पुँजीगत खर्च सत्ताइस प्रतिशत

काठमाडौँ, वैशाख ४ गते ।चालू आर्थिक वर्ष पूरा हुन तीन महिना बाँकी रहँदा पनि पुँजीगत खर्च एक तिहाइ पनि हुन सकेको छैन । आव २०७८/७९ को नौ महिना पूरा भइसक्दा लक्ष्यको २७.४५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चैतसम्मको पुँजीगत खर्च एक खर्ब तीन अर्ब ७८ करोड रुपियाँ मात्र खर्च भएको हो ।

चालू आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ७८ अर्ब नौ करोड रुपियाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । यस हिसाबले सरकारले बाँकी तीन महिनाभित्र दुई खर्ब ७५ अर्ब रुपियाँ खर्च गर्नुपर्ने देखिन्छ ।

यद्यपि सरकारले मध्यावधि समीक्षामार्फत पुँजीगत खर्च कुल विनियोजनको करिब ३८ अर्ब घटाउँदै तीन खर्ब ४० अर्ब ३२ करोड रुपियाँ खर्च गर्ने लक्ष्य तोकेको थियो । यस हिसाबले पनि सरकारले बाँकी तीन महिनामा दुई खर्ब ३७ अर्ब रुपियाँ खर्च गर्नुपर्ने हुन्छ ।

कुल खर्च ४९ प्रतिशत

समीक्षा अवधिमा सरकारले कुल सात खर्ब ९४ अर्ब २५ करोड रुपियाँ खर्च गरेको छ जुन लक्ष्यको ४८.६४ प्रतिशत हुन आउँछ । चालू आर्थिक वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड रुपियाँ खर्च गर्ने लक्ष्य बजेटमार्फत सार्वजनिक गरेको थियो ।

यसमध्ये सबैभन्दा धेरै चालू शीर्षकमा खर्च भएको कार्यालयको तथ्याङ्क छ । चैतसम्म लक्ष्यको ५८.७२ प्रतिशत अर्थात् छ खर्ब २५ अर्ब ५० करोड रुपियाँ चालू खर्च भएको छ । वित्तीय खर्च भने लक्ष्यको ३४.२९ प्रतिशत अर्थात् ६४ अर्ब ९६ करोड रुपियाँ खर्च भएको छ । चालू आर्थिक वर्ष एक खर्ब ८९ अर्ब ४३ करोड रुपियाँ वित्तीय खर्च गर्ने सरकारको लक्ष्य छ ।

राजस्व दुई तिहाइ

लक्ष्यअनुसार शीर्षकगत बजेट खर्च नभए पनि राजस्व सङ्कलन भने सन्तोषजनक नै देखिएको छ । चैतसम्म सरकारले लक्ष्यको दुई अर्थात् ६६.८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चैतसम्म सात खर्ब ८९ अर्ब २६ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले ११ खर्ब ८० अर्ब ६० करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

कुल राजस्वमध्ये कर राजस्व ६८.१५ प्रतिशत अर्थात् सात खर्ब २७ अर्ब ७८ करोड रुपियाँ सङ्कलन भएको छ । चालू आर्थिक वर्ष १० खर्ब ६७ अर्ब ९६ करोड रुपियाँ कर राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै चैतसम्म ६१ अर्ब ४७ करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको छ । यो लक्ष्यको ५४.५८ प्रतिशत हो । चालू आर्थिक वर्षका लागि एक खर्ब १२ अर्ब ६३ करोड रुपियाँ गैरकर राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएको छ ।

अनुदान झन्डै १४ अर्ब

चालू आर्थिक वर्षको चैतसम्ममा १३ अर्ब ८८ करोड रुपियाँ अनुदान प्राप्त भएको छ । बजेटमार्फत चालू आर्थिक वर्ष ५९ अर्ब ९१ करोड रुपियाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखिएको थियो ।

त्यस्तै अन्य प्राप्तितर्फ सरकारले ३८ अर्ब ६१ करोड रुपियाँ सङ्कलन गरेको छ । राजस्व, अनुदान र अन्य प्राप्तिसमेत गरेर सरकारले चैतसम्म कुल आठ खर्ब ४१ अर्ब ७५ करोड रुपियाँ प्राप्त गरेको छ । यी सबै शीर्षकमार्फत चालू आर्थिक वर्ष सरकारले १२ खर्ब ४० अर्ब ५२ करोड रुपियाँ प्राप्त गर्ने लक्ष्य राखेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter