आफ्नै स्रोत साधनले स्थानीय तह निर्वाचनः प्रवक्ता पौडेल

लक्की चौधरी / काठमाडौं, वैशाख ५ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आफ्नै स्रोत साधनले सम्पन्न गर्ने बताएको छ । यसअघिजस्तो विदेशी दातृ संस्थाबाट निर्वाचन प्रयोजनका लागि सहयोग प्रतिवद्धता नआएपछि आयोगले आफ्नै आर्थिक स्रोतमा निर्वाचन सम्पन्न गर्ने बताएको हो ।

आयोगमा भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले अहिलेसम्म दातृ संस्थाबाट निर्वाचन प्रयोजनमा सहयोग गर्ने प्रतिवद्धता नआएको बताउनुभयो । निर्वाचनको समय नजिकिएकाले आवश्यक पर्ने करिब सबै निर्वाचन सामग्री आफ्नै आर्थिक स्रोतले खरिद गरिसकेको बताउनुभयो । नेपाल सरकारको आर्थिक सहयोगमै यस पटकको निर्वाचन सम्पन्न हुने उहाँले बताउनुभयो । “केही तालिम प्रशिक्षण कार्यक्रम बाहेक सबै निर्वाचन सामग्री आयोगले सरकारकै बजेटमा खरिद गरेको छ” प्रवक्ता पौडेलले भन्नुभयो ।

सोहीअनुसार स्थानीय तह निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटरहेड र छापमा एकरुपता कायम गर्न आयोगले ७७ वटै मुख्य निर्वाचन अधिकृत र ६७६ वटै निर्वाचन अधिकृतको कार्यालयलाई नमुना पठाएको उहाँले बताउनुभयो । सो नमुना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

चित्तबुझ्दो जवाफ पेश गर्न पत्राचार

त्यस्तै, स्थानीय तह निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने समाचार र सूचनाका आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेश गर्न पत्राचार गरेको छ । त्यसको जवाफ आउने क्रम जारी रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।

९५ लाख २५ हजार मतपत्र छपाइ

स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये सोमबारसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाई सम्पन्न भएको आयोगले जनाएको छ । बाँकी मतपत्रको छपाई युद्धस्तरमा भइरहेको आयोगको भनाइ छ ।

त्यस्तै, स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि गत चैत ३० गते ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण’ सम्पन्न गरेको छ । सो अवसरमा विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा तथा वैशाख २ गते जनकपुर, हेटौडा, बुटवल र धनगढीमा कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षणपछि सोही स्थानबाट निर्वाचन अधिकृतहरूलाई नियुक्तिपत्र दिइएको छ ।

यसैबीच राष्ट्रिय सञ्चारमाध्यमका निर्वाचनसम्बन्धी विषयमा समाचार लेख्ने समाचारदाता र फोटो पत्रकारका लागि मंगलबार काठमाडौँमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रवक्ता पौडेलले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

सुरक्षा व्यवस्थापन चुस्त

निर्वाचन आयोगका प्रवक्ता पौडेलकाअनुसार निर्वाचन आयोगमा सुरक्षा व्यवस्था चुस्त रहेको बताउनुभएको छ । पतपत्र छपाइ तथा अन्य कामबारे आयोगले टेलिभिजनलाई फुटेज खिच्न नदिएको पत्रकारको जिज्ञासामा प्रवक्ता पौडेलले सुरक्षा व्यवस्थापनलाई ख्याल गरी सो कार्य गर्न अनुमति नदिइएको बताउनुभयो । आयोगले निर्वाचनसम्बन्धी गरेका सबै कार्य प्रगति र विवरण मिडिया सेन्टरबाट प्रेस मिट मार्फत जानकारी गराउने उहाँले बताउनुभयो ।

अपाङ्गमैत्री मतदान केन्द्र

आयोगका प्रवक्ता पौडेलले आगामी निर्वाचनमा अपाङ्गमैत्री मतदान केन्द्र स्थापनाका लागि आयोगले ध्यान दिएको बताउनुभएको छ । विगतका निर्वाचनमा केही कमी कमजोरी भएको र त्यसबाट शिक्षा लिंदै अवका दिनमा अपाङ्गमैत्री मतदान केन्द्रमा आयोगले ध्यान दिने उहाँले प्रष्ट पार्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter