वातावरणीय अध्ययन गरेर मात्रै प्राकृतिक स्रोतको उत्खनन गर्न राष्ट्रपतिको आग्रह

बाबुराम देवकोटा / सिन्धुली असार २ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको वातावरणीय अध्ययन गरेर मात्रै ढुङ्गा, गिटी र बालुवा जस्तो प्राकृतिक स्रोतको उत्खनन तथा सङ्कलन गर्न आग्रह गर्नुभएको छ ।

उहाँले बिहीबार सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित रानीबासमा राष्ट्रपति चुरे–तराई संरक्षण विकास समिति र नेपाली सेनाको श्री नं. १ वन तथा पर्यावरण सुरक्षा गणले संयुक्त रुपमा आयोजना गरेको आठाैं चुरे दिवसको अवसरमा एक दिनमा एक लाख बिरुवा वृक्षरोपण कार्यक्रमको शुभारम्भ समारोहमा यस्तो आग्रह गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको चर्चा गर्नुहुँदै चुरे क्षेत्रमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई भावी पुस्ताको लागि बाँच्न पाउने अधिकारसमेतलाई ख्याल गरेर यस क्षेत्रको व्यवस्थित विकास गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चुरे क्षेत्रमा बाघ, भालु, गैंडा, हात्ती, अर्नालगायत अन्य वन्यजन्तुको बासस्थान रहनुका साथै विभिन्न जडीबुटी जन्य वनस्पतिको खानी छ । तराई मधेस क्षेत्रमा सिंचाइका लागि आवश्यक पर्ने पानीको स्रोतसमेत चुरेमा छ ।’

‘कमलामाई नदी प्रणालीमा १२ वटा उपनदी प्रणालीको सञ्जाल छ । कमलामाई नदी प्रणालीलाई शिरदेखि तीरसम्म एकीकृत जलाधार व्यवस्थापनको अवधारणाअनुसार व्यवस्थापन गर्न सकियो भने यस क्षेत्रलाई भविष्यमा पर्यापर्यटन, कृषि‚ वन र हरित अर्थतन्त्रको केन्द्रबिन्दुको रूपमा विकास गर्न सक्ने प्रशस्त सम्भावना मैले देखेको छु ।’ उहाँले भन्नुभयाे ।

चुरे क्षेत्रमा जनसङ्ख्या वृद्धि, बसाइँसराइ, भौतिक पूर्वाधार विकासका कारण सहरीकरण दिन प्रतिदिन बढी रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले यस प्रकारको बृहत्तर वृक्षरोपण कार्यक्रमले वन क्षेत्रको वृद्धि, जैविक विविधताको संरक्षण, कार्बन सञ्चिति, भूसंरक्षण तथा पानीको स्रोतको वृद्धि गर्न तथा स्थानीय समुदायको जीविकोपार्जनको अवसर सिर्जना गर्न मद्दत पुग्ने बताउनुभयो ।

‘हामीले बिरुवा रोपेर मात्रै हुँदैन,’ उहाँले भन्नुभयो, ‘हुर्केका बिरुवालाई स्याहार, सम्भार, संरक्षण गर्न पनि उत्तिकै महत्वपूर्ण छ ।’ राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले आफ्नो पाँच वर्षको कार्य अनुभवको समीक्षा गर्दै विगतको सिकाइको आधारमा गुरुयोजना संशोधन गर्न लागेको उहाँको भनाइ थियो ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले चुरे संरक्षण गर्न आउने दिनमा वृक्षरोपण कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने बताउनुभयो । उहाँले आउने वर्षसम्म मन्त्रालयको तीन करोड वृक्षरोपण गर्ने योजना रहेको सुनाउँदै देशभर यतिधेरै वृक्षरोपण एकै दिन शुभारम्भ भएको इतिहासमा नै पहिलो पटक भएको बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम राष्ट्रिय गौरवको आयोजना भएको चर्चा गर्दै अर्बौं रुपियाँ लगाएर बनाएका सडक र पुल चुरे विनाशकै कारण भत्किरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले डोजर लगाएर सडक बनाउनेलाई मात्र विकास ठान्छौं, त्यो मात्रै विकास होइन ।’

तीनै तहको सरकारको संयुक्त प्रयासबाट मात्रै चुरे संरक्षण हुने उहाँको भनाइ थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले विशाल सामुदायिक वनमा वर र पीपलको बिरुवा रोपेर वृक्षरोपणको शुभारम्भ गर्नुभएको थियो । विशाल उपभोक्ता वन समूहमा १० हेक्टर जमिनमा वर, पीपल, आँप, कटहरलगायत १६ हजार बिरुवा रोपिने आयोजकले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter