अर्थतन्त्र सुधार्ने मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

काठमाडौं, असार २० गते । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताउनुभएको छ । आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएकोे हो । उहाँले पछिल्लो समय अर्थतन्त्रका प्राय सबै सूचकमा दबाब रहेको बताउनुभयो ।

गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरु नै यो वर्ष प्रयोग हुने अवस्था आएको बताउनुभयो । उहाँले राष्ट्र बैंकले मौद्रिक नीति असार अन्तिममा ल्याउने तयारी गरेपनि सम्भव नहुँदा साउनको पहिलो साता मौद्रिक नीति ल्याउने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मलाई कताकता लाग्छ हामी यस्तो बेला परिएछ संसार भरका अर्थशास्त्रीले निकालेका सिद्धान्तहरुका प्रयोग यतिबेला नै गर्न पाइने जस्तो भइरहेको छ । व्यवहारिक हिसावले त्यो अवस्था छ । सबैले अर्थतन्त्रका सबै सूचकको विषयमा जानकारी नै हुनुहुन्छ । उद्योग व्यवसायमा लाग्ने साथीहरुले दबाब र सहज दुवै महशुस गर्नुभएको छ । हामी मौद्रिक नीतिको तयारीमा छौं । मौद्रिक नीति असारको अन्त्यमा ल्याउँछौं नसके साउन महिनाको पहिलो साता ल्याउने तयारीमा छौं । मौद्रिक नीति सकेसम्म अहिले अर्थतन्त्रमा परेको प्रभावलाई निकास दिनेगरी कसरी ल्याउन सकिन्छ भन्ने हिसावले ल्याउने तयारी छ । मौद्रिक नीतिले करको विषयमा केही गर्दैन ।’

गभर्नर अधिकारीले अर्थतन्त्रमा सेभिङ कमजोर हुँदै जाने र फजुल खर्चहरु बढ्दै जाने अवस्था भइरहेको बताउनुभयो । उहाँले पछिल्लो समय व्यक्तिगत र समाजको खर्च गर्ने प्रवृतिमा सुधार नआएको बताउनु भयो । गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र आयातमुखी अर्थतन्त्र रहेकाले त्यसको असरले अर्थतन्त्रको वाह्य क्षेत्रमा निकै ठूलो दबाब बढेको जिकिर गर्नुभयो । उहाँले अर्थतन्त्र आयातमुखी हुँदा यो वर्ष देशबाट करिव ३ खर्ब रुपियाँ ‘आउट फ्लो’ भएको बताउनुभयो ।

गभर्नर अधिकारीले मौद्रिक नीति ल्याएपछि त्यसको कार्यान्वयन मुख्य कुरा भएको भन्दै गत वर्ष ल्याएका प्रत्येक नीति अहिले प्रमाणित र कार्यान्वयन भइरहेको दाबी गर्नुभयो । उहाँले मौद्रिक नीति ल्याउँदा व्यक्ति व्यक्तिको पछि लागेर सम्भव नहुने भन्दै भोलिको मार्केटलाई सहज , समग्र अर्थतन्त्रलाई पनि सही ट्रयाकमा राख्ने र अर्थतन्त्रको समग्र प्रणालीलाई स्थायीत्व दिने राष्ट्र बैंकले तयारी गरिरहेको बताउनुभयो । गभर्नर अधिकारीले अहिलेको बैंकिङ तरलता कम गर्न राष्ट्र बैंकले झन्डै ११२/१३ अर्बको रिफाइनान्स, झन्डै २५० को एससेलएफ सुविधामार्फत साढे ३ खर्ब बैंकहरुलाई दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अहिले हाम्रो अर्थतन्त्रमा सेभिङमा कमजोर हुँदै जाने, खर्चहरु बढ्दै जाने अवस्था छ । व्यक्तिगत र समाजको खर्च गर्ने आनीबानीको सवालमा पनि सकारात्मक बदलाव आएको छैन । त्यसले आयातमुखी अर्थतन्त्र बनाएको छ । त्यसले गर्दा आयातमुखी अर्थतन्त्र रहेको र त्यसको असर स्वरुप हामीलाई वाह्य क्षेत्रमा निकै ठूलो दबाब बढीरहेको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएको, आयात निरन्तर बढेको अवस्था छ । निर्यातले नधानेको अवस्था छ । रेमिटेन्स बढेको भए पनि आयातले नधानेको अवस्था छ ।’

गभर्नर अधिकारीले बैंकहरुमा १० लाख भन्दा बढी रकम जम्मा गर्न हुँदैन भन्ने उद्योगी व्यवसायी र बैंकर्सहरु समेत दुविधामा रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंक र बैंकहरुले त्यस्तो नीति नल्याएकाले १० लाख भन्दा बढी पैसा राख्नहुन्न भन्न नमिल्ने बताउनु भयो । गभर्नर अधिकारी बैंकले टिटिआर रिपोर्ट अर्थात बैंकको ग्राहकले एक दिनमा १० लाख पैसा जम्मा ग¥यो भन्नको लागि कारण खुलाउनुपर्ने बताउनु भयो । उहाँले अहिले १० लाख रुपियाँ भन्दा बढी पैसा बैंकमा जम्मा गर्नहुन्न भनेर ९ लाख ९९ हजार रुपियाँ तीन पटकसम्म गरेर जम्मा गर्ने अभ्यास कसैले नगर्न आग्रह गर्नुभयो ।

गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरु अवैधानिक माध्यमबाट पैसा कमाउने कुरामा शतर्क रहनुपर्ने भन्दै उद्योग खोलेर,अरुलाई रोजगारी र राज्यलाई कर तिरेको जति पनि पैसा बैंकमा जम्मा हुने बताउनु भयो । उहाँले अवैधानिक रुपमा कमाएको पैसालाई बैंकिङ प्रणालीमार्फत बाहिर ल्याउँछु भन्ने सोच्न नहुने उल्लेख गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter