नेपाललाई समृद्ध मुलुकको रूपमा दक्षिण एसियामा चिनाउने प्रतिबद्धता

काठमाडौं, भदौ ३० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचन पछिको १० वर्षभित्र नेपाललाई दक्षिण एसियामा समृद्ध मुलुकको रुपमा चिनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

उहाँले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई समृद्ध मुलुक निर्माण गर्ने अभियानको रुपमा लिनुपर्नेमा जोड पनि दिनुभयो ।

बिहीबार ललितपुरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलङ्का जस्तो हुनै नसक्ने दाबी समेत गर्नुभयो । केही व्यक्तिले मुलुकको अर्थतन्त्र श्रीलङ्काको हालतमा अघि बढेको भन्दै भ्रम सिर्जना गरिरहेको तर त्यस्तो हुनै नसक्ने भनाइ मन्त्री कार्कीको छ ।

उहाँले दूरसञ्चार प्राधिकरणको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडिएमएस)’को उद्घाटन गर्नुहुँदै सो विचार व्यक्त गर्नुभएको हो ।

आगामी निर्वाचनबारे चर्चा गर्नुहुँदै मन्त्री कार्कीले भन्नुभयो, ‘‘हामी निर्वाचनको सङ्घारमा छौँ । जनतालाई केवल मत माग्ने र मत दिने एउटा मेसिनको रूपमा नलिऔँ । अब समुन्नत नेपाल, समृद्ध नेपाली र १० वर्ष भित्रमा दक्षिण एसियामा समृद्ध मुलुकको रूपमा नेपाललाई चिनाउने अभियानको रूपमा हामी निर्वाचनमा हामी जनता सामु जानु पर्दछ । जनताबाट अनुमोदित भएर त्यस दिशामा देशलाई निर्देशित गर्नुपर्ने अहिलेको अवस्था छ ।’’

मन्त्री कार्कीले भन्नुभयो, ‘‘केही समय हामी चिन्तित पनि भयौँ र एउटा भ्रम पनि सिर्जना गरियो । नेपालको अर्थतन्त्रको हालत श्रीलङ्काको जस्तो हुँदै छ भनेर । हामी सचेत हुन जरुरी थियो । मैले धेरै सार्वजनिक फोरमहरुमा भनेको छु, हाम्रो अवस्था श्रीलङ्काको जस्तो हुँदैन । हुन दिनु पनि हुँदैन । हामीसँग धेरै सम्भावना छन् । ती सम्भावनालाई अवसरको रूपमा परिणत गरेर अब हामीसँग अगाडि बढ्नुको विकल्प छैन ।’’

उहाँले अर्थतन्त्रलाई चलायमान बनाई समुन्नत नेपाल निर्माण गर्नका लागि मुलुकका सामु धेरै सम्भावना रहेको पनि उल्लेख गर्नुभयो ।

मन्त्री कार्कीले निजी क्षेत्रसँग हातेमालो गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा सरकार जानकार रहेको पनि पटकपटक दोहोर्‍याउनु भयो ।

त्यस अवसरमा उहाँले ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम’ मुलुकको समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको उल्लेख गर्नुहुँदै त्यसको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सचेत गराउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter