‘कोभिडको असरले खस्कियो एसईई नतिजा’

विष्णु पाण्डेय / काठमाडौं,साउन ११ गते। यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा २२ हजार बढी परीक्षामा अनुपस्थित भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको परीक्षाफल अनुसार २२ हजार ६४० जनाले परीक्षा नै नदिएको देखिएको छ। परीक्षामा सहभागी चार लाख ९५ हजार ७५१ जना विद्यार्थीमध्ये सहभागी नभएकाको प्रतिशत ४.५७ प्रतिशत हो। परीक्षामा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ छ।

कोभिड-१९ महामारीका कारण दुई वर्षपछि विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा परीक्षा दिएका हुन्। कोरोना महामारीका कारण २०७६ र २०७७ सालको एसईई विद्यालयले पठाएको अंककै आधारमा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको थियो। विज्ञले अहिलेको नतिजा केही खस्केको भए पनि सन्तोषजनक रहेको बताएका छन्।

कोभिडको असरले खस्कियो नतिजा : बोर्ड अध्यक्ष शर्मा

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा केही माथिल्लो ग्रेड ल्याउनेको भन्दा तल्लो ग्रेड ल्याउनेको संख्या बढी देखिएको भए पनि नतिजामा सन्तोष नै मान्नुपर्ने बताउनुहुन्छ। ‘‘परीक्षा बोर्डले लिएको २०७५ सालको परीक्षाफलमा भन्दा २०७८ सालको परीक्षाफलमा माथिल्लो ग्रेडको तुलनामा तल्लो ग्रेड ल्याउनेको संख्या बढी देखिन्छ। तर, अहिलेको परीक्षा खस्कियो नै भन्ने अवस्था भने छैन’’, उहाँले भन्नुभयो।

कोभिड–१९ का कारण विद्यार्थीको सिकाइमा असर परेकाले माथिल्लो तहको भन्दा तल्लो तहको जीपीए ल्याउनेको संख्या बढी भएको हुनसक्ने उहाँको भनाइ छ। ‘‘समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्नु, नियमित कक्षा सञ्चालन नहुनु जस्ता कुराले नतिजा केही खस्केको छ। पाठ्यपुस्तकको उपलब्धता, नियमित पढाई, परीक्षा र कक्षाकोठाको संरचनामा ध्यान दिन सकियो भने अझ राम्रो नतिज आउछ,’’ उहाँले भन्नुभयो।

एसईईलाई संघात्मक बनाऔं : शिक्षविद् कुशियैत

शिक्षाविद् विनयकुमार कुशियैतले अहिलेको नतिजा राम्रो नभए पनि सन्तोष मान्नुपर्ने बताउनुभएको छ । एसईईलाई केन्द्रको नियन्त्रणभन्दा प्रदेश र स्थानीय तहलाई अधिकार दिएर लिनसके नतिजा राम्रो हुने उहाँको भनाइ छ।

‘‘अहिलेको नतिजा पहिलेको भन्दा केही खस्केको अनुभूती भयो। तर, सन्तोषजनक नै छ। अझ यसलाई राम्रो बनाउनका लागि प्रदेश र स्थानीय तहलाई एसईईको सम्पूर्ण जिम्मा दिँदा नतिजा अझ राम्रो हुनसक्थ्यो’’, उहाँले भन्नुभयो।

कक्षा १२ सम्मको अधिकार स्थानीय तहमा गइसकेपछि प्रश्नपत्र निर्माण गर्ने, परीक्षा लिने र परीक्षाफल प्रकाशित गर्ने जिम्मा अब प्रदेश र स्थानीय तहलाई नै दिनुपर्ने उहाँको भनाइ छ। एसईर्ई पहिलेको एसएलसी सरहको नभएकाले यसको हन्तान्तरण हुनु आवश्यक रहेको उहाँको बुझाइ छ।

एसईईलाई बदलौँ : शिक्षाविद बज्राचार्य

नतिजालाई हेर्दा अब एसईईको स्वरुप परिवर्तन नै गर्नुपर्ने देखिएको शिक्षाविद् हृदयरत्न बज्राचार्यको बुझाइ छ। प्रकाशित नतिजाले विद्यार्थीको पढाई र सिकाइमा केही असर परेको उहाँ बताउनुहुन्छ।

हाल प्रकाशित नतिजामा केन्द्रले तयार गर्ने प्रश्नपत्रमा मात्र विद्यार्थीको सिकाई केन्द्रित हुने देखिएकाले अब यसको जिम्मा प्रदेशलाई र स्थानीय तहलाई दिनुपर्ने उहाँले बताउनुभएको हो। ‘‘संघीयता लागू भएको एक÷दुई वर्षमा अभ्यास नयाँ थियो। त्यो समयसम्म केन्द्रले नै यसको जिम्मा लिग्नु राम्रो थियो। तर, अहिले धेरै समय भइसकेको छ। यो व्यवस्था परिवर्तन गरेर प्रदेश र स्थानीय तहलाई अधिकार सुम्पिनुपर्छ,’’उहाँले भन्नुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter