सडक पुगे पनि कोदोले बजार पाएन

गोकर्ण दयाल / बैतडी, भदौ २४ गते । बैतडीको विभिन्न क्षेत्रमा कोदो उत्पादन हुने भए पनि किसानलाई बिक्री गर्न समस्या छ । बैतडीको तल्लो स्वराड क्षेत्रका मेलौली, पञ्चेश्वर, शिवनाथ, च्वाँगढ क्षेत्रको सिगास, पुरचौडी र डिलासैनी क्षेत्रमा प्रशस्त फल्ने कोदोले बजार पाउन नसकेको हो ।

गाउँमा फलेको कोदोको केही स्थानीय परिकार माँणा, हलुवा र आँखडी (कोदोको पिठो र चामलको परिकार) खाने चलन भए पनि बचेको कोदोले बजार नपाउँदा किसानले बस्तुभाउलाई खुवाउने गरेका छन् ।

आफ्नो क्षेत्रमा कहाँ र कति कोदो खेती हुन्छ भन्ने तथ्याङ्क गाउँपालिकासँग पनि छैन, न त कोदोको बिक्रीमा कुनै योजना नै । पाँच वर्षअघि शिवनाथ गाउँपालिकाले सुत्केरीलाई ‘उपाध्यक्षको कोसेली कार्यक्रम’मा कोदोको पिठो र घिउ वितरण गरिएको भए पनि स्थानीय तहको दोस्रो निर्वाचनपछि आएको नेतृत्वले यो कार्यक्रम बन्द गरेको शिवनाथ गाउँपालिकाका कृषि शाखा प्रमुख मानबहादुर चौधरीले जानकारी दिनुभयो ।

यो कार्यक्रम अहिले बन्द भएकोमा दुःख लागेको शिवनाथ गाउँपालिकाका पूर्वउपाध्यक्ष कुश्मा चन्दले बताउनुभयो । कोदोलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने विषयमा गाउँपालिकासँग छलफल गर्ने उहाँले बताउनुभयो ।

गाउँमा सडक पुगेपछि चाउचाउ, कोकाकोला र मदिरा मात्रै जथाभावी भित्रिएको मेलौली नगरपालिका–८ का वडाध्यक्ष तपेन्द्र विष्टले बताउनुभयो । गाउँपालिकाले कोदोको बजारीकरण र ब्रान्डिङका लागि पहल गरे कोदोले बजार पाउने वडाध्यक्ष विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कार्यपालिकाको बैठकको खाजा नास्ता र खानामा स्थानीय परिकारलाई जोड दिनुपर्ने ठाउँमा बजारु खानाले प्रवेश पाउने गरेको छ । काठमाडौँलगायतका सहर गएका बेला कोदोको ढिँडो र केक खान मनपराउने हामी, गाउँमा कोदोको परिकारलाई महत्त्व दिदैनौँ । स्थानीय बजारमा चाउमिन पाइन्छ, कोदोको परिकार पाइँदैन ।”

जिल्लाका ग्रामीण भेगमा अहिले पनि कोदोको रोटी र सुत्केरीलाई हलुवा खुवाउने चलन छ । आधुनिकतासँगै गाउँमा पत्रुखाना (जङ्कफुड) चाउचाउ÷चाउमिन र पालिस गरेको चामल भित्रिएपछि खानपिनमा समेत परिवर्तन आएको छ ।

बाँदरबाट सुरक्षित

पछिल्लो समय बैतडीमा बाँदरले मकैलगायतका धेरै बाली सखाप गरेपछि शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका किसानले विकल्पका रूपमा कोदो खेती गर्न थालेका छन् । बाँदरले कोदो नखाने भएकाले धेरै किसान कोदो लगाउन थालेको पञ्चेश्वरका वीरेन्द्र चन्दले बताउनुभयो ।

बैतडी सदरमुकामको दरशथचन्द नगरपालिका र छिमेकी दोगडाकेदार गाउँपालिकामा बाँदरका कारण किसानले मकै र गहुँ खेती गर्न छाडेका छन् तर कोदो खेती गर्न सकेका छैनन् ।

कोदोलाई रुखो जमिनको बालीका रूपमा चिनिन्छ । त्यसैले किसानले अरू बाली नहुने रुखो जमिनमा नै कोदोको खेती गर्छन् । दशरथचन्द नगरपालिकाको महाकाली किनारका शेरा, तिरखडेनी, बुड्डा र दोगडाकेदार गाउँपालिका–४, पीपलकोट क्षेत्र धान, गहुँ र मकैका लागि उर्वर जमिन भएकाले कोदो लगाउने चलन कम रहेको स्थानीय हरिशर भट्टले बताउनुभयो । बाँदरका कारण जमिन बाँझो राख्नुभन्दा त कोदो खेती गर्न स्थानीय सरकारले किसानलाई प्रोत्साहन गरेर बजारीकरण गरिदिने हो भने किसानले कोदो लगाउने उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter