सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययनको सुरुवात गर्नुपर्छ : प्रधानमन्त्री देउवा

लक्ष्मणदत्त पन्त / महेन्द्रनगर, असार ३ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्रको पठनपाठन सुरुवात गर्नुपर्ने बताउनुभएको छ। शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्री देउवाले सुदूरपश्चिम विश्वविद्यालयको प्रशंसा गर्नुहुँदै यो विश्वविद्यालयले देशको शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘सुदूरपश्चिम विश्वविद्यालयले मुलुकमा आवश्यक दक्ष जनशक्ति उत्पादन गरेर जनशक्तिको खाँचो पूरा गरेको छ। यसले दुर्गम क्षेत्रका विद्यार्थीलाई योग्य बनाउन सहयोग गरेको छ। अब विश्वविद्यालयले चिकित्सा क्षेत्रमा पढाइको सुरुवात गर्नुपर्छ, यसमा सरकारको पूर्ण सहयोग रहनेछ।’’

डडेलधुरामा खोलिने भनिएको मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत चलाइनेसमेत प्रधानमन्त्रीले बताउनुभएको छ। यसका लागि सरकारले काम सुरु गरिसकेको उहाँको भनाइ छ। विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले सम्पूर्ण विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्नुभयो। सबै विद्यार्थीले देशका लागि योगदान पुर्‍याउनेमा आफू ढुक्क रहेको उहाँको विश्वास छ।

सुदूरपश्चिम विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सुदूरपश्चिम विश्वविद्यालय उच्च शिक्षाको थलोको रुपमा रहेको र यसले देशको आर्थिक र सामाजिक रुपान्तरणमा खेल्ने भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्राध्यापक नरेन्द्रकुमार जोशीले विद्यार्थीले एउटा लक्ष्य राखेर मात्र नहुने बताउँदै लक्ष्यअनुसार कामलाई अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो। उहाँले आफ्नो विश्वविद्यालयले सुदूरपश्चिम विश्वविद्यालयसँग जुनसुकै सहयोग तथा सहकार्य गर्न तयार रहेको बताउनुभयो।

समारोहमा बोल्नुहुँदै उपकुलपति प्रा.डा. अम्मरराज जोशीले सुदूरपश्चिम विश्वविद्यालय क्रमिक रुपमा अगाडि बढिरहेको बताउनुभयो। कार्यक्रममा प्रत्यक्ष रुपमा ३१८ जना विद्यार्थी सहभागी भएका थिए। दीक्षान्त समारेहमा उपस्थित हुन योग्य एक हजार ५५८ जना रहे पनि आवेदन ३१८ को मात्र आएको उपकुलपति जोशीले जानकारी दिनुभयो। समारोहमा तीन जना विद्यार्थीलाई चान्सलर, चार जनालाई भाइस चान्सलर र २९ जनालाई स्वर्ण पदक प्रदान गरिएको छ।

सुदूरपश्चिम विश्वविद्यालयमा हाल १६ वटा अंगिक क्याम्पस रहेका छन्।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter