नेपालको जनसंख्या दुई करोड ९१ लाख; सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौं र कम मनाङमा

काठमाडौं, माघ १२ गते । नेपालका जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गर्नुभएको हो ।

जनगणनाको तथ्याङक अनुसार पुरुषको भन्दा महिलाको जनसंख्या छ लाख नौ हजार ८५८ ले बढी रहेको छ । तथ्याङक अनुसार हाल महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको विभागले जनाएको छ । त्यसै गरी विदेशमा रहेका नेपालीको तथ्याङक २१ लाख ६९ हजार ४७८ छ।

२०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । १० वर्षको तुलनामा जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत छ । विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ ।

सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौं र कम मनाङमा

देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौँमा देखिएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार काठमाडौंमा २० लाख १७ हजार ५३२ जना रहेका छन्। सबैभन्दा कम जनसङ्ख्या मनाङमा पाँच हजार ६४५ जनाको अक्सर बसोबास रहेको छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसङख्या भएका जिल्ला हुन्।

कम जनसङ्ख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन् । जिल्लाअनुसार हेर्दा सबैभन्दा बढी लैङ्गिक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैङ्गिक अनुपात प्यूठानको ८२ छ ।

जिल्लागत वार्षिक जनसङ्ख्या वृद्धिदरलाई हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक देखिएको छ जुन गत २०६८ को जनगणनाअनुसार २७ जिल्लामा ऋणात्मक देखिएको थियो ।

यसैगरी सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुरमा ३.३२ प्रतिशत र सबैभन्दा कम रामेछाममा १.६५ प्रतिशत रहेको छ ।

हिमाली जिल्लामध्ये मुगुमा सबैभन्दा बढी १.८० वार्षिक जनसङ्ख्या वृद्धिदर देखिन्छ । ग्रामीण–सहरी जनसङ्ख्या वितरण नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई सहरी तथा गाउँपालिकाको क्षेत्रलाई ग्रामीण क्षेत्र मान्दा २०७८ सालको कूल जनसङ्ख्यामा सहरी जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसङ्ख्या ३३.९२ प्रतिशत पुगेको छ ।

सङ्घीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्रानुसार वर्गीकरण गरेर २०६८ सालको जनसङ्ख्यालाई समायोजन गर्दा सहरी जनसङ्ख्या ६३.१९ प्रतिशत र ग्रामीण जनसङ्ख्या ३६.८१ प्रतिशत रहेको थियो ।

राष्ट्रिय जनगणना २०६८ मा ५८ नगरपालिका रहेको अवस्थामा कूल जनसङ्ख्याको १७.०७ प्रतिशत शहरी जनसङ्ख्या र ८२.९३ प्रतिशत ग्रामीण जनसङ्ख्या रहेको थियो ।

स्थानीय तहअनुसारको जनसङ्ख्या वितरण राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नगरपालिकामध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएका पाँच नगरपालिकामा क्रमशः काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका हुन् भने सबैभन्दा कम जनसङ्ख्या भएका पाँच नगरपालिकामा क्रमशः ठूलीभेरी, त्रिपुरासुन्दरी, मादी, लालिगुराँस र जिरी नगरपालिका पर्दछन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter