ताप्लेजुङमा कृषि ज्ञान केन्द्र स्थापना गरिने

चन्द्र पन्दाक / ताप्लेजुङ, असार १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्राङ्गारिक तथा जैविक मल उत्पादनसँगै कृषिलाई प्रवद्र्धन गर्ने परियोजना सञ्चालन गर्ने भएको छ । कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यसहित गाउँमै कृषि ज्ञान केन्द्र स्थापना गरेर परियोजना सञ्चालन गर्नेगरी गाउँपालिकाले अलमोस्ट हेवन फाम्र्ससँग सम्झौता गरेको छ ।

गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) को उपस्थितिमा अलमोस्ट हेवन फाम्र्सका तर्फबाट सञ्चालक ज्याकरी बार्टन र प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेबीच परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

परियोजनामार्फत कृषि ज्ञान केन्द्र स्थापना गरी स्थानीय किसानको प्रत्यक्ष सहभागितामा कृषिसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

प्राङ्गारिक कृषि तथा उत्पादन केन्द्रित सीप र शिक्षा प्रदान गर्ने, जैविक खेती प्रक्रिया र जैविक मलको अनुसन्धान गर्नमा किसानलाई संलग्नता गराइने भएको छ । यस्तै आयोजना अवधिभर गाउँपालिकाबाट कम्तिमा सातजना महिला उद्यमी तयार गरी साना घरेलु उद्योग स्थापना गरिने भएको छ । अलमोष्ट हेवन फाम्र्सले कार्यक्रम अघि बढाउन आवश्यक तलबभत्तासहित एकजना पूर्णकालीन कर्मचारीको व्यस्था गरिदिने भएको छ ।

फाम्र्सले जैविक मल बनाउन र प्रयोग गर्ने तरिकाबारे तालिम दिने छ भने जैविक मल उत्पादनका लागि आवश्यक पर्ने औजार तथा सामग्री पनि प्रदान गर्ने भएको छ ।

त्यस्तै, अलमोष्ट हेवन फाम्र्सले जैविक मलको ब्राण्ड र बजारीकरणको विकासमा सहयोग गर्ने छ । उद्यमी बन्न चाहने महिलालाई आवश्यक तालिमसमेत प्रदान गर्ने जनाइएको छ ।

यसैगरी, फाम्र्सले महिला उद्यमशीलता विकासका लागि सात जनालाई ५० प्रतिशत अनुदानबापत एक लाख ५० हजार रुपियाँका दरले रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकाले भने जैविक मल कारखाना र एकीकृत कृषि ज्ञान केन्द्र स्थापनाका लागि १० लाख रुपियाँ बजेटको व्यवस्था गर्ने भएको छ । कृषि ज्ञान केन्द्र स्थापनाको पूर्ण जिम्मेवारीसमेत गाउँपालिकाले लिने भएको छ ।

यता कृषि ज्ञान केन्द्र स्थापनाका लागि न्यूनतम् चारदेखि पाँच रोपनीसम्म जग्गा आवश्यक पर्ने जनाइएको छ । उक्त जग्गासहित परियोजनामा सुरक्षा र प्राविधिक सहयोग उपलब्ध गराउने दायित्व गाउँपालिकाले लिएको छ । परियोजनाको अवधि २०७९ साल भदौदेखि २०८२ साल साउन महिनासम्म कायम रहने गरी गाउँपालिका र फाम्र्सबीच सम्झौता भएको गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा लिम्बूले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter