुवाले हामीले जस्तो दुःख तिमीहरूले गर्नु हुँदैन राम्रोसँग पढ भन्नुहुन्थ्यो, त्यसकारण पनि अरुको घरमा गएर सारङ्गी बजाएर हिँड्न अप्ठ्यारो भयो,’उहाँ भन्नुहुन्छ ।

गन्धर्वको घरमा जन्म लिनुभएका उहाँलाई सारङ्गी बजाउन गाह्रो भएन तर सारङ्गीप्रतिको मायाले गर्दा उहाँले नेपाली सेनाको जागिर पनि छाड्नुभयो । २०५३ सालमा नेपाली सेनाको जागिरमा प्रवेश गर्नुभएका उहाँले १३ वर्षपछि जागिर छाड्नुभयो । सेवामा रहँदा विदेशी ब्याण्डको बाजा बजाउन लगाइयो तर उहाँलाई आफ्नो जातिको सारङ्गी भन्दा त्यो बाजा प्यारो लागेन । त्यसपछि उहाँ जागिर छाडेर सारङ्गी बोकेर हिँड्नुभयो ।

राइफल बोकेर हिँडेको हातले सारङ्गी बोकेर हिँड्न पाउदा उहाँलाई खुसी लाग्यो । नेपाली सेनामा रहँदा उहाँले सारङ्गी नबजाएको त होइन तर सीमित समयमा मात्र सारङ्गी बजाउदा उहाँलाई मनमा सन्तुष्टि मिलिरहेको थिएन । सारङ्गीको यादले उहाँलाई मनमा जागिर छाड्ने हुटहुटी बढिसकेको थियो । जागिर पछिको भविष्यको चिन्ता भने उहाँलाई कहिल्यै भएन । बुवाले सारङ्गी बजाएर खान सकिन्छ भनेको कुरा सम्झिनुभयो । त्यसपछि उहाँले त्यो जागिर छोडिदिनुभयो ।

जागिर छाडेर पनि सारङ्गी बजाएर नै खान लगाउन पुगेको उहाँले सुनाउनुभयो । सारङ्गी बजाएर नै गुजारा चलिरहेको छ । दिनमा ४३ वटा गीतमा सारङ्गी बजाएको मलाई सम्झना छ,’ गन्धर्वले भन्नुभयो । २०६६ सालमा जागिर छाडेर सारङ्गीमै भविष्य देख्नुभएका उहाँले अहिलेसम्म्म ३० हजार बढी गीतमा सारङ्गीको धुन दिइसक्नुभएको छ । ‘जागिर छोडेपछि दोहोरी साँझमा काम गर्न थालेँ, व्यावसायिक गीत बजाउन थालेपछि सबैको विश्वास जित्न सफल भएँ’, उहाँले भन्नुभयो ।

उहाँले नेपाली लोकगीतमा मात्र नभई लोकपप, भजनका साथै हिन्दी, तामिलनाडुँ भाषाका गीतमा पनि आफ्नो सारङ्गीको धुन दिइसक्नुभएको छ । चर्चित गायक स्व.झलकमान गन्धर्वका गीतहरूले पनि उहाँलाई सारङ्गीप्रतिको माया अझ बढाइदिएको छ । देशमा द्वन्द्वकालमा सारङ्गी बजाएर ६३ जिल्लामा हिँडेको उहाँ सम्झनुहुन्छ । ‘द्वन्द्वकालमा म सेनामै रहदा गीत गाउँदै ६३ जिल्ला पुगेको छु । सेनामै रहँदा ज्यानको धेरै जोखिम थियो । घरबाट बुवा–आमाले जागिर छाड्न आग्रह गरिरहनुभएको थियो तर खाइरहेको जागिर छाड्न मन पनि लागेको थिएन। हाम्रो टोली जहाँ–जहाँ बास बस्थ्यो त्यसको भोलिपल्ट त्यही ब्यारेकमा आक्रमण हुन्थ्यो,’ उहाँले सुनाउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter