किसानद्वारा पाहुनालाई गुन्द्रुक उपहार

बाबुराम शर्मा / चरीकोट, माघ २९ गते । प्रचार प्रसारका लागि दोलखाको शैलुङ गाँउपालिका –८ झोर गाँउका बासिन्दाले पाहुनाहरुलाई काउलीको पातबाट बनाइएको गुन्द्रुक उपहार पठाउने गरेका छन् । मेहेनती किसानहरुको गाँउ झोर काउली र आलु खेतीमा अब्बल रहेको छ । यो गाँउको प्रत्येक घरमा काउलीको पातको गुन्द्रुक बन्नेगरेको स्थानीय किसान अकुरबहादुर श्रेष्ठले बताउनुभयो ।

“घरमा खाने र पाहुनालाई उपहारको रुपमा गुन्द्रुक दिने गरिएको छ” उहाँले भन्नुभयो, “आगामी वर्षदेखि व्यवसायिक रुपमा गुन्दुक बनाउने सोच पलाएको छ । गुन्द्रुक राष्ट्रिय तरकारीको रुपमा चिनिन्छ तर प्रचार गर्न सकिएको छैन ।”

अर्का किसान दिपेश श्रेष्ठकाअनुसार काउलीको पातको स्वादिष्ट गुन्द्रुक बिक्री वितरण सुरु भइनसकेको भएपनि घरमा खाने र काठमाडौँ तथा पोखरातिर उपहारको रुपमा पठाउने गरिएको छ । केही समय प्रचार प्रचार गरी पछि व्यवसायिक रुपले गुन्द्रुक बिक्री वितरण गर्ने सोच बनाएको उहाँले बताउनुभयो ।

करिब १४० घरधुरी रहेको झोर गाँउमा प्रत्येक घरले काउली पातको गुन्द्रुक उपहारको रुपमा आफन्तलाई पठाउने र आफ्नो घरका लागि पनि आठ दश केजीसम्म बनाएर राख्नेगरेका छन् । गुन्द्रुक प्रतिकिलो दुई सय रुपियाँसम्म विक्री गर्न सकिने उहाँले बताउनुभयो ।

“यति मिठो र स्वादिलो गुन्द्रुक बन्ने काउलीका पातहरु गाईभैँसीले खाई सक्दैनन् । खेर गइरहेको छ” किसान दिपेशले भन्नुभयो । झोर गाँउका किसानहरुले प्रत्येकले कम्तीमा पनि २० रोपनीमा आलु र काउली लगाउने गरेको उहाँको भनाई छ । सो गाउँलेहरुले वार्षिक एक करोडसम्मको काउली र एक करोडकै आलु बिक्री वितरण गर्दैआएका छन् ।

आलु र काउली बिक्रीबाट एउटा परिवारले मासिक ७० हजारसम्म र वार्षिक चार देखि पाँच लाखसम्म आम्दानी गर्दैआएको स्थानीय किसानहरुको भनाई छ । काउली बिक्री गर्दा ठूला पातहरु छाट्नु पर्ने भएकाले त्यसको उपयोगिताको लागि गुन्द्रुक बनाउने गरिएको कृषकहरुले बताउनुभएको छ । काउलीको पातको गुन्द्रुक स्वादिलो हुने भएकाले आफन्तले रुचाउने गरेको किसान दिपेशले बताउनुभयो ।

शैलुङ गाँउपालिकाका अध्यक्ष भरत दुलालले झोर गाउँका किसानहरुले गुन्द्रुक उत्पादनका लागि सहयोग गर्न गाँउपालिकालाई अहिलेसम्म आग्रह नगरेको बताउनुभयो । माग आयो भने गाँउसभामा निर्णय गरेर पालिकाकाको तर्फबाट केही सहयोग गर्न सकिने उहाँको भनाई छ । (गोरखापत्र)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter