कुलेखानीको पानी काठमाडौंमा ल्याइन्छ : खानेपानी मन्त्री

मकवानपुर / असार ७ गते। खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको बढ्दो जनसङ्ख्यालाई ध्यानमा राख्दै सरकारले मकवानपुरको कुलेखानी खोलामा बाँध बनाई दैनिक १५ करोड लिटर पानी काठमाडौंमा वितरण गर्ने बताउनु भएको छ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले दिएको सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित प्रस्तावित बाँधस्थलको निरीक्षण गर्न जानुभएका मन्त्री चौधरीले यस्तो जानकारी दिनुभएको हो।

मन्त्री चौधरीले वर्षा र बाढीका कारण मेलम्चीको पानी सुन्दरीजलतर्फ पथान्तरण गर्न नसक्ने अवस्थामा र सुख्खायाममा पानीको माग बढेको बेला कुलेखानी खोलाको पानी काठमाडौंमा उपत्यकामा दैनिक करिब १५ करोड लिटर वितरण गर्न सकिने योजना रहेको सञ्चारकर्मीसँग बताउनु भयो।

दुई वर्षभित्रै लिफ्टिङ गरेर लाने प्रस्ताव

उहाँले कुलेखानीको पानी दीर्घकालीन रुपमा बाँध बाँधेर काठमाडौँ लैजाने र अल्पकालीन रुपमा दुई वर्षभित्रै लिफ्टिङ गरेर लैजान सकिने बताउनु भयो।

काठमाडौं उपत्यका खानेपानी खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. संजीवविक्रम राणाले सिस्नेरी खोलामा बाँध निर्माण गर्ने स्थल भौगोलिक रुपमा उपयुक्त, वातावरणीय प्रभाव न्यून रहेको र थोरै समुदाय मात्र प्रभावित हुने र पाइपलाई विस्तार गर्न काठमाडौं–तराई/मधेश द्रूतमार्गको किनारा प्रयोग गर्न सकिने बताउनुभयो।

सैंबु भैंसेपाटीस्थित पानी पोखरीमा ल्याइने

काठमाडौंको फर्पिङ पम्पिङ स्टेसनबाट करिब १४ किलोमिटर दक्षिणमा रहेको कुलेखानी खोला, सिस्नेरी खोला र बागमती नदी नजिक रहेको प्रस्तावित बाँध स्थलबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सैंबु भैंसेपाटीस्थित पानी पोखरीमा दैनिक करिब १५ करोड लिटर पानी पठाउन सकिने सम्भाव्यता अध्ययनले देखाएको छ।

बागमती नदीभन्दा करिब दुई सय मिटर पश्चिमतर्फ सिस्नेरीको कुलेखानी खोलामा निर्माण गरिने प्रस्तावित बाँधको लम्बाई तीन सय ४० मिटर र उचाइ ६० मिटर रहने बोर्डका कार्यकारी निर्देशक डा. राणाले बताउनुभयो।

बाँधस्थलमा जम्मा भएको पानीलाई करिब २ किलोमिटर उत्तरतर्फको एक हजार चार सय १० मिटर अग्लो दरबानडाँडा निर्माण हुने पानीपोखरी र पानी प्रशोधन केन्द्रमा पम्पिङ गरी पठाइने उहाँले बताउनु भयो।

प्रस्तावित दरबानडाँडा पानीपोखरीबाट निर्माणाधीन दू्रतमार्गमा करिब १९ किलोमिटर उत्तरतर्फ पाइपलाइन बिच्छ्याइ ललितपुरस्थित एक हजार तीन सय ७० मिटर उचाइमा रहेको सैंबु पानी पोखरीमा खसालिने प्रस्ताव अध्ययनमा गरिएको छ।

बाँध निर्माण गर्ने स्थलले ८२ वर्गकिलोमिटर जलाधार क्षेत्र ओगट्ने छ भने दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गर्न सकिने प्रस्ताव गरिएको छ। प्रस्तावित आयोजना स्थल मकवानपुर जिल्लाको भीमफेदी र इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा पर्दछ।

सरकारले काठमाडौं उपत्यकाको दू्रत गतिमा बढ्दै गएको जनसङ्या र पानीको मागलाई ध्यानमा राखेर तत्कालका लागि अल्पकालीन योजना अनुसार दुई वर्षभित्रै लिफ्टिङ गरी पानी काठमाडौं पठाउने योजना बनाएको मन्त्री चौधरीले बताउनुभयो। अल्पकालीन रुपमा पम्पिङ गरी दैनिक ६ देखि ७ करोड लिटरसम्म पानी काठमार्डाैं पठाउन सकिने अनुमान गरिएको छ।

२६ अर्ब लागत लाग्ने

यस्तै, दीर्घकालीन रुपमा आयोजना सञ्चालनका लागि करिब २६ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको बोर्डका कार्यकारी निर्देशक राणाले बताउनुभयो। बाँध निर्माण गरी आयोजना सञ्चालनलाई पूर्णता दिन करिब ६ वर्ष लाग्ने अनुमान गरिएको भए पनि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) भने आइसकेको छैन।

आयोजना उपयुक्त भएकाले डीपीआर निर्माण गर्न र अल्पकालीन आयोजना सञ्चालनका लागि नीतिगत निर्णय गर्न आफू तयार रहेको मन्त्री चौधरीले बोर्डका कार्यकारी निर्देशकलाई जानकारी गराउनु भयो।

आयोजनाको बाँध मात्र निर्माण गर्न करिब १९ अर्ब ८० करोड, पम्पिङ स्टेसन निर्माणको लागि १५ करोड, पाइपलाइन विस्तारका लागि एक अर्ब र पानी प्रशोधन केन्द्र निर्माणको लागि करिब ५ अर्ब ८५ करोड लागत अनुमान गरिएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter