सुन्तला बेचेर साढे दुई करोड रुपियाँ आम्दानी

नवीन शिशिर विक / बागलुङ, माघ १५ गते । बागलुङ नगरापालिका– ८ सिगानाका सुन्तला उत्पादक कृषकले यस बर्ष सुन्तला विक्रीबाट करिव साढे दुई करोड रुपियाँ गाउँ भित्र्याउन सफल भएका छन् । सुन्तला उत्पादनको लागि मौसम प्रतिकुल तथा विक्री गर्ने बेला औसा कीराको प्रकोप भए पनि राम्रा राम्रा छनोट गरेर विक्री गर्दा सो रकम गाउँ भित्रिएको हो । यस बर्ष सिगानाको केही कृषकले आफै पोखरा लगेर विक्री गरेको बताएका छन् । कसैको सुन्तला बगैचामा व्यापारीले खरिद गरेर लगेको बताएका छन् ।

व्यापारिले सुन्तला बगैचामै गएर खरिद गर्दा प्रतिकिलो ६० रुपियाँ दिएपछि आफै पोखरा लगेर विक्री गर्दा प्रतिकिलो १२० रुपियाँसम्म विक्री गर्न सकिएको सुन्तला उत्पादक कृषक अनन्त खडकाले बताउनुभयो । यो वर्ष सुन्तला विक्रीबाट साढे चार लाख रुपियाँ आम्दानी गरेको उहाँले बताउनुभयो ।

सुन्तला टिप्ने ज्याला र यातायात खर्च घटाउँदा चार लाख रुपिययाँ खुद आम्दानी भएको खडकाको भनाइ छ । खडकाको सुन्तला बगैचामा दुई सय विरुवा रहेको उहाँको भनाइ छ । खडकाले सुन्तला पोखरा लगेर विक्री गर्नुभएको बताउनुभयो । सो स्थानका कृषक रामबहादुर खडकाले पनि यो बर्ष दुई लाख रुपियाँका सुन्तला विक्री गरेको बताउनुभयो । बर्षात र औसा किराको प्रकोपले उत्पादन र विक्रीमा समस्या भएको खडकाको भनाई छ ।

सिगाना सुन्तला उत्पादनको पकेटक्षेत्र र व्यावसायिक उत्पादन तथा छिटफुट सुन्तला उत्पादक कृषकले यो वर्ष साढे दुई करोड रुपियाँमा सुन्तला बेचेको वडाध्यक्ष जितबहादुर जिसीले बताउनुभयो । वडा कार्यालयले यस बर्ष पाँच करोडको सुन्तला विक्री हुने अनुमान गरेको थियो । मौसम प्रतिकूल हुँदा लक्ष्यअनुसारको सुन्तला उत्पादन हुन कठिन भएको अध्यक्ष जिसीको भनाइ छ ।

सिगानामा पछिल्लो पाँच बर्षमा तीस हजार सुन्तलाका विरुवा रोपिएका थिए । नयाँ विरुवा हुर्केर फल दिन पाँच वर्ष लाग्ने हुँदा बागलुङ नगरपालिकाले कृषकलाई सुन्तला बिरुवा रोपेको जग्गाको क्षेत्रफलअनुसार अनुदान रकम उपलब्ध गराएको छ ।

अन्न उत्पादनका हिसाब गरेर अनुदान दिएको नगरप्रमुख जनकराज पौडेलको भनाइ छ । सो क्षेत्रका करिव एक सयजना कृषक सुन्तला खेतीमा आबद्ध छन् । बगैचामा घटीमा दशदेखि बढीमा दुई सय सुन्तलाका बिरुवा छन् । नगरपालिकाले यो बर्ष दुई हजार सुन्तला र दुई हजार कागतीका बिरुवा अनुदानमा वितरण गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter