सिमसार दिवसः पर्यटनका नाममा सिमसारकाे पर्यावरण मासियो

विष्णु पाण्डेय / काठमाडौं, माघ १९ गते। प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा ‘मानिस र प्रकृतिका लागि सिमसारको भूमिका’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। सन् १९९७ देखि फेब्रुअरी २ लाई सिमसार दिवसको रुपमा मनाउँदै आइएको छ।
विश्वव्यापीरूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले रामसार महासन्धि १९७१ फेबु्रअरी २ मा इरानको रामसार सहरमा भएको थियो। यही सम्झना स्वरुप फ्रेब्रुअरी २ लाई सिमसार दिवसको रुपमा मनाउदै आइएको छ। नेपालका १० वटा सिमसार, रामसार क्षेत्र घोषित भएका छन्।
रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ।
सिमसार जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थल हो। सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ। नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ।
लोप हुँदै चरा
सिमसार चराचुरुङ्गीको आश्रयस्थल हो। पछिल्लो समयमा सिमसार मासिँदा चराहरु पनि हराउँदै गएका छन्। चराहरु लोप हुुनुको एउटा कारण सिमसार मासिनु रहेको चराविज्ञ डा. हेमसागर बराल बताउनुहुन्छ। सन् १९९० को दशकसम्म त्रिशूली, राप्ती, गण्डकी, बूढीगण्डकी, भोटेकोशीलगायत नदीमा तिलहरी चरा जताततै भेटिन्थ्यो। डा. बराल भन्नुहुन्छ, ‘त्यतिबेला बथानमा भेटिने तिलहरी चरा अचेल देखिनै छाडेका छन्।’ डा. बरालका अनुसार, संकटापन्न प्रजातिभित्र पर्ने तिलहरी चरा उदाहरण मात्र हो। चार दशकअघि उल्लेख्य मात्रामा देखिने अन्य चराको संख्या पनि अचेल घटेको छ।
सिमसार क्षेत्रमा सानो पोखरी देख्नेबित्तिकै डुङ्गा राखेर सयर गर्नुपर्छ भन्ने मानसिकता छ। ‘यसले गर्दा जलचर चरालाई कति असर गर्छ भन्ने सोचिएकै छैन’, उहाँले भन्नुभयो। यहाँका रैथाने र आगन्तुक चरालाई कोलाहल मन नपर्ने भएकाले आगन्तुक चराहरुको संख्या विस्तारै कम हुँदै गएको डा. बराल बताउनुहुन्छ।
सिमसार क्षेत्रमा भएका विकास निर्माणले गर्दा सिमसार क्षेत्रमा आउने र त्यहाँ रहेका चरालाई असर गर्ने बराल बताउनुहुन्छ। सिमसार क्षेत्र अहिले वनभोज स्थल बन्ने गरेकोप्रति उहाँको दुखेसो छ। भन्नुहन्छ,‘अहिले सिमसार क्षेत्रलाई पर्यटकीय स्थल वनभोज स्थलको रुपमा विकसित गरिँदै छ, यसले सिमसार क्षेत्रको अस्थित्व मेटिन्छ कि भन्ने चिन्ता छ।’
सिमसार क्षेत्रको पर्यावरणीय पक्षमा ध्यान पुगेन
सिमसार सम्बन्धी जानकार युवराज कँडेलका अनुसार अहिले सिमसार क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्दा यसले दीर्घकालीन असर गर्न सक्ने बताउनुहुन्छ। केही समयका लागि फाइदा भए पनि यसले दीर्घकालीन असर निम्तने उहाँ बताउनुहुन्छ। ‘सिमसार क्षेत्रमा प्राकृतिक अवस्थालाई नै परिवर्तन गरेर भौतिक निर्माण गरिनु, मानिसको चहलपहल गराउनु राम्रो होइन’, कँडेल भन्नुहुन्छ, ‘यसले गर्दा चराचुरुङ्गी, जलचरको वृद्धि÷विकासमा असर पुग्दछ।’
सिमसार क्षेत्रको पर्यावरणीय स्वरुप परिवर्तन गरेर पर्यटकीय दृष्टिकोणले मात्र सिमसार क्षेत्रलाई उपयोग गर्न नुहुने उहाँको भनाइ छ। यस्तै वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले पनि सिमसार क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा लिने गरिएकाले यसो नगर्न आग्रह गनुभएको छ।
पछिल्लो समय स्थानीय तथा प्रदेश सरकारले सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्य भनेर प्रचार गरेकाले यसले सिमसार क्षेत्रको अस्तित्व नै संकटमा पर्ने बताउनुभयो। ‘सिमसार क्षेत्रको बीच भागबाट बाटो खन्ने, सिमसार क्षेत्रमा कोलाहल पैदा गर्ने खालका गतिविधि भइरहेका छन्। यसले सिमसार क्षेत्रमा रहेका पशुंपक्षी तथा जनावरलाई असर परेको छ,’ प्रवक्ता काफ्ले भन्नुहुन्छ।