निजामती ऐन रूपान्तरण गरेर ल्याउन सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा

काठमाडौं, भदौ १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन रूपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर रहेको बताउनुभएको छ । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवम् पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले सरकारी कार्यालयमा अझै पनि नागरिक मैत्री काम हुन नसकेको भन्दै यसलाई तत्काल सुधार गरेर जनतालाई बिना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘कोभिड–१९ को महामारी, हालैको डेङ्गु रोगको प्रकोप, बाढी पहिरोलगायतका प्राकृतिक विपद्को समयमा उद्धारमा लाग्न र पुनर्स्थापनाका लागि कर्मचारीले सेवामा देखाएको दृढता प्रशंसनीय छ । तर, यसमै सन्तोष गरेर अघि बढ्नुपर्ने छुट हामीलाई छैन । सरकारी कार्यालय अझै पनि सुस्त गर्ने, नागरिकमैत्री हुन सकेको छैन । यसमा तत्काल सुधार गरी जनतालाई बिना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न सबै विभागीय मन्त्रीज्यूहरू र सचिवजीहरूलाई निर्देशन दिन चाहन्छु ।’’

उहाँले निजामती सेवामा भ्रष्टाचार, अनियमितता हुन नदिन सम्बन्धित निकायले थप सक्रियताका साथ काम गर्न आवश्यक रहको औँल्याउनुभयो । स्वस्थ, नतिजामुखी प्रशासन हुनुपर्ने भन्दै प्रधानमन्त्री देउवाले निजामती कर्मचारीले विभिन्न समयमा भएका आन्दोलनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको पनि स्मरण गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘निजामती सेवामा भ्रष्टाचार अनियमितता हुन नदिन सबै सम्बन्धित निकायले थप सक्रियताका साथ काम गर्न आग्रह गर्दछु । स्वस्थ, नतिजामुखी प्रशासन हुनुपर्छ । निजामती कर्मचारीहरूले विभिन्न समयमा भएका आन्दोलनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । कार्यालयको कार्य सम्पादनमा कुनै पनि राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर प्रचलित कानुनको पूर्ण पालना गर्दै आफ्नो भूमिका निर्वाह आग्रह गर्दछु । सरकारका कर्मचारी कुनै राजनीतिक दल विशेष हुनु हुँदैन ।’’

उहाँले सरकारका कर्मचारी कुनै राजनीतिक दल विशेष हुनु नहुने बताउनुभयो । कार्यालयको कार्य सम्पादनमा कुनै पनि राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर प्रचलित कानुनको पूर्ण पालना गर्दै आफ्नो भूमिका निर्वाह पनि निजामती कर्मचारीहरुलाई प्रधानमन्त्री देउवाले निर्देशन दिनुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकमा राजनीतिक सङ्घीयता सफलतापूर्वक कार्यान्वयनमा आइसकेको भए पनि यससँग तादात्म्य कायम हुने गरेर प्रशासनिक सङ्घीयतालाई व्यवस्थापन गर्ने थप कार्यहरू गर्नुपर्ने स्थिति रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मुलुकमा राजनीतिक सङ्घीयता सफलतापूर्वक कार्यान्वयनमा आइसकेको भए पनि योसँग तादात्म्य कायम हुने गरेर प्रशासनिक सङ्घीयतालाई व्यवस्थापन गर्ने थप कार्य गार्नुपर्ने स्थिति छ । नयाँ सङ्घीय निजामती सेवा ऐनको सन्दर्भमा निजामती कर्मचारी युनियनलगायतले दिएको सुझावका विषयमा म जानकार छु । सङ्घीय निजामती सेवा ऐन जारी गर्ने क्रममा प्राप्त सुझावलाई समावेश गरी समय सापेक्ष गर्ने प्रयास हुनेछ । साथै सरोकारवाला कर्मचारी र विज्ञसँग छलफल एवम् परामर्श गरेर सङ्घीय निजामती सेवा ऐन ल्याउने र रूपान्तरित बनाउनेमा सरकारको ध्यान केन्द्रित छ ।’’

प्रधानमन्त्री देउवाले नयाँ सङ्घीय निजामती सेवा ऐनको सन्दर्भमा निजामती कर्मचारी युनियनलगायतले दिएको सुझावका विषयमा आफू जानकार रहेको र सङ्घीय निजामती सेवा ऐन जारी गर्ने क्रममा प्राप्त सुझावलाई समावेश गरी समय सापेक्ष गर्ने प्रयास हुने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा मन्तव्य राख्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले कर्मचारीहरूले राखेका मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको र सहमति गरी संघीय निजामती सेवा ऐन जारी हुने बताउनु भयो ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा देशभर हाजिरीजवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम, सन्देशमूलक होडिङबोर्ड राख्ने, अस्पताल तथा वृद्धाश्रमहरुमा फलफूल तथा खाद्यान्न वितरणलगायतका विभिन्न कार्यक्रम गरी देशभर कार्यक्रम आयोजना गरी मनाइएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले जानकारी दिनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter