प्रसस्त संभावना भएर पनि ओझेलमा स्की खेल

सनम महर्जन / काठमाडौं ,माघ २२ गते । हिमालै हिमालका देश नेपालमा स्की खेलको सम्भावना प्रसस्त रहेको भए पनि यसको विकास हुन सकेको छैन । नेपाल जस्तो हिमालै हिमाल भएको क्षेत्रमा स्कीको सम्भावना धेरै रहेको पर्यटन व्यावसायी तथा नेपाल माउन्टेन एकेडेमीका बोर्ड सदस्य छिरिङ जाम्बु शेर्पाले बताउनुहुन्छ ।
नेपालमा स्की टि बारको समस्या कारण स्की खेलमा कठिनाइ हुने गरेको उहाँले सुनाउनुभयो । ‘स्की खेलेर तल झरेपछि स्की लिएर माथि चढ्दा नै मान्छे थकित हुन्छ । त्यसकारण स्की लिएर माथि जाने स्की बार भयो भने सहज हुन्थ्यो,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार टीबार निर्माण भए दिनमा दुई–तीन हजार पटक स्की खेल्न सकिन्छ । स्की बार नहुँदा अहिले दिनमा १५–२० चोटी मात्र स्की खेल्न सकिएको शेर्पा बताउनुहुन्छ । चारदेखि छ सेन्टिमिटरसम्म हिँउ परेको खण्डमा स्की खेल्न सकिन्छ । पर्यटकहरुस्की खेल्न मन पराउने भएका कारण पनि हिँउदको समयमा यो व्यवसाय अझ फस्टाउने उहाँ बताउनुहुन्छ ।
स्की खेलमा रमाइलो सँगै खतरा पनि रहेको छ । स्की खेलाउन सक्ने क्षमतावान व्यक्तिको अहिले नेपालमा समस्या रहेको छ । स्की खेलाउन सक्ने क्षमतावान व्यक्ति उत्पादन गर्नका लागि नेपाल माउन्टेन एकाडेमीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको आर्थिक समन्वयमा सन् २०१५ देखि नै स्की खेलका लागि दक्ष जनशक्ति उत्पादनका लागि तालिम दिन सुरु गरिएको शेर्पा बताउनुहुन्छ । उहिलेसम्म ३०–३५ जना जनशक्ती उत्पादन भइसकेका छन् ।